यी पाँच वस्तु जाडो मौसममा नखाएकै राम्रो

२०७७ असोज २५ आइतबार १२:०५:०० मा प्रकाशित

काठमाडौं । कतिपय उपभोग्य वस्तुमा निहित स्वस्थ्यकर तत्वलाई सम्झेर हामी त्यसलाई प्रयोग गरिरहेका हुन्छौं । स्वस्थ्यकर तत्वमात्र हैन यी वस्तुको प्रयोग गरिने मौसमलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ ।

उपयुक्त समयमा उपभोग नगर्दा स्वस्थ्यकर वस्तु नै विष समान हुने भएकोले पनि वस्तुको उपभोग मौसमलाई सुहाउँदो रहे÷नरहेको यकिन गर्नु उपयुक्त हुन्छ । अझ विशेषगरी जाडो मौसममा यस विषयमा चनाखो हुनु अति आवश्यक छ ।

१. दही

सामान्य अवस्थामा हाम्रो शरिरको लागि दही अति फाइदाजनक हुन्छ । यसमा भएको ब्याक्टेरियाले हाम्रो पाचन प्रणालीलाई अति सहज बनाउन भने शरिरको आँतमा रहेको अनावश्यक गर्मीलाई नियन्त्रण गर्न पनि यसले सघाउँछ ।

यतिका फाइदाका बावजुद जाडो महिनामा दही प्रयोग नगर्नु बुद्धिमानी हुन्छ । दहीको प्रयोग गर्नाले शरिरलाई चिसो हुने तथा रुघा लाग्न सक्ने हुनसक्छ । यो बढ्दै गएर निमोनियासम्म हुनसक्ने भएकोले पनि जाडो मौसममा दहीको प्रयोग सकेसम्म कम गर्नु उपयुक्त हुन्छ । दहीमात्र खाँदा यसरी बेफाइदा हुने भएपनि कडि पकाएर वा अन्य तरकारीको ग्रेवीको रुपमा भने दही प्रयोग गर्न सकिन्छ ।

२. बाबरी
गोलभेडाको अचारमा बाबरी अर्थात् पुदीना मिसाएर खान मजा आउने भएपनि बाबरीको प्रयोग जाडो महिनामा गर्नु लाभदायक हुँदैन ।

बाबरीले शरिरलाई तत्कालै ठण्डा गराउने भएकोले पनि जाडो मौसममा यसको प्रयोग शरिरको आवश्यकताको विपरित हुनसक्छ ।

३. फलफुल

फलफुलमा पाइने हरेक तत्व मानव शरिरको लागि हितकारी छ । तर यसको प्रयोग सहि समयमा गरिएन भने यसले शरिरलाई रोगी बनाउन सक्ने भएकोले फलफुलको प्रयोगमा सचेत हुन आवश्यक छ ।

बिहान तथा बेलुकाको चिसो समयमा चिसो फलफुलको प्रयोगले शरिरलाई बेफाइदा गर्ने तथ्य सिद्ध भइसकेको छ । अझ चिसो मौसममा पाइने सुन्तला, केरा जस्तो अति चिसो हुने फल गलत समयमा प्रयोग गर्दा चिसो सम्बन्धी रोगले ग्रसित भइन्छ ।

यसको विपरित घाममा लामो समय बस्दा सुन्तला वा केरालाई पनि घाममै राखेर सिमित मात्रामा प्रयोग गर्दा त्यसले खासै अहित गर्दैन ।

४. चिसो पानी

जाडो होस् वा गर्मी, चिसो पानीले प्यास मेटिन्छ । तातो पानी नरुचाउने संख्या बाक्लै हुन्छ ।

हाम्रो शरिरको बाहिरी भागलाई जाडो महिनामा लुगाहरुले बचाए पनि शरिरको अन्तर भागमा चिसो पानीले प्रहार गर्दा सजिलै शरिरलाई ठण्डी लाग्न सक्छ ।

सोही कारण पनि जाडो महिनामा स्वादको लागि नभइ स्वास्थ्यको लागि पनि तातो पानी पिउनु राम्रो हुन्छ ।

५. चिसो खाना

अहिलेको व्यस्त समयमा हामीलाई खानाको स्वाद भन्दा पनि पेट भर्ने मात्र ध्यान रहन्छ । सोही कारण पनि यस्तो दुर्लभ समय जोगाउनको लागि चिसै खाने प्रवृत्ति बढ्दो क्रममा रहेको छ ।

जाडो महिनामा यसरी चिसो खानाको सेवन गर्नु भनेको रोगहरुलाई निमन्त्रणा दिनु हो । सोही कारण अन्य कामबाट समय निकालेर भएपनि सकेसम्म ताजा खाना नत्र बासी भएपनि तातो बनाएर खाने बानी बसाल्दा अनावश्यक रोगको चपेटामा परिंदैन ।  (एजेन्सीको सहयोगमा)

ताजा खबर