खर्बपति चौधरीको समानुपातिक रहर ! 

२०७४ कार्तिक २४ शुक्रबार १२:४९:०० मा प्रकाशित

 काठमाडौं । विश्वकै धनीहरुको सूचीमा रहेका नेपाली उद्यमी विनोद चौधरीको रहर अनुसार नेपाली कांग्रेसले उनलाई प्रतिनिधिसभाको समानुपातिक सदस्यको सूचीमा राखेपछि उनको ‘मान भयो कि अपमान ?’ यो बहसले यतिबेला राजधानीका बैठक कक्षहरुमा उच्च स्थान पाएको छ ।

वीपी नगरमा चलेको गाईंगुईं अनुसार , ‘चौधरीले चुनावमा पार्टीलाई विशेष गुन लगाउने भएकाले समानुपातिकमा राखिएको हो ।’ नभन्दै चौधरी कांग्रेसको निर्वाचन प्रचारमा पनि समेटिएका छन् ।

स्वयं विनोद चौधरीको कथन छ, ‘मुलुककै आर्थिक समृद्धिको सपना साकार पार्न म सांसद बन्न खोजको हुँ ।’

कुनै पनि लोकतान्त्रिक मुलुकमा सांसद पदको उच्च गरिमा हुन्छ । किनकी, सार्वभौमसत्ता संसदमै निहित हुन्छ र एउटा सांसद निकै शक्तिशाली मानिन्छ । तर, बिगतमा नेपालमा सांसद पदको हुर्मत लिइएको छ । सांसद भन्नासाथ आम नेपालीमा सफा छवि छैन,भलै व्यक्तिगत रुपमा कैयौं सांसदको व्यक्तित्व स्वयंमा गरिमामयी छ नै ।

 विगत बाह« वर्षको संसदीय अभ्यासका क्रममा कतिपय सांसदहरुबाट भए गरेका हर्कतहरुको लामो सूची बनाउन सकिन्छ, जुन प्रवृत्तिलाई ‘नयाँ नेपाल बनाउँछु’ भन्दै क्रान्ति गरेर आएका कथित बामपन्थी दलहरुले पनि निरन्तरता दिएका छन् । दिपक मनाङे, गणेश लामा, ल्हारक्याल लामा आदि पनि सांसद हुने भएपछि अब गठन हुने प्रतिनिधिसभाको के शान र मान रह्यो ? अनि डनहरुको दबदबा हुने संसदमा जान विश्वछवि बनाएका विनोद चौधरीले किन ‘मरिहत्ते’ गरे ! यो जिज्ञासा सर्बत्र पाईन्छ ।

विनोद चौधरी त पहिले नै विश्वविख्यात थिए । उनले नेपालीको विश्व छवि नै उँचो बनाएका थिए । कुनैबेला यस्तो पनि अवस्था थियो, विश्वमा नेपालीको नकारात्मक छवि मात्र देखाउने गरिन्थ्यो । नेपाली भन्नासाथ ख्याउटे अनुहार भएका, खान नपाएका, टालेको टोपी लगाएका मानिसको अनुहार विदेशीहरुको दिमागमा आउँथ्यो । विदेशी मिडियाका फोटोग्राफर पनि नेपालबारे कुनै तस्वीर सम्प्रेषण गर्नुपर्दा कुनै दुर्गम गाउँमा बस्ने कपाल जिङग्रीङग पालेको हरिकंगाल नेपालीकै तस्वीर पठाउँथे । मुखभरी झिँगा भन्किएका नेपाली बालकहरुको तस्वीर देखाएर धेरैले पुरस्कार पनि थापेका छन् ।

सन् २०१३ मा एउटा स्मार्ट नेपालीको तस्वीर विश्वभरी चर्चामा आयो । कुनै चलचित्रको अधवैंशे हिरोजस्तो, सुट र टाइमा चिटिक्क परेको त्यो ओजपूर्ण व्यक्तित्वलाई देखेपछि नेपाली जातीलाई लिएर विदेशीहरुमा रहेको नकारात्मक छवि मेटिएर गयो । नेपाली पनि धनी रहेछन्– यही सन्देश विश्वमा गयो ।

नेपाली उद्यमी विनोद चौधरी सन् २०१३ मा विश्वकै धनीहरुको सूचीमा परेका थिए । त्यसबेलादेखि हरेक वर्ष विनोद चौधरी फोब्र्स पत्रिकाले निकाल्ने विश्वका धनीहरुको सूचीमा पर्दै आएका छन् । उनको ख्याती चुलीँदै गएको छ । उनले गएको वर्ष मात्र थप २० करोड डलर कमाएको देखिन्छ । यस वर्ष उनको कुल सम्पत्ति एक अर्ब ३० करोड अमेरीकी डलर पुगेको छ ।

सन् २०१७ को विश्वका अर्बपतीहरुको सूचीमा पनि चौधरी परेका छन् । यस वर्ष उनी १५६७ औं स्थानमा परेका छन् । गतवर्षभन्दा यसवर्ष उनको स्थान दश तह बढेको हो । गत वर्ष उनी १५७७ औं स्थानमा थिए ।

हो, विनोद चौधरी चानुचुने मानिस हैनन् । अक्सफामले हालै जारी गरेको तथ्यांक अनुसार करीब दुइ हजार धनी मानिसहरुकै मुठ्ठीमा विश्वका करीब आधाभन्दा बढी जनसंख्याको सम्पत्ति छ । र ती दुइहजार मानिसहरुको सूचीमा विनोद चौधरी पनि पर्छन् । आजको उपभोक्ताबादी र पुँजीबादी विश्वको एउटा आर्थिक साँचो विनोद चौधरीको हातमा पनि छ । व्यक्तित्व र विश्व अर्थतन्त्रमा पार्नसक्ने प्रभावका हिसाबले विनोद चौधरीको उचाइ दिपक मनाङे र गणेश लामाभन्दा धेरै माथि छ । उनका शुभचिन्तकहरु भन्छन्, ‘विनोदले आफुलाई समानुपातिक सूचीमा बन्द गरेर खुम्च्याउनु हुँदैनथ्यो ।’

हुन पनि विनोदले प्रतिष्पर्धा गर्ने त माइक्रोसफ्टका संचालक विल गेट्ससँग हो । उनले आफुलाई दाँज्ने भनेको बर्कशायर हैथवेका वरेन वफेटसँग  हो । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प, अमेजनका संस्थापक बेजास, फेसबुकका मालीक मार्क जुगरबर्ग, ओरेकलका संस्थापक ल्यारी एलिसन, रिलायन्स ग्रुपका मुकेश अम्बानी उनीभन्दा बढी धनी होलान्, तर विश्वका धनीहरुको जुन सूचीमा उनीहरु छन्, विनोद पनि त्यही सूचीमा छन् । यस्तो उच्च व्यक्तित्वका धनी विनोदले द्रव्य प्रवाह गरीगरी समानुपातिक सांसद पद प्राप्तीको होडमा लाग्नुहुँदैनथ्यो भन्ने सल्लाह उनका शुभचिन्तकहरुको छ ।

सभासद् बन्ने अनुभव उनले एक पटक गरिसकेकै थिए । २०६४ सालमा उनी एमालेबाट संविधानसभामा समानुपातिक सभासद भइसकेका थिए । ‘पूर्व सांसद’को पगरी उनले गुथिसकेकै थिए । कुनै मुलुकको सांसद भन्दापनि उच्च हैसियत अर्थात ‘विश्वकै धनी’ कहलिएपछि अब उनलाई के चाहियो ? आफुसँगै अथाह सागर छ, तर विनोद किन ‘एक–एक थोपा पानी’का लागि एमालेदेखि कांग्रेससम्म धाइरहेका छन् ? यो पहलु न चौधरी ग्रामवासीले बुझेका छन् न त सानेपा निवासी नै ।

धेरैलाई थाहा नहुन पनि सक्छ विनोद चौधरी कुनैबेलाका चर्चित गायक पनि हुन् । उनले गाएको ‘एकै नजरमा माया बस्यो है’ बोलको गीत हिट पनि छ । तर दलीय संलग्नतामा भने उनको ‘एकै नजर’ कामयाव बन्न सकेन । पहिले एमाले अहिले कांग्रेस ! उनी विचारक पनि हुन् । मुलुकको आर्थिक विकास कसरी गर्न सकिन्छ भन्नेबारेमा उनीसँग भिजन पनि छ । आफ्ना भिजनहरुको पुस्तक पनि उनले बजारमा ल्याएका छन् । समाजले मानिदिएकै छ उनी सिद्धहस्त लेखक पनि हुन् । उनको आत्मवृत्तान्त धेरै नेपालीले पढिसकेका हुनुपर्छ । विश्वका धनीहरुको सूचीमा यस्ता बहुमुखी प्रतिभाका धनी कमै होलान् । यस अर्थमा विनोद फोब्र्स सूचीमा परेको अन्य धनीहरुको तुलनामा पनि अब्बल मानिन्छन् ।

शुभचिन्तहरुको ठूलो तप्का विनोदका बारेमा टिप्पणी गर्छन्, – ‘उनले विश्वकै धनी भइसकेपछि कि डोनाल्ड ट्रम्पले झैं सोझै राष्ट्रपति बन्ने सपना देख्नुपथ्र्यो ? कि प्रधानमन्त्री नै बन्ने सपना देख्नुपथ्र्यो । कम्तीमा कसैले अर्थमन्त्री बन्ने प्रस्ताव गरेछन् भने सोचविचार गरी अर्थमन्त्रीसम्म बन्न  सकिन्थ्यो । दलहरुले ‘मागी खाने भाँडो’ बनाएको त्यो समानुपातिकमै किन उनको आँखा गयो ?’

धेरैलाई थाहा छ, त्यो समानुपातिकमा नेताहरुले आफ्ना श्रीमती, गर्लफ्रेण्ड, ज्वाईं, छोरीलाई नै बढी प्राथमिकता दिएका छन् । समानुपातिक सदस्यकै बदनामी भइरहेको बेला त्यही बदनामीको च्यादर ओढनुपर्ने खण्डखातिर चौधरीलाई किन आइप¥यो ? सर्बसाधारणले गरेको यस्तो टिप्पणीलाई अन्यथा भनिहाल्न पनि सकिँदैन । 
     
    
    


 

ताजा खबर