त्यो दशैंमा झैं भाग्न पाए हुन्थ्यो !

२०७७ असोज २४ शनिबार १४:०१:०० मा प्रकाशित

एकपटक बुवा काशी जाने हुनुभयो– पितृ तर्पणका लागि । काशी जाने उहाँको योजना वर्षौं देखि बन्दै थन्किदै गरेको रहेछ । यो पटक भने कसैगरी नगइनछोड्ने अठोट थियो उहाँको । स्वस्थ शरीर र उमेर थियो । अहिले नगए कहिले भन्ने सोच पनि आयो होला उहाँलाई । बुवा यो हिउँदलाई यत्तिकै खेरजान नदिने पक्षमा हुनुहुन्थ्यो । उहाँको रोजाइ अनुसार, काशी जान बुवाका लागि सातु–सामलको बन्दोबस्त पनि हुनथाल्यो ।
 
किसानी जीवन, वर्षभरीको खेतीपाती सकेर हिउँदका केही दिनहरुमात्र फुर्सदिला हुन्थे । बुवाले पनि यही हिउँदे सिजनलाई उपयोग गर्ने सोचबिचार गर्नुभयो । हिउँदे बाली थन्क्याएपछि त्यतिबेला खेतबारी प्रायः खाली नै रहन्थे अर्को असारसम्म । बाली नलाएको फुर्सद्को समय माईबेंसी एककिसिमले गौचरण झैं हुन्थ्यो गाउँभरीका वस्तुभाउ चर्ने चराउने। हिउँदे बाली लगाउने चलन बसिसकेको थिएन, हाम्रो बेंसीमा । हाम्रो खेतमा भने दुई वर्ष अघिदेखि धान उठाएर खाली भएको खेतमा गहुँ छर्ने चलन सुरुभएको थियो । यो दोस्रो वर्षको गहुँ छर्ने जिम्मा आइलाग्यो मेरो अपरिपक्व काँधमा ! 

बुवाको आदेश थियो– 'खेतको बाँझो जोतिवरी डल्ला फोरेर माटो मसिनु बुर्बुराउँदो भएको छ । अब गहुँ छर्न सजिलो हुन्छ । गोदकबाट रामचन्द्र भिनाजुका हल गोरु ल्याउनु र गहुँ छर्नु ।

आफू नफर्किउन्जेलका लागि सबै जोरजाम गरेर माघ महिनाको सुरुतिरै बुवा र कान्छा मामा साथीभाइसँग लम्किनु भयो काशीतिर सातु–सामलको कुम्लो बोकेर । फर्किने कहिले हो थाहा थिएन । यातायातको बन्दोबस्त थिएन । इलामबाट पैदलै झापासम्म पुगेर भद्रपुर हुँदै मेची तरेर भारतको गलगलिया पुगेपछि बल्ल बेलायती उपनिवेशले छोडेका रेल चढ्न पाइन्छ भनेर कथा गर्थे बूढापाका । सायद बुवा र मामाको टोलीले पनि यही रुट समात्यो होला ।

मुख्य अभिभावक परदेशिएको न्यास्रोलाई पुरानो बनाउँदै हामीहरु रमाउन खोज्यौं । माइबेनी मेला उठेर भर्खरै बेहुली अन्माएको घर जस्तै उराठ देखिन्थ्यो शिवालयको खेत । तर हाम्रो घर पनि कम रमणीय थिएन, वारीपारी छ्यांगै देखिने । मलाई यस्तो दिनको विरलै सम्झना छ, जुन दिन बिना पाहुना हामीले खाना खाएका थियौं होला ! त्यसैले बेंसीको घरमा कहिल्यै पनि सुनसान महसुश गर्नुपरेन ।

सबै कुरा बिर्सनेगरी बुवाले दिएको आदेश जो मनभरी भएर बसेको छ । एक खलो खेत जोतेर पार लगाउनु छ । यो मेरो बूताभित्रको बिषय त थिएन । तर पार जसरी पनि लाउनै थियो । बुवाले आदेश दिएर पहिलोपल्ट कुनै काम अह्राउनु भएको थियो । तैपनि म आत्तिएको थिइन किनभने मसँग भरोसायोग्य साथी हुनुहुन्थ्यो– आमा । अनि भातभान्सामा आमालाई भरपुर भरथेग गर्ने दिदीहरु। अरु भाइ-बहिनी ससानै थिए । आमाले भरोसा दिँदै भन्नुभयो– 'केही छैन यति काम गरौंला ।'

विद्यालयको ढोका नटेकेकी हाम्री आमालाई श्रीमद्भगवद् गीता कण्ठ थियो । कतिपय श्लोकहरु बाच्तै अर्थ लाएर सुनाउने गर्नुहुन्थो खेताला, ढिकीजाँतोमा आउने गाउँले महिला र हामीलाई । उखानटुक्का र कथाहरु जोडेर आफ्ना भनाई र उपदेशहरु रोचक बनाउने कला कसरी सिक्नुभयो होला भनेर अझ पनि सोच्दछु म कहिलेकाँहीं । अनुशासित जीवन जिउन सर्वकालिक कथनहरु पनि कण्ठ थिए उहाँलाई । जीवन क्षणभङ्गुर छ भनिरहने उहाँको विश्वास थियो महाभारतका नायक श्रीकृष्णमा । श्रीकृष्ण उहाँका जीवनदर्शन र नायक थिए !

जीवनको उत्तरार्ध्दमा बृन्दावन पुगेर नाच्दै मन्दिरहरु दर्शन गरेपछि प्रशन्नचित्तमा घर फर्किनुभयो र जानुभयो अर्को वर्ष उहाँले भनेजस्तै 'स्थायी घर' शून्यमा । अन्तिम दिनहरुमा महाकवि देवकोटाले भनेझैं ...‘आखिर श्रीकृष्ण रहेछ एक !

आमालाई खेतीपातीका बिषयमा कसले सिकाओस् । उहाँ निपुण हुनुहुन्थ्यो किसानी कर्ममा । आमाको हौसलाले फुरुङ्ग परेको म चढें मेची राजमार्गको काखमा बसेको गोदक गाउँतिर गोरु लिन । रामचन्द्र भिनाजुले भर्खरै दाएर मेलो लागेका जोर बहर (हल गोरु) लिएर झरें माइबेंसी खेतमा । गोदक पुग्न निकै उकालो चढ्नुपर्छ सास फुल्नेगरी । मेची राजमार्गलाई पुरै आफूभरी समेटेको यो गाउँ सुन्दर छ । यसै गाउँको तत्कालिन चार नम्बर वडामा अवस्थित छ हाम्रो माइबेंसी । यही गाउँ हो मेरो जन्मथलो र हामी धेरै दाजुभाइ दिदीबहिनीले पहिलोपल्ट धरति टेकेको पवित्र स्थल ।

हलगोरु ल्याएर बाँधे थलामा । खुशी हुनुभयो आमा । गहुँ छर्न  अब कसैलाई गुहार्नु परेन भन्ने विश्वासले खुशी बनायो होला उहाँलाई । हल गोरुलाई दानापानी दिएपछि आमाले प्रशिक्षण दिनुभयो मलाई– गोरु कसरी नार्नु पर्छ, जोत्दा आवश्यक सामग्री केके हुन् । वृत्तान्त उपाय सम्झाईसकेर भन्नुभयो– 'गोरुको पुच्छर निमोठ्नु हुँदैन नि । धेरै दगुर्छन् अनी अचेट्न सकिँदैन । नकुट्नु तर हातमा एउटा सिर्कनु चैं बोक्नु । हातमा केही न केही हतियार चाहिन्छ नत्र गोरुले पनि टेर्दैनन् ।'

गोरु नार्नु अघिको तयारीका लागि आमाले दिएको प्रशिक्षणसँगै केही गहकिला सन्देश पनि पाएको थिएँ मैले । बातचित गर्दा परिवारजन र गाउँलेलाई समेत प्राय: सन्देशमूलक उखान जोडेर सम्झाउने बुझाउने बानी थियो उहाँको । आज पर्यन्त तिनको सान्दर्भिकता छँदैछ जीवनमा । जीवनोपयोगी त्यस्ता सन्देशबाट पाठ सिकियो र कति त उलंघन पनि गरियो । मानिस प्राय: उलंघन गर्नु मै आफ्नो जीत ठान्ने भूल गर्छ र अगाडिको बाटोमा बारम्बार ठक्कर खाइबस्छ । मैले पनि भूल गरेको छु अनेक पल्ट ! ती भूलहरु नगरीकन पनि जीवनमा अघि बढ्न सकिनेरहेछ मानिसले एउटी सुझबुझ भएकी ज्ञानी आमाका उपदेश ह्रदयमा जन्तर बनाएर लगाईराख्यो भने । मेरा खातिर कहिले पीडाका त कहिलेकाहीँ हर्षका आँसु छचल्किएका थिए उहाँका जोर आँखामा । आकाशभन्दा फराकिला लाग्ने आमाका ती आँखामा सदाका लागि ढपक्क ढक्कन लागेपछि भने आफूमाथिको आकाश समेत सकसलाग्दो हुँदोरहेछ कहिलकाहीँ !

कथा खेतको छ-
अब मुख्य काम त बाँकी नै छ । एउटा पहिलो र ठूलो परीक्षाको सामना गर्नै छ । गोरु थलामा छन् । उनीहरुको प्रचूर स्याहार भएको छ मल्खु मिसाएको मीठोमसिनु खाएका छन् आमाको हातबाट । उसैपनि हाम्री आमा परिवार र पाहुनाको ध्यानपूर्वक खानपिनको ख्याल गर्नुहुन्थ्यो । चौपाया समेत उसैगरी स्याहार्नु हुन्थ्यो । हल गोरु मल्खुको खोले तन्काएर पुटुस्स भैसकेका थिए । तिनलाई जोत्ने म लुईरे हली भने लुगलुग थिएँ । तर आँट गरेर पहिलोपल्ट खेतमा लगेर हल गोरु नारें, आमाको प्रशिक्षण अनुसार । अनि थालेँ कनिका झैं बुर्बुर पारेको खेत जोत्न । म गराको ओल्लो छेउदेखि पल्लो छेउसम्म जोतेर पार लगाउन सक्ने भएको थिएँ । आमा पोल्टामा बोकेको गहुँको बीउ छर्दै हामीलाई पछ्याइरहनुहुन्थ्यो गाइड गर्दै । यसरी पहिलो दिनको मध्याह्नसम्ममा सात गरा खेतमा गहुँ छरेका थियौं हामीले । त्यसदिन मलाई आफू लाठे भएको, अब गरिखान सक्ने भएछु भन्ने कलिलो भ्रम पनि भएको थियो । यस्तो लाग्यो आँट गर्दा गर्न नसकिने काम हुँदो रहेनछ । मैले घुर्क्याएकै भए पनि छुट पाउँथेँ होला तर आमाको स्नेहपूर्ण दबाब र प्रेरणाले मैले त्यति ठूलो जिम्मेवारी पूरा गरेको थिएँ जीवनमा पहिलोपल्ट । 

 यहीक्रमले केही दिनमा हामीले एक खलो खेतमा गहुँ छरिसकेका थियौं । पछि गहुँ पनि राम्ररी फल्यो । त्यसको रोटी र ढिँडो पनि खाइयो । शरीर पनि पोषियो र एउटा काम फत्ते गरेको आत्मविश्वासले जरो पनि हाल्यो मनभित्र, गमक्क परियो !

म हिउँदमै जन्मिएको हुँ माघमा । त्यही माघको संक्रान्तिमा हाम्रो माईवेंसी नजिकै वर्षेनी लाग्ने माईवेनी मेलामा मेरा कलिला गोडाले एकजोर कपडाको जुत्ता स्पर्श गर्न पाएको थियो पहिलोपल्ट । 

बुबा कहिले फर्किनुभयो यकिन तिथिमिति त मलाई थाहा छैन । तर, उहाँ घर फर्केपछि लहलह हरियो हुँदै गएको गहुँबारी देखेर प्रशन्न हुनुभएको थियो । कम्मरपछाडि हात बाँधेर फन्को मार्नुभएको थियो गहुँ लहलाएको खेत– हलुका स्वरमा सुसेल्दै । घरबाट निस्केर खेतबारीमा पसेपछि बुवा हमेसा सुसेली रहनुहुन्थ्यो तर गीत उहाँले गाएको सुनिएन 'सेन्स अफ ह्यूमर' मित्रताको कडि थियो उहाँको ।

यो प्रिय बिगतले आज पनि मलाई चिथोर्छ आँशुले निथ्रुक्कै भिज्नेगरी । यस्ता एक हैन अनेक स्मरणयोग्य घटना र चित्रहरु छन्, एक किसान परिवारको सन्तानका रुपमा मेरो स्मृतिपटमा ताजातरोजा । 

बनारस गएर बुबाहरुले के–के कर्म गर्नुभयो मलाई सम्झना छैन । तर, उहाँ बनारसका गल्ली र गंगातटका घाटहरुको खूबै चर्चा गर्नुहुन्थ्यो । अनि शहरको विशालता र मानिसहरुको घुइँचोमा घुमफिर गरेको रोचक विवरण सुनाउनुहुन्थ्यो । मलाई शहरको विशालता र भीडप्रति त्यसैबेलादेखि रुचि बसेको थियो । कहिले देख्न पाइने होला ठूलो शहर र मानिसको भीड ? यस्तो प्रश्न उठिरहन्थ्यो मनमा । वर्षमा एकपटक लाग्ने माईवेनी मेलामा केही हजार मानिसको भीड त देखिरहिएकै थियो । देखेको मात्र हैन, भीडमा हराएर भेटिएको पनि थिएँ । तर, कहाँ देख्न पाउनु ठूलो शहर ?

दशैंमा टीका लगाउन इलाम बजार उक्लिने अवसर मिल्थ्यो वर्षको कम्तिमा एकपटक । हाम्रो पनि घर थियो इलाम सदरमुकाम बजारमा मावलसँगै । तर, हामी धेरैजसो बसोबास गर्थ्यौं माइवेंसीमै । मलाई भने इलाम धेरै ठूलो शहर जस्तो लग्थ्यो बुबाले वर्णन गरेको बनारसजस्तै । जहिले पनि इलाम पुगेपछि मलाई माईवेंसी फर्कन नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । कहिलेकाहीँ त बुबाआमा फर्किने बेलासम्म ठूलो टुँडिखेलतिर घुमेर अँध्यारो पार्थ्यौं र ढिलो घर फर्किन्थ्यौं हामी भुराहरु ! यति छल गर्दा अर्को बिहीबारसम्म सदरमुकामै बस्न पाईन्थ्यो । 

लेखेको कसैगरी टर्दैन भन्ने पुरानो भनाइ छ। शायद यही भनाइलाई सार्थक तुल्याउन होला जीवनको मध्यान्तरतिर नियतिले ठूलो शहर देखाउन मलाई लिएर आयो काठमाडौं शहरमा र उ भने भागेर गयो उसको बाटो । काठमाडौं आएपछि यहाँ शहर पनि देखें भीड पनि देखें ! काठमाडौंले मलाई उसको रुप र चुनौतिको दर्शन मात्र दिएन, उसले अवसरहरुको बयरघारीको नक्शा पनि देखाईदियो । लाखौंको भीडमा मानिसहरु सल्बलाएको दिनहुँ देखिरहेकै छु, त्यहीँभित्र सल्बलाएर । देशका मात्र हैन, विदेशका भीमकाय शहरहरु फन्को मार्दा बुबाले देखेको बनारस सम्झिएको छु ।

समय भनेको च्यूँडोमा फुलेको दाह्री र शीरमा फक्रिएको कपालसँग मोलतोल गर्ने हिसाबकिताब होइन रहेछ । यो घडीमा घुम्ने सेकेन्ड, मिनेट र घण्टा बताउने काँटाहरुमा गणना गर्ने अंकहरु पनि होइन रहेछ । दिनहुँ झुल्किँदै अस्ताउँदै गर्ने घामले पनि समयको परिभाषा गर्दो रहेनछ । मानिसको एउटा छोटो जीवनले कसरी नाप्न सक्छ र समयको लम्बाइ, चौडाइ र उचाइ । बितेको समय, यो भोगिरहेको समय र भोलि आउने समय भनेर गणना गर्नु नै एउटा हास्यास्पद भूल रहेछ जीवनमा । अनुभवले यत्ति त सिकायो !

मलाई यहीबेला एउटा भूल गर्न मन लागिरहेको छ । कुनैबेला इलामबाट फर्किन मन नलागेको त्यही माईवेंसी गएर कहिले पनि फर्र्किन नपरे हुन्थ्यो । त्यहीँ घरको मचानमा बसेर तामे ढुकुर कुर्लिएको सुन्दै, हुटिट्याउँको तुफानी उडान हेर्दै, माई र जोगमाई खोलाको दोभानमा नागडुबी हान्दै, काँस फक्रिएको चौडा बगरमा गोठाला गर्दै र अर्को एउटा हिउँदमा गहुँ छर्दै त्यहीँ बस्न पाए हुन्थ्यो अनि यो क्षणिक जीवन त्यहीँ बिसर्जन गर्न पाए हुन्थ्यो ! तर यो पनि थाहा छ, यस्तै इच्छाहरुको अन्तिम फैसला   गर्छ त्यही समयले  । जसलाई चिन्न नसकेर जीवन र जगत समयको फन्को मारिरहेका छन् !
(दशैं, आमा–बुवा र माईबेंसीको सम्झनामा कोरिएको संस्मरणको परिमार्जित रुप हो यो ।)

ताजा खबर