कोरोना प्रभाव: उपत्यकामै १५ हजार सक्रिय संक्रमित

२०७७ असोज २४ शनिबार ११:४४:०० मा प्रकाशित

 काठमाडौं । काठमाडौं उपत्यकामा सकि्रय भाईरस संक्रमित १५ हजार ५ सय ८३ रहेका छन् । कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो । पछिल्लो एक सातामा मात्रै काठमाडौंमा १० हजार नयाँ संक्रमित थपिएको मन्त्रालयको भनाई छ ।
सकि्रय संक्रमितमा काठमाडौंमा १२ हजार ४४१, भक्तपुरमा ११ सय २६ र ललितपुरमा २ हजार १६ रहेको बताईएको छ । अहिलेसम्म काठमाडौंमा १२४, भक्तपुरमा २५ र ललितपुरमा ३४ जनाको ज्यान गैसकेको छ ।

संक्रमित दिन प्रतिदिन थपिँदै गएपनि अस्पतालमा आईसीयू बेड र भेन्टिलेटरको संख्या भने थपिन सकेको छैन। सक्रिय संक्रमित १५ हजार भन्दा माथि हुँदा उपत्यकाका अस्पतालमा आईसीयू बेड २०७ र भेन्टिलेटर ८२ वटामात्रै छन्।

 

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार उपत्यकाभर आइसोलेसन बेडको संख्या २ हजार ४२५ मात्रै छ। निजीस्तरका १ हजार ५५ र सार्वजनिक १ हजार ३७० आइसोलेसन बेड रहेको मन्त्रालयले जनाएको छ। यस्तै, २०७ आईसीयू बेडमध्ये निजी ७२ र सार्वजनिक १३५ बेड हुन्। भेन्टिलेटर निजी अस्पतालमा २८ र सार्वजनिकमा ५२ बेड छन्। 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिडको नियमित प्रेस ब्रिफिङमा अस्पतालमा बेड अभाव हुन थालेको बताएका छन्। बढ्दो संक्रमणका कारण आइसोलेसन, आईसीयू र भेन्टिलेटरको पर्याप्त व्यवस्था नभएका कारण प्रवक्ता गौतमले प्रेस व्रिफिङमा सम्भावित खतराको संकेत गरिरहेका छन्। बिहीबारसम्म उपत्यकामा ८२ जना कोरोना संक्रमित आईसीयूमा र २७ जना भेन्टिलेटरमा छन्। आईसीयू र भेन्टिलेटर खाली नै हुँदा समेत बिरामीले बेड पाइरहेका छैनन्। 

संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरको माग समेत बढेको छ। तर, माग अनुसार आईसीयू र भेन्टिलेटर उपलब्ध नभएको चिकित्सकहरु बताउँछन्। लक्षणसहितका संक्रमितको संख्या थपिँदै गए अवस्था जटिल हुने देखिएको छ। स्वास्थ्य मन्त्रालयले भने आईसीयू र भेन्टिलेटर थप्ने प्रक्रिया अघि बढाइएको बताउँदै आएको छ। 

 

ताजा खबर