ईपिएस पास गरेका कामदार यही महिना कोरिया जान पाउने, रोकिएको भाषा परीक्षा जनवरीमा

२०७७ असोज २३ शुक्रबार १७:२५:०० मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगार विभागले कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपिएस) भाषा परीक्षा पास गरेका कामदारलाई यसै महिना पठाईने बताएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दहालले ती कामदार यही अक्टोबर महिनाभित्र कोरिया जान पाउनेगरी व्यवस्था हुने जानकारी दिएका हुन्् । 

त्यसैगरी यसै वर्ष रोकिएको भाषा परीक्षा जनवरीबाट सुरु गरिने पनि महानिर्देशक दहालले बताए । आवेदन दिएर पनि परीक्षा दिन नपाएर अन्योलमा परेका करिब ९० हजार आवेदकलाई जनवरीबाट परीक्षामा बस्ने व्यवस्था मिलाईने पनि दहालले जानकारी दिएका छन् ।

ईपिएसको भाषा परीक्षाको लागि सन् २०२० मा करिब ९० हजारले आवेदन दिएका थिए । महामहारी र लकडाउन हुँदैन थियो भने, यतिबेलासम्म २०२० को भाषा परीक्षा भएर कोरिया जान पाउने नपाउने समेत टुंगो भइसक्थ्यो । तर २०२० को परीक्षा त परै जाओस्, २०१७ मै भाषा परीक्षा पास गरिसकेका नेपाली कामदार कोरिया जान पाईने हो कि होइन भन्ने अन्योलमा छन् । महानिर्देशक दहालले यसको पनि समाधान हुने दावी गरेका छन् । 

सन् २०१८ मा पनि भाषा परीक्षा दिएर कोरिया जान योग्य कामदार थुप्रै थिए । ती मध्ये धेरै गए पनि । धेरै जान पाएनन् । जान नपाउने अधिकांश कृषि तर्फका हुन् । महानिर्देशक दहाल तिनलाई रोजगारदाता कम्पनिले नै चयन नगरेको बताउँछन् ।

एक पटक भाषा परीक्षा दिएका व्यक्तिहरुले दुइ वर्षसम्म रोजगार आवेदन दिन पाउँछन् । १८ का कामदारहरुको भाषा परीक्षा अवधिको अनि्तम ६ महिना कोभिडका कारण गुमेपछि, धेरैको चासो रहेको बिषय हो— …के हाम्रो गुमेको ६ महिनालाई समायोजन हुन्छ त ?

सन् २०१९ मा करिब ९२ हजारले (इपिएस) भाषा परीक्षाको लागि आवेदन दिएका थिए । जसमध्ये १२ हजार १० जनाले भाषा परीक्षा पास गरे । ६ हजार ७ सय ७३ ले सि्कल टेस्ट पास गरे । यसअघि हुन्थ्यो भने, १२ हजार १० जनाले रोजगार आवेदन भर्न पाउँथे । तर २०१९ देखि सि्कल टेस्ट पास नगरी रोजगार आवेदन भर्न नपाइने नियम बन्यो । सि्कल टेस्ट नगर्दा पनि भइरहँदा, यो वाध्यात्मक नियम किन ल्याएको ?

हाल पिबिटी पास गरेका सात हजार नौ सय दुइ र सिबिटी पास गरेका दुइ हजार तीन सय कामदार कोरिया जान पाएका छैनन् । १९ का पनि धेरैको के हुने भन्ने टुंगो छैन । कमिटेड कामदार मध्ये ६ सय दुइलाई पनि कोरियन पक्षले अनुमति दिनासाथ उडाउनु पर्ने अवस्था छ । यो सबैको सुरुवात कहिले हुन्छ त ? 

र सबैको चासो रहेको कुरा, २०२० मा हुनुपर्ने भाषा परीक्षा अब कहिले हुन्छ ? 

यिनै प्रश्नहरुको जवाफ खोज्न हामीले महानिर्देशक कुमार प्रसाद दाहालसँग कुराकानी गरेका छौं । उनीसँग गरिएको भिडियो कुराकानी हेरौं दृश्य टेलिभिजनमा–
  
 

ताजा खबर