कोरोना भाईरस हटस्पट उपत्यकामा निषेधाज्ञा लाग्न सक्ने

२०७७ असोज २२ बिहीबार १६:३७:०० मा प्रकाशित

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने सम्भावना देखिएको छ । हटस्पट भएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्रण गर्न पनि उपत्यकामा निषेधाज्ञा आवश्यक देखिएको बुझिएको छ । 

परराष्ट्र मन्त्री तथा प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार, देशभरि लकडाउन गर्ने अवस्था नभएपनि हटस्पट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्रणको प्रयास गरिनेछ । सरकारका प्रवक्ता ज्ञवाली कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर९सीसीएमसी० का सदस्य पनि हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझावसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिश गरेको थियो । दुई सातापछि असोज २१ गते सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ ।
 
काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल करिब १४ हजार सक्रिय सङ्क्रमित छन् । उपत्यका हटस्पटको रुपमा परिणत हुँदैछ । तर हटस्पटको रुपमा परिणत भएपनि उपत्यकामा लकडाउन वा निषेधित क्षेत्र घोषणाको तयारी देखिन्न । सीसीएमसीले उक्त अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरिसकेको छ । यसअघि पनि उपत्यकामा सङ्क्रमित बढ्दा स्थानीय प्रशासनले नै निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रवक्ता ज्ञवालीले हटस्पट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सकिने बताएका छन् ।
 
 उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै सक्रिय सङ्क्रमित करिब १२ हजार छन् । जसले गर्दा आइसोलेशन शय्याको अभाव महसुस गर्न थालिएको छ । जिल्लागत रुपमा काठमाडौं हाल सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको जिल्ला हो । बुधबार मात्रै एक हजार दुईसयभन्दा बढी सङ्क्रमित पहिचान गरिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने काठमाडौंमा समेत तात्काल लकडाउन गर्ने विषयमा छलफल नभएको बताउँछन् । तात्काल लकडाउन नहुने प्रष्ट्याउँदै उनले भने, “स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका पालनामा लापरवाही हुँदा सङ्क्रमण बढेको छ, उक्त प्रोटोकल लागू गराउन प्रशासन गम्भीर भएर लाग्नेछ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक दूरीको पालना, मास्क अनिवार्य लगाउनुपर्ने र हात साबुन पानीले नियमित धुनुपर्ने तथा बाहिरबाट आउने सर्वसाधारणको संख्या बढ्दा उपत्यकामा सङ्क्रमण बढेको जनाएको छ । प्रजिअ दाहालले दैनिक एक हजारदेखि पन्ध्र सय सङ्क्रमित थपिँदा उपत्यकास्थित सरकारी कार्यालयका कर्मचारीहरु पनि धेरै मात्रामा सङ्क्रमित हुन थालेको जानकारी दिए ।

प्रजिअ दाहाल भन्छन्, “उपत्यकाका प्रजिअहरु नियमित बसेका छौं, कर्मचारी सङ्क्रमित हुने क्रम बढेकोले सेवाप्रवाहको स्वरुपबारे निर्णय हुनसक्छ ।” 
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा रहेकाले कार्यालय सञ्चालन र सेवाप्रवाहको स्वरुपबारे ठोस निर्णयमा पुग्ने अपेक्षा गरिएको छ । कर्मचारी नै सङ्क्रमित भएपछि सेवाग्राहीमा समेत जोखिम बढ्ने हुँदा स्वरुपबारे निर्णय गर्नुपर्ने अवस्था आएको बताईएको छ । 

कार्यालयमा भीडभाड संकुचन भए कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई थोरै भए पनि नियन्त्रणमा राख्न सहज हुने बुझिएको छ । काठमाडौं उपत्यकामा सङ्क्रमित बढिरहँदा आईसीयू, भेन्टिलेटर र आइसोलेशन शय्याको समेत अभाव देखिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम भन्छन्, “स्वास्थ्य मापदण्ड पालनामा अझै लापरवाही भइरहे स्वास्थ्य पूर्बाधारले थेग्न नसक्ने अवस्था आउन सक्छ ।”

डा। गौतमको भनाईलाई प्रजिअ दाहालले पनि समर्थन जनाएका छन् । उनले तत्कालै आइसोलेशन शय्या र आईसीयूको अभाव देखिन सुरु भइसकेको जानकारी दिए। उनले थुप्रै बिरामीले नै सम्पर्क गरेर आइसोलेशन र आईसीयूको अभावबारे गुनासो गरेको बताए ।

गोरखापत्र अनलाईनका अनुसार, नेपालमा हाल कोभिड–१९ का कुल सङ्क्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार सात छन् ।

ताजा खबर