बढ्दो महामारीमा रक्षामन्त्रीको 'लिभिङ टुगेदर सूत्र'

२०७७ असोज २२ बिहीबार १२:५२:०० मा प्रकाशित

काठमाडौं । सरकार कोरोना महामारीको व्यवस्थापन परीक्षामा असफल भएको छ । ढुकुटीबाट जति अर्ब रुपैंयाँ खर्च गरेको भनेर प्रचार गरेपनि सरकारले महामारीलाई शीर्षस्थानमा राखेर सेवा प्रवाह गर्न सकेन । 

सीमानामा रोक्दारोक्दै पनि गाउँघर पसेका नेपाली दशैंको मुखमा रोजगारीको गन्तव्यस्थलतिर फर्किरहेका छन् काँधमा पोकापन्तुरा बोकेर । उनीहरु आएर केही रात सुतेको गाउँघरमा बिस्तारै कोरोना भाईरसले टाउको उठाईरहेको छ । हरेक अपरान्ह सार्वजनिक गरिने स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले नै यसको पुष्टी गरिरहेकै छ । पहिलो चरणको लकडाउनमा देखिएको सरकारी फुर्ति धेरैदिन टिक्न सकेन । बिहान र साँझ शरीर तताउन निस्केका जनतालाई सडकमै उभ्याएर केही हप्ता सरकारले रमिता देखाईहेर्यो । तर जतिबेला कोरोना भाईरस सलह झैं फैलिन थाल्यो सरकार निरीह सावित भएको छ । 

भाईरस फैलिने स्पष्ट संकेत आईरहँदा पनि सरकार तातेन । सत्तारुढ दलको शक्ति संघर्ष, बामदेव रिझाउने अभियान र नियुकि्त तथा पदस्थापन नै सरकारको प्राथमितकता पर्यो । कोरोना भाईरसको बिस्तारले प्रधानमन्त्री निवासको पर्खाल चढिसकेको पनि सरकारलाई पत्तो भएन । जब प्रधानमन्त्रीका सहयोगी र कर्पोरेट महाजनका घरमा भाईरसले प्रवेश गर्यो अनि सरकारको मनमा ढ्याङ्ग्रो बजेजस्तो देखिएको छ । सेलिब्रेटी र भीआईपीका नाकमा भाईरस अवतरण गरेपछि त सरकारले कुनै ठोस योजना ल्याउँछ कि भनेर आशा गरिरहेका जनता अब आफैं भाईरससँग भिड्न तयार भएका देखिन्छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको कोरोना सूत्र 'लिभिङ टुगेदर' अनुशरण गर्नु नेपाली जनताको वाध्यता हुनपुगेको छ । ध्यानाकर्ष गराउन पुगेका उपत्यकाका सांसद्हरुसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताएका थिए ।

  पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुनेगरी कोरोना सँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका थिए । परीक्षण, उपचार र जोखिमसँग सके आफैं भिड नसके हात उठाउ भनेजस्तो सरकारी नीतिले सबैको मनमा सरकारप्रति दिग्दारी र क्षोभ प्रकट गरेको देखिन्छ । 

यतिबेला लाखौं जनता गाउँघर पुगेका छन् । शहरमा फैलिँदो महामारी, सरकारी उदासिनता र दशैं यी तीन कारणले मानिसहरु गाउँ पुगेका हुन् । को कति संक्रमित छ भन्ने कुरा सामान्य अवस्थामा कसैलाई पनि थाहा हुने कुरै भएन । शरीरमा असजिला लक्षण थाहा भैहाले पनि स्थानिय तहमा परीक्षण र उपचारको पर्याप्त सुविधाको अभाव छ । यसैबेला सरकारले सार्वजनिक यातायात खुला गरिदिएको छ । उपत्यका छोड्दा होस् कि प्रवेश गर्दा नै किन नहोस् अनुगमनको पर्याप्त सयन्त्र सकि्रय देखिँदैन । यसकारण पनि कोरोना भाईरसको बिस्तारमा सहयोग पुगिरहेको छ ।

यस्तो अवस्थामा सरकार उपदेश सुनाएर बसेको छ । चाडपर्वमा भेट हुँदा टाढै बस्नु तर अंकमाल नगर्नु भनेर सरकार पनि्छन मिल्दैन । जमघट हुने यो समयमा उपयुक्त अनुगमन विधि अपनाउन सकिएन भने भोलिका दिनहरु अझ भयावह नहोला भन्न सकिँदैन ।

अझ स्थगित सबै परीक्षा सञ्चालन गर्न दिने निर्णयले भाईरस बिस्तारमा कति योगदान पुग्ला भन्ने चिन्ता थपिएको छ । शहरका फुटपाथ, चोक र गल्ली जताततै देखिने मानिसको भिडभाडले हेलचेक्र्याँईको अवस्था प्रष्ट देखाउँछ । दशैंको किनमेल हुने साना ठूला बजार, सब्जी पसल र मठमनि्दर क्षेत्रमा त झन् मानिसको ठेलमठेल भिड सुरु भैसकेको छ । यी सबै दृश्यले कोरोना महामारी नियन्त्रण हुँदै जानुको साटो झन् भयावह रुप लिने हो कि भन्ने चिन्ता थपेको छ । सरकारले यी सबै परिसि्थतिको मूल्याङ्कन गरी तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक देखिन्छ ।


 

ताजा खबर