चुनावको प्रभाव 
चुनावको प्रभाव एकदमै राम्रो छ । देशैभरी एककिसिमको लहर आएको छ । बाम गठबन्धनको एकिकरणले शक्ति पनि बढेको हो । जनतामा एउटा अत्यन्त सकारात्मक सन्देश गएको छ । यो मुलुकमा जुनखालको राजनीतिक अस्थिरता, छ आठ महिनामा प्रधानमन्त्री परिवर्तन गर्ने यो लामो  दुश्चक्रमा फसेको थियो । यो दुश्चक्रबाट मुलुकलाई मुक्त गर्ने बामपन्थीहरु मिलेर एउटा उपाय ल्याए भनेर जनता खुशी भएको हामीले पाएका छौं । 
कस्तो छ चुनावी प्रतिस्पर्धा  ?
मेरो विचारमा यो सबैभन्दा पहिला राजनीतिक पार्टीहरु बिचको प्रतिस्पर्धा हो । हामी जो जितेर गए पनि जुन जित्ने कार्यक्रम अगाडि सारे पनि हामीले खेल्ने भूमिका भनेको हाम्रा पार्टीका नीति कार्यक्रम, हामीले अगाडि सारेका घोषणापत्र र प्रतिबद्धताको आधारमा काम गर्ने कुरा हो । नेपाली जनताले यतिबेला बामपन्थीहरुलाई एकचोटी अवसर दिनुपर्छ भन्ने सोच बनाएको र अठोट गरेको हामीले पाएका छौं । त्यसको अनुभूति मैले यो चार नम्वर क्षेत्रको चुनावी तयारीमा जाँदा पनि पाएको छु । त्यसकारणले अहिले व्यक्तिको भन्दा पनि नीति र पार्टीको रोजाई मतदाताको मैले पाएको छु । व्यक्ति कै हिसाबले पनि मतदाताले मलाई मैले विगतमा खेलेको भूमिका, राष्ट्रिय राजनीतिमा मैले खेलेको भूमिका, मेरो आन्दोलमा रहेको संलग्नता र पछिल्लोकालमा खासगरी मेरो विषयविज्ञको हिसाबमा पनि अन्तर्राष्ट्रिय मामिलामा मैले खेलेको भूमिका । यी बिषयहरुलाई मतदाताले अत्यन्त सकारात्मक रुपमा लिएको मैले पाएँ । 
जित्ने सम्भावना छ त ?
मैले जित्ने सम्भावना एकदमै राम्रो देखेको छु । मेरो जित सजिलै तरिकाले हुनेछ । 
चुनाव खर्चको स्रोत ?
यसको लागि हामीले हाम्रो पार्टीकै तर्फबाट पार्टीका सदस्यहरुलाई अनिवार्य न्युनत्तम सहयोग राशी तोकेका छौं । कमरेड माधव कुमार नेपालको संयोजकत्वमा रहेको पार्टीको केन्द्रीय आर्थिक सहयोग संकलन कमिटी छ । त्यसले एउटा नीति निर्देशन जारी गरेको छ । पार्टीका प्रत्येक सदस्यहरु, सदस्यहरु जो व्यवसायमा छैनन्, पेशामा छैनन् उनीहरुलाई एउटा रकम । जो पेशा व्यवसायमा छन् उनीहरुलाई एउटा रकम । यो चाहि अनिवार्य रुपमा योगदान गर्नपर्ने भनेर भनिएको छ । त्यो नै हाम्रो प्रमुख आधार हो । त्यसभन्दा बाहेक केही शुभेच्छुक साथीहरुले केही सहयोग गर्नु होला भन्ने मेरो अपेक्षा छ ।  

परराष्ट्रविद्को भूमिका 
म नेपालको बिदेश नीतिका मामिलामा बैदेशिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको व्यक्ति हो । नेकपा एमालेले लिने बिदेश नीतिको बारेमा छलफल भइरहँदा होस्  या टेम्प्लेट तय गर्ने नीति बनाइरहँदा म त्यसमा प्रत्यक्ष सहभागी भएको छु । यो मुलुकमा एमालेले राष्ट्रियताप्रति लिएका अडानहरुका बिषय हुन या छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम राखेर भोलीका दिनमा दुबै छिमेकीहरुबाट आफ्नो मुलुकको हितमा राष्ट्रिय बिकासमा ती मुलुकहरुबाट लिन सकिने फाइदाका बिषयहरुमा होस् । ती मामिलाहरुमा हामीले गहिरो अध्ययन गरेका छौं । छलफल गरेका छौं । तद्अनुसार हामीले नीति लिने गरेका छौं । त्यसका उदाहरण पटक पटक हामीले देखाएका छौं । चाहे हामीले १९९४ मा भारतसँग पहिलोपटक नेपालका प्रधानमन्त्री मनमोहन अधिकारीले १९५० सन्धीको पुनरावोलोकन गरेको बिषय होस् या हामीले पछिल्लो कालमा केप ओली प्रधानमन्त्री भएका बेलामा भारत भ्रमणका बेलामा गरेका केही राष्ट्रिय हितका पक्षमा गरेका सम्झौताका कुरा हुन या त्यसको लगत्तै चीन भ्रमणको क्रममा केपी ओलीकै पालामा गरिएका दश बुँदाका निर्णयका बिषयहरु हुन या अहिले म पछिल्लोकालमा रहेर नेपाल भारत सम्बन्ध र समग्र पक्षको पुनरावलोकन गर्ने सन्धि सम्झौता । सहमतीको पुनरावलोकन गरेर आगामी समयमा सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा सुझाव दिने समेत जुन हाम्रो प्रवुध्द व्यक्तिहरुको समुह मा त्यसको सहस्यको नाताले मैले खेलिरहेको भूमिका होस् । माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा मैले पराष्ट्र सल्लाहकारको रुपमा खेलेको भूमिका, महत्वपुर्ण बेलामा चाहे पार्टीको नीति बनाउने बेलामा होस् या राज्यको निकायमा भूमिका निर्वाह गर्दा, कुनै पनि बेलामा मैले यो मुलुकको हितमा नेपाली जनताको हितमा र हाम्रा छिमेकीहरुसँगको सम्बन्धलाई सुदृढ र बलियो बनाउनका लागि काम गरेको छु । 
युवा पुस्तालाई सन्देश 
म युवा पुस्तालाई यति भन्न चाहन्छु कि यो निर्वाचनलाई हल्का रुपमा नलिनुहोस् । यो अत्यन्त महत्वपुर्ण तपाई हाम्रो जीवनसँग जोडिएको निर्वाचन हो । हामी २०४६ सालको आन्दोलमा होमियौं । २०४७ सालमा संविधान ल्यायौं । २०४८ सालमा निर्वाचन गर्यौं । तर जुन राजनीतिक शक्तिलाई जनताले पुरस्कृत गरे त्यो राजनीतिक शक्तिले त्यो संविधानको भावना र त्यो आन्दोलन अनुसार काम गर्न सकेन । त्यो संविधान क्रमिक रुपमा असफलतातिर गयो । हामीले अहिले २०७२ मा संविधान ल्याएका छौं । अर्को नयाँ संविधान ल्याउनका लागि हामीलाई दुई दशक भन्दा बढि कुर्नुपर्यो । यसरी ल्याइएको यो संविधान र यो संविधान ल्याउनका लागि पहल जसले गर्यो । यो संविधानको मर्म र भावना अनुसार यसको रक्षा गर्दै यसका माध्यमबाट राजनीतिक स्थिरता कायम गरेर । यसका माध्यमबाट अब मुलुकको बिकास र समृद्धिको बाटोमा जानुपर्छ । राजनीतिक स्थिरता मात्रैले त्यो बाटो सम्भव छ भन्ने कुरामा सबैभन्दा अग्र भागमा नेकपा एमाले र बामपन्थी शक्तिहरु रहेका छन् । त्यसैले यी सबै पक्षलाई ध्यानमा राखेर यो संविधानलाई असफल गराएर फेरी यो मुलुकमा दुष्ट प्रभाव खटाउन विगतमा बिभिन्न किसिमका प्रयासहरु हत्कण्डाहरु अपनाइए । ती सबै हत्कण्डा र प्रयासहरलाई हामीले विफल बनाएका छौं । त्यो बिफल बनाउने कुराको नेतृत्व अग्रगामी अग्रभागमा रहेर लडेको राजनीतिक दलको प्रतिनिधिको नाताले संयुक्त बामपन्थीको साझा उम्मेदवारको नाताले तपाईहरुले एकपटक बामपन्थीलाई अवसर दिनुस् । यो अवसरबाट हामीले काम गरेर देखाउनेछौं । हामीले सकेनौं भने लोकतन्त्रको सुन्दर पक्ष भनेकै हामीले नसकेको पक्षमा पाँच वर्ष पछि विकल्प रोज्न पाइन्छ । हामी असफल भयौं भने यहाँहरुले पाँच वर्षपछि फेर्नुस् । तर अहिले एकपटक हामीलाई तपाईहरुले हेर्नुस् । यो हेर्ने अवसर आएको छ । यो अवसर नगुमाउनु होस् ।     
प्रस्तुति ः सुकृत नेपाल  
 

ताजा खबर