फैलिँदो संक्रमण र सरकारी उदासिनता 

२०७७ असोज १९ सोमबार ०८:२२:०० मा प्रकाशित


  कोरोना भाईरस फैलिन नदिन आफू बसेकै ठाउँमा यसपालीको चाडपर्व मनाउन अपील गरे पनि सरकारले त्यसको व्यवस्थापनमा भने कुनै पहल गरेको छैन । सार्वजनिक यातायात चलिरहेका छन् भने लामो दूरीका सवारी चलेको एक महिना हुन लागेको छ । काठमाडौंबाट गृह नगर जाने मानिसहरुको आवागमन जारी नै छ भने दशैंको यातायात बन्दोबस्त पनि भैरहेको देखिन्छ । तर सरकार भन्छ यो वर्षको दशैं जो जहाँ छ, त्यहीं बसेर मनाऔं ।

 देशभर कोरोना संक्रमणको दर बढेको जान्दा जान्दै पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष जो जहाँ छ, त्यहीँ बसेर दशैं मनाउन अपिल गरेको छ तर व्यवहारमा पुरै उदासिन देखिन्छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टिमको आईतबार बसेको बैठकले यसपाली जो जहाँ छ, त्यही बसेर दशैं मनाउने गरी व्यवस्थापन गर्ने निर्णय गरेको भनेर प्रवक्ता डा। जागेश्वर गौतमले भनेका छन् । तर नियन्त्रण र सहजीकरणका लागि सरकारको तर्फबाट कुनै नयाँ योजना या रणनीति बनेको जानकारी दिएनन् ।

‘सबैलाई जहाँ छौं त्यहीँ बसेर दशैं मनाउनका लागि समन्वय गर्ने र त्यही अनुसार सन्देश प्रवाह गर्ने निर्णय भएको छ’ गौतमले भने दशैं मनाउन काठमाडौं उपत्यकाबाट लाखौं मानिस गाउँ जाने तयारीमा रहेकाले यसो भन्नु परेको हो । तर कोरोनाले पूरै प्रभावित काठमाडौंबाट देशका अन्य भूभागतिर जाने सवारीमा कुनै पनि अनुगमन र संक्रमण नियन्त्रणको व्यवस्थापन देखिँदैन ।

कोरोना महामारीबीच पनि सबैतिर सार्वजनिक यातायात चलेका छन् । काठमाडौं लगायत कोरोना प्रभावित शहरबाट गाउँ जाँदा कोरोना पनि पुग्ने कुरामा कुनै शंका रहेन । निषेधाज्ञा खुलेसँगै उपत्यकाबाट निस्केका मानिसमार्फत सर्नसक्ने भाइरस गाउँ पसिसकेको छ । स्थानीय निकायले पनि गाउँ आएका नयाँ मानिसको स्वास्थ्य अवस्थाबारे चासो राखेको पाईँदैन ।

काठमाडौंसहित घनाबस्ती भएका शहरमा संक्रमणको दर उच्च भएकाले सकेसम्म दशैंमा टिका थाप्नकै लागि भनेर गाउँ नजान मन्त्रालयले ध्यानाकर्षण गराएको भएपनि त्यो कार्यान्वयन भएको देखिँदैन । तसर्थ सरकारको दायित्व औपचारिकता पूरा गर्नमा मात्र सीमित भैरहेको देखिएको छ ।

उपत्यकामा कुनै पनि क्षेत्र संक्रमणबाट बचेको छ भनेर विश्वास गर्ने अवस्था छैन । प्रधानमन्त्री निवास बालुवाटार देखि सिंहदरबारका सरकारी अड्डा र अदालत क्षेत्र समेत प्रभावित भैसकेको त समाचार नै प्रकाशमा आईसकेको छ । अन्य दैनिक उपभोग्य वस्तु पाईने बजार क्षेत्र, ससाना चोक र गल्लीहरु मात्र होइन सार्वजनिक स्थलमा हुने अव्यवस्थित जमघटले पनि कोरोना भाइरस बिस्तारमा उल्लेख्य योगदान गरिरहेका छन् । लकडाउन लागु गर्दाको समयमा जति मात्र पनि अनुगमन भैदिएको भए महामारी यसरी फैलिन पाउने थिएन तर सरकार निषेधाज्ञा हटाएपछि आफ्नो दायित्वबाट पूरै पन्छिएको छ ।

 

ताजा खबर