सुनको मसिले जीर्णोध्दार हुँदैछ सात सय ९५ वर्ष पुरानो वौध्द धर्मग्रन्थ

२०७७ असोज १६ शुक्रबार १०:००:०० मा प्रकाशित

ललितपुर । पाटन दरबार क्षेत्रको हिरण्यवर्ण महाविहारमा 'प्रज्ञापरमिता' को पुनर्लेखन तथा जीर्णोध्दार भइरहेको छ । प्रज्ञापरमिता वौद्ध धर्मावलम्बीको पवित्र ग्रन्थ हो । 
करिब सात सय ९५ वर्ष पुरानो प्रज्ञापरमिता स्वर्ण अक्षरमा लेखिएको छ । सोही अनुरुप जीर्णोध्दार पनि सुनकै अक्षरले भइरहेको छ ।

महाविहारका एक सदस्य सुरेश बज्राचार्य भन्छन्- 'दाताले चढाएको पैसाबाट किनेको सुनलाई प्राकृतिक रसायनसँग मिसाएर बनाएको मसिले प्रज्ञापरमिता लेख्छौं ।'
प्रज्ञापरमिताको पुनर्लेखन र जीर्णोध्दार हरेक तीन-तीन वर्षमा गर्ने गरिएको छ । एक पटक जीर्णोध्दार गर्दा तीन देखि चार तोलासम्म सुन खपत हुन्छ । 

पहिलो पटक २०५४ सालमा जीर्णोध्दार गरिएको थियो । त्यसबेला करिब आठ तोला सुन खपत भएको थियो । मलमासको समयमा जीर्णोध्दार भइरहेको छ । 

महाविहारका सदस्य बज्राचार्यका अनुसार पुनर्लेखन गर्दा अत्यन्तै ध्यान लगाउनु पर्ने भएकाले भक्तजनको आवागमन कम हुने समय पर्खिँदा मलमासको अवधि उपयुक्त भएकाले यो समय छानिएको हो ।

गत असोज २ गतेबाट थालिएको जीर्णोध्दार करिब एक महिनासम्म चल्ने उनले बताए ।

कसरी पुनर्लेखन हुन्छ यो ऐतिहासिक र पुरातात्विक महत्व रहेको प्रज्ञापरमिता ? 

यसबारे विस्तारमा थाहा पाउन हेरौं भिडियो रिपोर्ट–

ताजा खबर