सुरेशको सुस्केरा: मन भने नाटकमा तर सोचेजस्तो भएन जीवन !

२०७७ असोज १४ बुधबार १२:३०:०० मा प्रकाशित

 सोचेजस्तो कहाँ हुन्छ र जीवन ? हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर मात्रै भएन जीवन धान्न चाहेभन्दा फरक वा कम चाहना भएको कर्म पनि गर्नुपर्छ ।

इलाम नगरपालिका–७ का सुरेश पोर्तेललाई अचेल यस्तै लाग्छ । सानै उमेरमा नाटकमा भिजेका सुरेशको मन अझै पनि त्यतै तानिन्छ । सडक नाटक र नाटकमा पात्र बनेर कल्पनामा रमाउँदाको मजै बेग्लै थियो तर रहरले मात्र कहाँ भयो र जीवन चलाउन त आदर्शभन्दा यथार्थ चाहिन्छ । यसैले अहिले सुरेश फाट्टफुट्ट मात्रै पर्दामा देखिन्छन् ।

मन त सुरेशको ठूलै रङ्गकर्मी बन्ने र सबैतिर चिनिने नै थियो र छ पनि तर नाटकले जीवन धान्न गाह्रो भएपछि अरूतिर समय दिएर नाटकमा विरलै देखिन्छन् सुरेश । नाटक खेल्ने मात्र होइन, कथा लेख्ने, पटकथा बनाउने र निर्देशन गर्ने क्षमता छ सुरेशमा । अहिलेसम्म करिब २०० नाटकमा अभिनय गरेका सुरेशले ५० जति त निर्देशन नै गरे। जीवन नै रङ्गमञ्च र रङ्गमञ्च नै जीवन देख्ने सुरेशले लेखेका र अभिनय गरेका केही  नाटकले त राष्ट्रियस्तरमै राम्रै छाप छोडे । 

‘डेब्यु’ नाटक नै हाइहाइ बन्दा

सुरेशले १७ वर्षमा नाटकमा अभिनय गरे पनि सानैदेखि नाटकले मन खिचेको थियो । उनलाई अरूले अभिनय गरेको देखेर अभिनय गर्ने भूत चढेको थियो बालापनमै । आफ्नो रुचिको विषय त हो । आखिर छेक्न कसले पो सक्छ र १ सुरेश पनि नाटकमै पुगे र अभिनय गर्ने सपना पूरा गरेरै छाडे ।

सामाजिक नाटक ‘कथा मानवीरेको’ मञ्चन तयारीमा थियो । सुरेश त्यही नाटकबाट ‘डेब्यु’ गर्ने तरखरमा थिए । नाटक त बल्लतल्ल खेले तर प्रतिक्रिया कस्तो आउने हो भन्ने चैं टुङ्गो भएन तर नाटकको टिम नाटक सकेर बाहिर मात्र निस्किएको थियो । दर्शकले खुबै रुचाएको बुझियो । यही उत्प्रेरणाले सुरेशमा रङ्गमञ्चमा सक्रिय हुने रहर अझै प्रगाढ भयो । यही नाटक जिल्लाका विभिन्न क्षेत्रमा मञ्चन हुन पुग्यो । त्यही नाटकबाट अरू नाटकमा समेत खेल्ने अवसर मिल्यो उनलाई । चार वर्षदेखि मानवअधिकार मञ्च नेपाल इलामको चेतना नाट्य समूह संस्थाको नेतृत्व लिइरहेका छन् ।

नाटकको शीर्षकबाट छोराको नाम

तीन वर्षअघि सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर०, जमल काठमाडौँबाट नाटक मञ्चन गर्ने नाट्य समूहलाई पत्र काट्यो । त्यत्तिकैमा नाट्य समूहले पनि नाटक पठाउने निधो गर्यो । यत्तिकैमा डा देवी क्षेत्री दुलालले लेखेको ‘म पहिलो सन्तान किसान जन्माउँछ’ शीर्षकको नाटक सोही संस्थामा पठाइयो । नभन्दै नाटक प्रदेशकै उत्कृष्टमध्येमा पर्दै मञ्चन गर्ने बाटो खुल्यो ।

सुरेशकै निर्देशनमा प्रदेश नंं १ मा मात्र होइन, सोही नाटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि मञ्चन भयो । “नाटकको शीर्षकनै किसानसम्बन्धी थियो । यता मेरो पनि बच्चा जन्मिने थियो”, सुरेशले हाँस्दै भने, “फागुनमा नाटक खेलियो । चैतमा छोरो जन्मियो । सबैले भनेपछि छोराको नाम नै किसान रह्यो ।”

यति मात्र होइन, सुरेशसँग नाटकका स्मरणीय क्षण पनि छन् । नाटक खेल्दै दर्शकको मन जितेर कति दिन त नाटकमै खेलेरै बित्यो । नाटकमै जीवन खोज्दै सुरेशसहितको टिमले कुनै बेला महिनामा एउटा नाटक मञ्चन गर्नेसमेत कार्यक्रम अघि बढायो । सामाजिक विषयवस्तुमाथि नाटक देखाएर सकारात्मक भावना देखाउनका लागि उनीहरुले अभियानै  चलाए । नाटकबाट बाँच्न गाह्रो हुने देखेपछि कतिले क्षेत्रै त्याग गरे भने कतिले निरन्तरता दिन नसक्दा टिम जुट्न गाह्रो भयो । “नाटकबाटै जीवन धान्नचाहिँ हाम्रो ठाउँमा गाह्रो छ”, सरेशले भने, “हामीलाई सिकाउने गुरुहरु पनि पलायन भएको देखेर हामी पनि अन्यत्र लाग्यौँ । त्यसैले फाट्टफुट्ट मात्र नाटकमा देखिन बाध्य छौँ ।”

जीवन धान्न जागिर

एक किसिमले सुरेशलाई भाग्यमानी ठान्नुपर्छ । नाटकले देखाएको ठाउँबाटै उनले जागिर पाए। उच्च शिक्षा हासिल गर्दैदेखि उनी मानवअधिकार मञ्च नेपालसँग नजिक भए । त्यत्तिकैमा मञ्चले सुरेशलाई जागिर पनि दियो । सुरेशको मन नाटकतिर थियो तर जीवन धान्न जागिर खानुपर्ने भयो ।

“घरको एउटा छोरो बाहिर नाटक सिक्न जान पनि सकिनँ”, सुरेशले भने, “राजधानीबाटै पनि नाटकका लागि ‘अफर’ त आउँथ्यो तर घरायसी समस्याले जान सकिएन ।”  

सत्ताइस वर्षमा उक्लिँदै गरेका सुरेश यति हुँदाहुँदै पनि नाटकमा जीवन छैन भन्नचाहिँ सक्दैनन् । नाटकका लागि पूर्वाधार अभाव भएकाले नाटक मञ्चन गाह्रो भएको सुरेशको दुखेसो छ । भौतिक संरचना भएकामा नाटकबाटै अभिनय मात्र होइन, रोजगारी पनि पाउन सक्ने सु्रेशको विश्वास छ । “एउटा नाट्य घर मात्र भए पनि नाटकबाट धेरै जना बाँच्न सकिन्छ”, सुरेश भन्छन्, “सरकारी क्षेत्रबाट यसका लागि प्रयत्न भए, धेरै सहज हुन्थ्यो ।” (किरण पौड्यालको रिपोर्ट)

ताजा खबर