टालटुलकै भरमा धावनमार्ग

२०७४ कार्तिक २३ बिहीबार ०७:५४:०० मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे (धावनमार्ग) चार वर्षदेखि टालटुलकै भरमा सञ्चालनमा छ । रनवे टालटुल गर्नकै लागि विमानस्थल कार्यालयअन्तर्गतको सिभिल इन्जिनियरिङ महाशाखाले वार्षिक दुई करोड रुपैयाँ खर्च गर्दै आएको छ । ‘टालटुल गरेर सञ्चालनमा ल्याइएको रनवेमा जुनसुकै समयमा जहाज ल्यान्ड गर्दा दुर्घटना हुन सक्छ', महाशाखाका प्रमुख मुरारी भण्डारीले भने, ‘हामीले अति संवेदनशील अवस्थामा विमानस्थल सञ्चालन गरिरहेका छौं ।' टालटुल गरेको ठाउँमा जहाज ल्यान्ड गर्दा त्यसको सन्तुलन बिग्रन सक्छ । ‘रनवे टालेर मात्रै राम्रो हुन अवस्था पनि छैन', उनले भने, ‘त्यसको स्ट्रक्चर नै ड्यामेज भइसकेको छ ।' रनवेकै कारण जहाज दुर्घटना भएको अवस्थामा नेपालको नकारात्मक प्रचार हुने उनको भनाइ छ । त्यसैले सरोकारवालाको समयमै यसतर्फ ध्यान जानुपर्ने उनले बताए ।

 ‘टालटुल गरेर सञ्चालनमा ल्याइएको रनवेमा जुनसुकै समयमा जहाज ल्यान्ड गर्दा दुर्घटना हुन सक्छ', महाशाखाका प्रमुख मुरारी भण्डारीले भने, ‘हामीले अति संवेदनशील अवस्थामा विमानस्थल सञ्चालन गरिरहेका छौं ।' टालटुल गरेको ठाउँमा जहाज ल्यान्ड गर्दा त्यसको सन्तुलन बिग्रन सक्छ । ‘रनवे टालेर मात्रै राम्रो हुन अवस्था पनि छैन', उनले भने, ‘त्यसको स्ट्रक्चर नै ड्यामेज भइसकेको छ ।' रनवेकै कारण जहाज दुर्घटना भएको अवस्थामा नेपालको नकारात्मक प्रचार हुने उनको भनाइ छ । त्यसैले सरोकारवालाको समयमै यसतर्फ ध्यान जानुपर्ने उनले बताए ।

सन् १९८० मा निर्माण भएको रनवे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । रनवे सुधार (रिह्याबिलिटेसन) प्रक्रिया सुरु भएको झन्डै एक वर्ष भइसकेको छ । तर रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच प्रतिस्पर्धा हुन सकेको छैन । प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डमा रोकिएको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक भएको ६ महिना बितिसक्दासम्म प्राधिकरणको वार्षिक कार्ययोजना र बजेट पास हुन सकेको छैन । यसले रनवे सुधारको काम पनि रोकिएको हो ।

महाशाखालाई अहिले विमानस्थल बन्द भएपछि राति १२ देखि बिहान पाँच बजेसम्म रनवेमा देखिने ससाना खाल्डाखुल्डी पुर्न÷मिलाउन भ्याइनभ्याई छ । ‘वर्षा सिजनमा रनवे मर्मत गर्न झनै गाह्रो हुन्छ', उनले भने । विमानस्थल खुला रहेको समयमा पनि दैनिक तीनदेखि चारपटकसम्म जहाजलाई आकाशमै होल्ड गरेर रनवे मर्मतको काम गर्नुपर्ने अवस्था रहेको भण्डारी बताउँछन् ।

रनवेमा सानो समस्या आएको अवस्थामा २० मिनेट र ठूलो समस्या देखिएको अवस्थामा पौने एक घन्टासम्म आकाशमै जहाज होल्ड गरेर काम गर्नपर्ने अवस्था रहेको उनको भनाइ छ । तर रनवे सुधारका लागि पैसा, डिजाइन र प्राविधिक रूपमा सक्षम कम्पनी सबै जुटिसक्दा पनि काम अगाडि बढ्न नसकेको उनले बताए । रनवे सुधारका लागि विमानस्थल कार्यालयले विमानस्थल विकास खर्चका नाममा रकम उठाइरहेको छ । विकास खर्च कोषमै अहिलेसम्म करिब चार अर्ब रकम संकलन भइसकेको छ ।

सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा'ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो । तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू'का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गर्‍यो ।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो । टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो ।

यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पारेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङदो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी छन् । विमानस्थलकै रनवे सुधारसम्बन्धी दुईवटा काम गरेको, आर्थिक रूपमा कति सक्षम र औजार कति भएको कम्पनी हो भनी यकिन गरेर मात्रै कम्पनी छनोट भएको भण्डारीले जानकारी दिए ।

तर अहिलेसम्म यी कम्पनीबीच लागतका विषयमा प्रतिस्पर्धा हुन सकेको छैन । विमानस्थल कार्यालयले कम्पनी छनोटदेखि ‘रिपोर्ट रिभ्यू'मा सहयोग गर्ने परामर्शदातालाई मात्रै मासिक १० लाख रुपैयाँ खर्च गर्दै आएको छ । कम्पनी छनोटसँगै महाशाखाले चार कम्पनीसँग फाइनान्सियल प्रतिस्पर्धा गराउने स्वीकृति मागका लागि टेन्डर डकुमेन्टको फाइल नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले फाइल विमानस्थल कार्यालयबाट आएलगत्तै स्वीकृतिका लागि बोर्डसमक्ष पेस पनि गरे । तर ६ महिनासम्म पनि प्राधिकरणको बोर्ड बैठकमा रनवे सुधारको फाइलबारे छलफल नै भएको छैन । अन्नपूर्ण पोस्टबाट ।

ताजा खबर