सरकारको अनुमति विना नै भर्ना

२०७४ असार ६ मंगलबार ०७:२३:०० मा प्रकाशित

काठमाडौ, ६ असार । निजी मेडिकल कलेजले स्नातकोत्तर अर्थात् पिजीमा त्रिभुवन विश्वविद्यालयको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना लिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम र केन्द्रीय कार्यालयको अनुमतिविना नेसनल मेडिकल कलेज वीरगन्ज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले पिजीमा विद्यार्थी भर्ना लिएका हुन् । 

आइओएमले योग्यताका आधारमा तोकिएको शुल्कमा भर्ना लिनुपर्ने बताउँदै आएको छ । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता भएअनुसार भर्ना लिएको दाबी गरे पनि केन्द्रीय कार्यालयले भर्नाबारे आफू कुनै जानकारी नभएको बताएको छ ।

‘पिजीको शुल्क निर्धारण गरिएको छैन । दुई–तीन दिन अझै लाग्छ, यस्तो अवस्थामा कसरी पैसा लिएर निजी मेडिकल कलेजले भर्ना लिए हामी जान्दैनौँ,’ त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले भने । अनुमतिविना गरिएको भर्ना स्वतः रद्द हुने उनले बताए । नियमभन्दा बाहिर गएर लिएको भर्ना आफैँमा गैरकानुनी भएको उनको भनाइ छ । ‘यसलाई कसैले रद्द गर्नै पर्दैन, आफैँ रद्द भएको छ,’ खनियाँले भने ।

चिकित्सा शिक्षा अध्ययन कार्यदलका पूर्वसदस्य प्रा।डा। भगवान कोइरालाले निजी मेडिकल कलेजले विश्वविद्यालयको हैसियतभन्दा माथि उठ्ने प्रयास गरेको बताए । ‘पिजी पढाउन उनीहरूलाई नै दिने हो । जति सिट कटौती भयो, अब हुँदैन । पैसा जति लिए पनि हाम्रो आपत्ति छैन, तर मेरिट लिस्टमा परेका विद्यार्थी भर्ना लिनुअगावै भर्ना लिइएको छ, त्यसमा हाम्रो आपत्ति हो,’ उनले भने ।

पिजी भर्नामा कति रकम लिने भन्ने निक्र्योल त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म गर्न सकेको छैन । दुई मेडिकल कलेजले भने मेरिट लिस्ट आउनुअघि बाहिरका विद्यार्थीसँग ४० देखि ४५ लाख रुपैयाँ लिएर भर्ना गरेका छन् । कोइरालाले नियमभन्दा बाहिर गएर भर्ना भएका विद्यार्थीलाई हटाएर मेरिट लिस्टमा परेका विद्यार्थी भर्ना गर्नुपर्ने बताए ।

‍नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले त्रिभुवन विश्वविद्यालयसँग भएको सम्झौताका आधारमा पिजीमा विद्यार्थी भर्ना गरिएको दाबी गरे । ‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयसँग भएको सम्झौताअनुसार हामीले विद्यार्थी भर्ना गरेका हौँ । भर्नामा कुनै अनियमितता भएको छैन,’ उनले भने ।

अन्सारीले १४ असारबाट पठनपाठन सुरु हुने गरी भर्ना गर्न आग्रह भएअनुसार गरिएको भन्दै दुई चरणमा अध्यापन गराउन नसकिने जिकिर गरे । ‘कसैलाई रिस उठ्यो भन्दैमा अनावश्यक आरोप लगाएर हुँदैन,’ अन्सारीले अघि थपे, ‘हामीले निवेदन दिएको आधारमा भर्ना लिएका छौँ । १४ गतेबाट कक्षा सञ्चालन गर्न डिन कार्यालयले पत्रसमेत पठाएको छ ।’ आफूहरूले पिजी भर्ना गर्दा विद्यार्थीबाट ४० लाख रुपैयाँसम्म लिएको अन्सारीले स्पष्ट पारे । नेसनल मेडिकल कलेजले पिजीमा ३२ जना विद्यार्थी भर्ना गरेको जनाएको छ भने र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले ४२ जना विद्यार्थी भर्ना लिएको छ ।

ताजा खबर