कोरोना भाईरस सर्ने मुख्य स्थान तरकारी बजार र डिपार्टमेन्ट स्टोर

२०७७ असोज ७ बुधबार ११:३३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमित बढ्नुले चिन्ता छाएको छ । सिमीत उपकरण र सुस्त परीक्षण गतिले परिस्थिति जटिल बन्दै जाने पो हो कि भनेर जनस्वास्थ्यविद्हरुले चिन्ता व्यक्त गरेको पाईएको छ । भेन्टिलेटर कम भएकाले बिरामी बढे भने के गर्ने भन्ने चुनौती तेर्सिएको उनीहरुको भनाइ छ । अहिलेलाई कोरोना भाईरसबाट जोगिन मास्कको उचित प्रयोग नै उत्तम विकल्प भएको र यसले भ्याक्सिनले भन्दा बढी काम गर्ने उनीहरुको सुझाव छ ।

‘भ्याक्सिन आए पनि रोग नहराएसम्म मास्कको महत्व त्यतिकै हुने छ, भ्याक्सिनले ७० प्रतिशत मानिसलाई मात्र काम गर्छ तर मास्कले शतप्रतिशत मानिसलाई काम गर्छ, त्यसैले मास्क छाड्न मिल्दैन’ जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले सञ्चारमाध्यमहरुसँग बताएका छन् ।

बसमा यात्रा गर्दा जथाभावी नझर्न र नखान पनि उनको सुझाव छ । मास्क लगाउने, पञ्जा लगाउने र स्यानीटाइजरको प्रयोग गरेर बसमा सुरक्षित यात्रा गर्न सकिने पाण्डेले सुझाएका छन् । खुल्ला ठाउँमा संक्रमण सर्ने सम्भावना अति कम भएकोले खुल्ला ठाउँमा भेटघाट गर्न उनी सचेत गराउँछन् ।

संक्रमण सबैभन्दा बढी सर्ने ठाउँ भनेको भिडभाड र तरकारी बजार मानिन्छ । त्यस्तै डिपार्टमेन्टल स्टोरहरु पनि जोखिममा रहेका छन् ।

काठमाडौंमा हाल जाँच गरिएका मध्ये ४० प्रतिशतमा कोरोना संक्रमण देखिएको बताईन्छ । काठमाडौंमा समुदायमा परीक्षण नभएकोले धेरै संक्रमित भए पनि सार्वजनिक हुन नसकेको थाहा भएको छ ।

 
 

ताजा खबर