विश्वकै दूर्लभ साहसीः अल बिदा ‘हिउँ चितुवा’ !

२०७७ असोज ६ मंगलबार १७:०६:०० मा प्रकाशित

काठमाडौं । विश्वविख्यात आरोही आङरिता शेर्पा उर्फ ‘हिउँ चितुवा’ यस भौतिक दुनियाँबाट अस्ताएका छन् । ७४ बर्षीय प्रख्यात पर्बतारोही शेर्पाले सोमबार राजधानी काठमाडौंको जोरपाटीस्थित छोरीको घरमा अन्तिम सास फेरेका थिए । घडीमा बिहानको १० बजेर ४० मिनेट जाँदा हिउँ चितुवाको निधन भएको छोरी डोमाले जानकारी दिइन् ।

सन् ८० देखि ९० को दशकसम्म सगरमाथामा एक छत्र राज गरेका थिए, हिउँ चितुवाले । आङरिताले त्यो अवधिमा  पर्बतारोहण क्षेत्रमा दबदबा कायम गरेका थिए । आङरिता शेर्पा सगरमाथामा त्यस बेलाका एक बलिया र साहसिक पर्बतारोही थिए । नाम्चेबजारबाट देब्रे कुनाको यिलाजुङ (थामे भन्दा अलि माथिल्लो गाउँ) भन्ने सानो गाउँमा जन्मेका हिउँ चितुवा सगरमाथामा १० पटकसम्म बिना क्सिजन बोटल सर्बोच्च शिखर सगरमाथामा पाइला चुम्न सकेका थिए । 

‘सगरमाथा मेरो बाल्यकालको घरमास्तिरको डाँडा पाखा हो । म जन्मेको सानो गाउँ नै सगरमाथा भन्दा आधा अग्लो छ, त्यसैले मलाई अक्सिजन भरेको बोटल जरुरत पर्दैनथ्यो,’ हिउँ चितुवाले अलि पहिला यस पंक्तिकारसँग भनेका थिए । 

यिलाजुङ ४ हजार मिटर अग्लो छ । हो आङरिता शेर्पा त्यही गाउँमा जन्मेका थिए । त्यो जमानामा उनी चौंरी धपाउँदैै नेपाल र तिब्बतको सीमाना नाङपाला पुग्थे । ५ हजार ८ सय मिटर उचाईको नाङपाला पास गरेर नुन बोक्न गएको जोवनलाई सगरमाथा घरमास्तिरको काँन्ला जस्तै लाग्नु अस्वाभाबिक होइन । त्यसैले उनले १० पटकसम्म ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा टुप्पोमा प्राकृत अक्सिजनकैभरमा फनफनी नाचे । पारीपट्टी थामेतङ तेन्जिङ नोर्गे जन्मेको गाउँ अनि वारीपट्टी हिउँ चितुवाको थातथलो यिलाजुङ । तेन्जिङ नोर्गे बिश्वको अग्लो टाकुरा सगरमाथामा पहिलो पाइला राख्दा, हिउँ चितुवा यिलाजङमा टुकुटुकु हिँड्ने बेलाका थिए ।

तेन्जिङले सगरमाथामा पहिलो पाइला टेकेर इतिहास रचेका थिए भने आङरिता चौंरी धपाउँदै हिँड्ने सानो केटो । फेरी सन् १९८३ मा सगरमाथामा आङरिताले बिना अक्सिजन बोटल सगरमाथामा पाइला राख्दा तेन्जिङ नोर्गे जीवनको उत्तरार्धमा पुगेका थिए वा बुढौलीतिर ढल्किएका थिए । त्यसैले जीवन वारीपारी भए पनि पाइला एउटै शिखरमा लगे । इतिहास फरक रचे र विश्व कीर्तिमान कायम गरे । सगरमाथामा पहिलो पाइला र बिना अक्सिजन सगरमाथा शिखरमा सबै भन्दा बढी दश पटकसम्म । सन् १९८६ मा तेन्जिङ नोर्गे (टाइगर अफ स्नो) अस्ताए भने स्नो लियोपार्ड उदाएका थिए ।

‘सागारमाथा मेरो घरको छात हो’ शेर्पा मौलिक लवजमा उनी भन्थे । मेरो घरको छतमा जानलाई किन अक्सिजन हिउँ चितुवाले मलाई उल्टै प्रति प्रश्न गरें । त्यसबेला उनी कपनस्थित रोलवालिङ टोलमा बस्थे । करीब ढेड दशक अघि मैंले कान्तिपुरको कला र शैलीका लागि हिम चितुवाको अनुभव सुन्न उनी र म पारिलो घामको किरणमा बसेर गफिएका थियौं । उनी साहसिक पर्बतारोही मात्र थिएनन् एक रसिक पनि थिए । छकालमै छयाङले झुम्म हुन्थे र उनको जमानाका सगरमाथा आरोहण गर्दाका साहसिक मुटु नै काँप्ने मिथ जस्ता लाग्ने यथार्थ कथा सुनाउँथे । सगरमाथा चढ्न त्यो पनि बिना अक्सिजन एक पटक होइन दश पटक । सुन्नेलाई आङरिताका वीरगाथाहरु किंवदन्ती जस्तो लाग्थे तर ती यथार्थका गाथाहरु थिए । त्यसपछि मेरो हिम चितुवासँग दर्जनौ पटक अनौपचारिक गफ भए । उनी सरल र साधारण ब्यबहार गर्ने असाधारण पर्बतारोही थिए । हिम चितुवा एक कुशल र महान आरोही थिए । सधैं लो प्रोफाइलमा बस्ने र सिजनमा हिमाली टाकुरामा रम्ने बलिष्ठ पनि ।

‘सगरमाथा चढेर बिश्व कृतिमान राख्छु भन्ने मेरो लक्ष्य थिएन । म चौंरी चराउने केटो । हिमाली घुम्टो ओढेको यिलाजुङ मेरो गाउँ । त्यहींबाट बेला बेला ओहोरदोहोर गर्ने  पर्बतारोहीहरु देख्थें र मनमा सोच्थे, म पनि एक दिन मेरो सगरमाथा चढ्ने हो । १५ बर्षसम्म गाउँमै चौंरी चराएँ । त्यसपछि मलाई चौंरी भन्दा सगरमाथा फेदीतर्फ जाने रहर जाग्यो । म पर्यटकको सामान बोकेर त्यता लागें’ केही बर्ष अघि हिउँ चितुवाले यस पंक्तिकारलाई आरोहणको कहानी सुनाएका थिए । 

सन् १९८३ मा जर्मनी र अमेरीकन दलको क्लाइम्बिङ शेर्पाको रुपमा साउथकोलबाट सगरमाथा शिखरमा बिना अक्सिजन पाइला राख्न सफल भए । त्यसपछि आङरिता शेर्पाले पछाडि फर्केर हेर्नु परेन । कठिन जाडो याममा पनि उनले बिना अक्सिजन बोटल सगरमाथामा सन् १९८७ मा पाइला राखेर संसारलाई चकित बनाए । त्यस बेला खास विन्टर एक्सपिडिशन सगरमाथामा बिरलै हुन्थ्यो र आज पर्यन्त पनि । एडभेन्चर गर्ने क्रेजी नै हुन्छन् र सफल हुन्छन् ।

हिम चितुवाले सगरमाथामा बिभिन्न देशका नागरिकहरुलाई सफलतापूर्ण आरोहण गराए । सन् १९९६ मा सगरमाथामा दशौं र अन्तिम पटक बिना अक्सिजन पाइला राखेर प्रख्याती कमाएका थिए । प्रकृतिमाथि मानिसलाई सधैं एकैनाशको साथ दिँदैन र शरीरले पनि । त्यही कुरा हिउँ चितुवाको जीवनमा पनि लागु भयो । उनको स्वास्थ्यमा समस्या देखा प¥यो । कलेजोमा खराबी भयो । त्यस बेला राजा बीरेन्द्रले उनलाई भेट्न बेलाए । उनकै डेरामा युबराज दीपेन्द्रलाई लिन पठाए र के सहयोग गर्न सकिन्छ भनेर सोधनी पनि भयो । आङरितालाई ठूलो महत्वाकांक्षा जागेन र सरल र सुखी जीवन बिताउने कुरा युवराजलाई बताए । राजा बीरेन्द्रले नै आङरितालाई हिउँ चितुवा उपाधि दिएर र जोरपाटी र गोकर्णकोबीचमा घर बनाउने थोरै जग्गा पनि । उनी स्वर्गीय राजा बीरेन्द्रप्रति ज्यादै अनुगृहित पनि थिए । त्यो तत्कालिन राजा बीरेन्द्रले हिम चितुवाले सगरमाथा चढेर देशलाई बिश्व सामु थप चिनाएको भन्दै हौसला दिएको संझना सुनाउथे, शेर्पा ।

आङरिताले सगरमाथा मात्र होइन आठ हजार अग्ला कन्चनजंघा, धौलागिरी, मकालु र चोयु हिमालको सफल आरोहण गरेका थिए ।

त्यस बेला पर्बतारोहण आजको जस्तो प्रविधिमय, माउण्टेन इक्यिुमेण्टले चुस्त थिएन । खुम्बु आइसफलमा बढेमान्का काठका भ¥याङ ठड्याएर आधार शिबिरबाट क्याम्प एक तर्फ उकालो लाग्नु पथ्र्यो । सन् ९० दशकपछि सगरमाथामा बिस्तारै प्रविधि र हिमाली कपडाको बिकास हुन थाल्यो । हिमचितुवाले त्यसको स्वाद नजिकबाट लिन पाएनन् । 

उनी भन्ने गर्थे– ‘हिमाल भनेको प्रकृति हो, यसलाई उसकै लयमा रहन दिनुपर्छ भन्थे । हिमालमा हावाहुरी आयो भने तल फेदीतर्फ ओरालो लाग्नुपर्छ । वातावरणले साथ दिए फेरी जानुपर्छ । पछिल्लो पुस्ता पर्बतारोहणमा जम्दै गर्दा रिस्क फ्याक्टर बढी छ, त्यो भनेको प्रकृतिलाई कम ठानेको जस्तो मान्थे हिम चितुवा । सधैं प्रकृतिले नै जित्छ, हामीले उसकोमाथि क्षणिक बिजय हासिल गर्ने हो ।’

पछिल्लो समय आङरिता आरोहणबाट उमेर र स्वास्थ्यका कारण निबृत्त भएका थिए । बाल्यकालमा यिलाजुङमा चौंरी चराउँदै हुर्केका शेर्पा बिश्व रेकर्ड कायम गरेपछि पनि चौंरी चराउन यिलाजुङ फर्केका थिए । मलाई अमेरिका, यूरोपलगायतका बिकसित देशबाट उतै बस्ने गरी अफर आएको छ, तर मलाई मेरै गाउँ प्यारो लाग्छ र चौंरी थपाउनु नै मज्जा आउँछ ।” जसले यो देशलाई हिमाली पौंठेजोरीबाट बिश्वमा चिनाए । बिश्वका ख्याती प्राप्त आरोहीहरु र हिमालप्रेमीहरु उनलाई भेट्न यिलाजुङ गाउँमै पुगे । अपसोच सधै राजनीतिक खिचातानी र भागबण्डामा रमाउने शासकहरुको दृष्टि यस्ता नेपाल आमाका सपूतहरुकोमा कहिल्यै पुगेन । जोश, शारीरिक शक्ति नाम कमाएको बेलामा हिम चितुवालाई कस्ता कस्ता अफरलाई पनि नकारेर यो देशमै बसे ।

बिश्व बिख्यात नेपाली पर्बतारोहीहरुका लागि सरकार कदापि जिम्मेवार बन्न सकेन । पाखुरीमा बल हुन्जेल हिमालय पर्बतमा भिडेर देशलाई ख्याति दिए । उमेर ढल्केपछि सरकारले हेर्दैन भन्ने अधिकांश आरोहीहरुको गुनासो रहँदै आएको छ । हिमाल आरोहणकै क्रममा जेठा छोरा कर्साङ एक दशक अघि गुमाएका हिम चितुवाले त्यसको केही बर्षपछि जीवनसँगिनी पनि गुमाउन पुगे । सन्तान र जीवन साथी गुमाउँदाको पिडालाई पनि सहेर कलेजो र टाउको सम्बन्धि रोगसँग लड्दै बसेका हिम चितुवा अन्ततः रोगसँग हारेर यस लोकबाट परलोक भए ।

यो राजनीतिक अस्तब्यस्तले हुँडलिएको समाज भन्दा पर हिमाल जस्तै अटल, शान्त आङरिता शेर्पा थिए । सरकारसँग उनको ठूलो गुनासो थिएन । मलाई औषधीमुलो गर्न सरकारले रेखदेख गरोस् भन्ने मात्रै इच्छा भन्थे शेर्पा । राजनीतिकमा सगरमाथा भन्दा अग्ला खोक्रा राष्ट्रबादका गफ गर्ने भन्दा सगरमाथा चढेर प्रशिद्धी कमाएर समुद्र जस्तै अटल र स्थिर भएर यही माटोमा बिलय हुने बिख्यात आङरतिा शेर्पा महान हुन् । महान पर्बतारोही हिम चितुवा यही माटोमा सदाका लागि अस्ताए । पर्बतारोहणको एक बिख्यात इतिहासको अन्त्य भएको छ । अल बिदा महान पर्बतारोही हिम चितुवा उर्फ आङरिता शेर्पा । (फायल तस्बिर- क्रमशः बीबीसी र क्योदो) 
 
 

ताजा खबर