‘शेरबहादुरजीका अंगरक्षक जर्नेल भएर रिटायर्ड हुन लागे, उहाँ चैं सधैं सभापति र प्रधानमन्त्री भैरहनुपर्ने ?’ 

२०७७ असोज ६ मंगलबार ११:३३:०० मा प्रकाशित

 काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफू सक्रिय राजनीतिबाट अवकाश लिने लक्ष्मण रेखा कोरिसकेका छन् । कांग्रेसको १४औं महाधिवेशन र प्रतिनिधि सभाको यो कार्यकालपछि नेता रिजाल सक्रिय राजनीतिबाट बाहिर रहनेछन् ।

‘मलाई पार्टी सभापति र प्रधानमन्त्री बन्ने चाहना छैन र लक्ष्य पनि होईन । राजनीतिमा पदमै बसेर क्रियाशील हुने  मसँग समय छैन, मेरो त्यो समय सीमा सकिँदैछ,’ नेता रिजालले भने– ‘तर म पद बाहिर बसीबसी पनि यी दुबै पदमा रहेर भन्दा बढी देश र जनताका लागि योगदान गर्न सक्दछु ।’

सत्ता र प्रतिपक्षको शीर्ष तहमा रहेका तीन नेताका बारेमा नेता रिजालको रोचक विश्लेषण छ । आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई आत्ममूल्याङ्कन गरेर सक्रिय पदबाट विश्राम लिन उनी सल्लाह दिन्छन् । रिजाल भन्छन्–‘शेरबहादुरजी पहिलोपल्ट प्रधानमन्त्री हुँदा उहाँको अंगरक्षक बनेका क्याप्टेन सेनाको जर्नेल भएर अवकाश लिन लागिसकेका छन्, अनि शेरबहादुरजी नै सधैं पार्टी सभापति र प्रधानमन्त्री भैरहनुपर्ने ?’

सत्तारुढ नेकपाका शीर्ष दुई नेता प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमपूर्ण स्वभावले देशलाई नै हानी गरिरहेको नेता रिजालको टिप्पणी छ । उनको भनाई छ– ‘प्रधानमन्त्री ओलीलाई आफू मात्र सर्वज्ञाता हूँ भन्ने भ्रम छ । उहाँले जे जति जान्नुभएको छ त्यतिमात्रै अन्तिम सत्य हो भनेर ओली बाँकी अरुसँग व्यवहार गरिरहनु भएको छ । एउटा टापुमा बसेर आफू नै संसार हूँ भन्नु कत्तिको बुध्दिमानी कुरा हो ?’

नेकपाका अध्यक्ष ‘प्रचण्ड’लाई अभिमानी नेता ठान्छन् नेता रिजाल । ‘शान्ति प्रक्रिया हुँदै राजनीतिको मूलप्रवाहमा आउँदा अरु सबै केही पनि होईनन्, म नै सर्वशक्तिमान नेता हूँ भन्ने अहम् थियो प्रचण्डजीमा । तर राजनीति यति धेरै अघि बढिसक्दा पनि उहाँमा वास्तविकता स्वीकार गर्ने भन्दा त्यही अभिमान प्रदर्शन गरिरहने प्रवृत्तिको निरन्तरता देखिन्छ,’ नेता रिजालले भने ।

युवा अवस्थामै नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको राजनीतिक सानिध्य पाएका वौध्दिक नेता हुन् मिनेन्द्र रिजाल । उनले दृश्य टेलिभिजनसँग कुरा गर्दा समसामयिक राजनीति, कांग्रेसभित्रको पुस्ता र प्रवृत्ति बहस सहित राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रसंगमा पनि महत्वपूर्ण चर्चा गरेका छन् । नेता रिजालसँगको रोचक वार्ताको विस्तृत विवरण हेर्न र सुन्न यहाँ क्लिक गरौं–

ताजा खबर