‘सरकार र न्यायालयमा बिचौलिया, दलाल र भ्रष्ट व्यक्तिहरुको दवदवा छ’ वरिष्ठ अधिवक्ता शम्भु थापा

२०७७ भदौ ३१ बुधबार ११:५१:०० मा प्रकाशित

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीले कहिल्यै नचिनेका व्यक्तिलाई समेत न्यायाधीश नियुक्त गरिएको बताएका छन् । कसैको नाम उल्लेख नगरी थापाले न्याय क्षेत्रमा सत्ता हावी भएको र दलका निकटस्थ व्यक्तिले सच्चा कानूनविद्हरुलाई विस्थापित गरेको भनी असन्तोष प्रकट गरेका छन् । 

सरकारका अंगहरु र न्यायालयमा समेत बिचौलिया, दलाल र भ्रष्ट व्यक्तिहरुको दवदवा रहेकाले वर्तमान व्यवस्थाप्रति नेपाली जनताको विश्वास बस्न नसकेको वरिष्ठ अधिवक्ता थापाको विश्लेषण छ ।

न्यायालयमा अयोग्य र अनुभवहीन व्यक्तिहरु पुगेकाले न्याय सम्पादन नै बिग्रिएको, कानूनी समुदायले चिन्दै नचिनेका मानिसहरुलाई राजनीतिक प्रभाव र स्वार्थले नियुक्त गरिएकाले अदालतका सबै तहमा बिकृति बढेर गएको थापाको भनाई छ । 

 नेपाल बार एशोशिएशनका पूर्व अध्यक्ष थापा २०६२/०६३ को जनआन्दोलनमा अग्रणी भूमिका रहेका एक नागरिक नेता  हुन् । उनका बिचारमा सत्तामा बसेका दल र नेताले संविधान अनुकूल काम गरेनन् बरु आफू अनुकूल हुनेगरी संविधानको दुरुपयोग गरेका छन् । जसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रले संस्थागत आधार पाउन सकेको छैन ।

राजनीतिक परिवर्तनपछिका सरकार र प्रमुख प्रतिपक्ष सहितका दलहरुले जतिसुकै फुर्ति लगाएपनि जनताले पत्याउन नसकेको वरिष्ठ अधिवक्ता थापाको निचोड छ । जनताका समस्या सरकार र दलहरुको प्राथमिकतामा पर्न नसकेकाले निराशा बढेको बताउँदै थापाले भने– ‘जनताले नपत्याएसम्म जुनसुकै परिवर्तन पनि टिक्न र चल्न सक्दैन । जनताले पत्याउनु त पर्यो नि !’

वरिष्ठ अधिवक्ता थापाले देशका समसामयिक चर्चाका बिषय र न्याय क्षेत्रका समस्या सम्बन्धमा खुलेर ‘दृश्य टेलिभिजनसँग कुरा गरेका छन् । 
वरिष्ठ अधिवक्ता थापाको रोचक विश्लेषण सुन्न यहाँ क्लिक गरौं :   

ताजा खबर