क्याप्टेन वेद उप्रेतीको सफलताको कथा

२०७४ कार्तिक २२ बुधबार ११:३०:०० मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । कसैले नगरेको नयाँ काम गरेर उदाहरण प्रस्तुत गर्नु पो काम हो त भनेर गफ गर्न त निकै मजा आउँछ तर काम फत्ते गरेर देखाउनु चैं गफ गरेजस्तो सजिलो हुँदैन । यस्तै सुन्दा गफ गरे जस्तो लाग्ने र कतिपय मान्छेलाई पत्याउन पनि गाह्रो हुने नौलो काम फत्ते गरेर देखाएका छन् एकजना साहसी नेपालीले । यस्तो नयाँ काम गरेर चर्चामा रहेका ती नेपाली नगारिक हुन् क्याप्टेन बेद उप्रेती । आकाशमार्गबाट संसारको फन्को मारीसकेका क्याप्टेन उप्रेतील आफ्नै पहलमा सात करोड लगानी गरेर राजधानीमा ‘एभिएसन म्युजियम’ स्थापना गरेर चर्चामा    छन् ।  धनगढीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरिरहेको संस्था वेद उप्रेती ट्रष्टका  प्रमुख कार्यकारी अधिकृत वेद उप्रेतीले अन्तराष्ट्रिय विमानस्थलको छेउमै विश्वकै ठूलो मानिने टर्किस एयरको जहाज ल्याएर यस्तो साहसिक काम गरेका हुन् ।

उनले टर्किस एयरको एयरबस ३३० लाई एभिएसन म्युजियम बनाएका हुन् । करिब २५ अर्ब ६४ करोड मूल्य पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौंमा अवतरण गर्ने क्रममा विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको थियो । सो विमानलाई उप्रेती ट्रष्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा संग्रहालय बनाउने सोच राखेको थियो । एभिएसन म्युजियमलाई ५ खण्डमा विभाजन गरिएको छ । बिमानमा बैठक कक्ष पनि छ । म्युजियमको स्वागत हलमा सोही विमानको ग्लास ककपिट र जहाजको मोडल राखिएका छन् ।

म्युजियम अवलोकन गर्न नेपालीको लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीले ६ सय रुपैयाँ तिर्नुपर्नेछ । संग्रहालय विमान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछ । सुरुवातको पहिलो महिनामा नेपालीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अपांगता भएकाहरुलाई १५० रुपैयाँ शुल्क तय गरिएको छ । अन्य विद्यार्थीका लागि पनि ५० प्रतिशत मात्रै प्रवेश शुल्क लाग्नेछ । यसै सेरोफेरोमा रहेर वेद उप्रेती ट्रष्टका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेतीसँग सरल पत्रिकाले गरेको यो कुराकानीको सार:

कहिले सुरु भयो 

यो सुरु भएको करिब एक वर्ष जति हुन लाग्यो । 

लक्ष्य 

मुख्य चाहि म आफु घुम्न मन पराउने यात्री, फोटोग्राफर र पाइलट पनि भएको हुनाले एउटा एरियल फोटो ग्यालरी बनाउनु पर्छ भन्ने सोच थियो । त्यसबेला कस्मिक एयरको फोकर १०० एयरपोर्टमा देखेपछि त्यसलाई चाहि बनाउने हिसाबले एउटा पर्यटक आउने पनि होस् र आफ्नो ठाउँमा धनगढीमा लगेर बनाउनु पर्यो भन्ने सोच आयो । तीन वर्ष पहिला त्यहाँ हामीले बनायौं र जब टर्किस यहाँ ग्राउन्डेड भयो त्यसपछि हामीले यसलाई पनि काठमाडौं कै केन्द्रबिन्दुमा राखेर म्युजियम बनाउने सोच आएको हो ।

प्रेरणा हो कि रुची 

अब मैले केही न केही आफ्नो देशको लागि गर्नुपर्छ भन्ने भित्र देखि कै सोच पनि हो ।  त्यसपछि आफ्नो रहरका हिसाबले चाहि मलाई फोटो खिच्न एकदमै मन पर्ने । अर्को अहिलेका बिद्यार्थीहरुलाई यस्तो कुराहरुले धेरै प्रेरित पनि गर्छ र यो एउटा नयाँ पर्यटकीय स्थल पनि बन्यो ।

स्रोत

हामीले पहिला सात करोडको अनुमान गरेका थियौं तर अहिले आएर काम धेरै बढ्दै गएको हुनाले सात करोड खर्च भइसकेको छ । 

चुनौति

धनगढीमा बनाउँदा खासै गाह्रो भएन । धनगढीमा सानो बजेटको पनि थियो । करिब डेढ करोडको मात्र प्रोजेक्ट थियो । त्यसैले पनि धनगढीमा खासै गाह्रो भएन तर यहाँ चाहिँ धेरै गाह्रो भयो । यहाँ   आधिकारिक रुपले भनौं या प्राविधिक हिसाबले यो ठूलो जाहज भएको हुनाले पनि यसको पार्टपुर्जा भेला गर्न मिलाउन अनि ल्याउन धेरै नै गाह्रो भयो । एयरपोर्टबाट सिनामंगल ५०० मिटरसम्म लिएर आउन पनि धेरै गाह्रो भयो ।

जग्गा 

यहाँ पहिला घाँस नै घाँस थियो । यो त्यतिकै छोडिएको जग्गा थियो । मुख्य त नागरिक उड्डयन प्राधिकरणको पनि लक्ष्य हो कि आउँदो पुस्तालाई प्रेरित गर्ने । सिनामंगलस्थित आठ हजार वर्ग फिट जग्गामा उक्त म्युजियम बनाइएको हो । दश वर्षे साझेदारी रहेको म्युजियमले मासिक प्रति वर्र्ग िमटर   ६०० रुपैंयाँ तिर्नुपर्नेछ । आर्थिक हिसाबमा सरकार र कुनै पनि एनजिओ र आइएनजिओले सहयोग गरेको छैन । बरु नागरिक उड्डयन प्राधिकरणले सहयोग गरेको छ ।

म्युजियममा भित्र के छ ?

एभिएसन म्युजियमभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका ३५० भन्दा बढी ‘मिनिएचर’ मोडेल एयरक्राफ्ट राखिएको छ । एयरबस–३३० को ग्लास ‘ककपिट’, आधुनिक युद्धक विमान, सयौँ व्यापारिक एयरलाइन्सका विमान, नेपालको हवाई सेवा र नेपाली आकाशमा उडेका जहाज, इक्वीरेल हेलिकोप्टर आदिबारे कैयौँ ज्ञानवद्र्धक जानकारी उपलब्ध छ । त्यसैगरी, एभिएसनको इतिहास, नेपालका महत्वपूर्ण प्राकृतिक सम्पदा, धार्मिकस्थलका तस्वीर समेटिएको एरियल फोटोग्राफीका तस्वीर प्रदर्शनीमा छ ।

म्युजियमको सोच

अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड विमानलाई धावनमार्गबाट २०० मिटर परसम्म लैजान चार दिन लागेको थियो, जसले गर्दा विमानस्थल चार दिन बन्द भएको थियो । विशाल विमानलाई विमानस्थलको पूर्वी भागबाट संग्रहालय बनाइएको स्थानसम्म लैजान र जोड्न दर्जर्नौ स्वदेशी तथा विदेशी प्राविधिकले लगातार चार महिनासम्म काम गरेका थिए । जम्मा नौ महिनामा म्युजियम तयार गरिएको हो । विमान खोल्न र जोड्नमात्रै एक लाख अमेरिकी डलर लाग्यो । यो एयरबसको लम्बाइ २०८ फिट, पखेटाको लम्वाई १९७ फिट र उचाइ ५६ फिट छ । 


 

ताजा खबर