संसदीय उपसमिति खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमनमा

२०७७ भदौ २६ शुक्रबार ११:३६:०० मा प्रकाशित

भक्तपुर । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ ।

    उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको बिहिबार अनुगमन गरेको हो । कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामको प्रभावकारिता अनुगमन गर्न गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित आइसोलेसनको अनुगमन गर्दै यहाँ रहेका कोरोना सङ्क्रमितको अवस्था, खानपान, सरसफाइ र उपचारबारे जानकारी लिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइपर््न् ।

    खरिपाटीको आइसोलेसनमा बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड अनुरूपनै भइरहेको पाइएको अनुगमन उपसमितिका संयोजक श्रेष्ठले बताए। अनुगमन टोलीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा प्रेमराज ज्ञवालीले कोरोना ‘हब’को रूपमा भक्तपुर अस्पताल सञ्चालन भइरहेको जानकारी गराउँदै अस्पताललाई पिसीआर मेसिन उपलब्ध गराइदिन अनुरोध गरे। 

    अनुगमन टोलीलाई भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यहाँको आइसोलेसनमा भइरहेको गतिविधि र व्यवस्थापनबारे जानकारी दिईन् । उनले खरिपाटीमा आइसोलेसन सेन्टरको उचित व्यवस्थापन भए पनि कोरोना भाइरस परीक्षणका लागि पिसीआर मेसिन नहुँदा नतिजाका लागि धेरै कुर्नु पर्ने भएकाले उक्त मेसिनको व्यवस्था गरिदिन टोलीलाई आग्रह गरिन् । 

    टोलीले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले तयार पारेको आइसोलेसन, भेन्टिलेटरसहितको आइसियु र पिसीआर परीक्षण गर्ने ल्याबको अनुगमन गरेको थियो । टोलीलाई नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना सङ्क्रमण रोक्न र सङ्क्रमितको उपचारका लागि नगरपालिकाले गरेको तयारीका बारेमा जानकारी गराएका थिए । रासस
–––

ताजा खबर