निषेधाज्ञा खुकुलो पारिए संक्रमण भयावह हुने सुरक्षा सुझाव

२०७७ भदौ २४ बुधबार ११:५३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आज भदौ २४ गते बुधबार रातिबाट सकिँदैछ । अब यसपछि के हुन्छ भनेर सर्वत्र जिज्ञासा देखिन्छ । यतिन्जेल सरकारले कुनै नयाँ कार्यक्रम घोषणा गरेको छैन । उपत्यकाका महानगरपालिकाले नाकाहरुमा सेना तैनाथ गर्न र परीक्षणमा तिव्रता दिन माग गरिसकेका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनले के सुझाव दिन्छन् त्यसैलाई गृह मन्त्रालयले लागु गर्ने तयारी भैरहेको बुझिएको छ ।

आजसम्म जारी निषेधाज्ञाकै शर्तहरुमा केही परिमार्जन गरेर कार्यान्वयन गर्ने तयारी भईरहेको काठमाडौं जिल्ला प्रशासन सूत्रले बताएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्न लागिएको बताईएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको दाबी गरेका छन् । उनले  ‘निषेधाज्ञा’ केही परिमार्जन गर्ने वा यथावत् राख्ने विषयमा बुधबार मात्र निर्णय हुनेछ । दाहालले निषेधाज्ञा परिमार्जन गरिएसंँगै आउन सक्ने सम्भावित महामारी सङ्क्रमणसम्बन्धी समस्या र चुनौतीका विषयमा छलफल जारी रहेको बताएका छन् ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच मङ्गलबार निषेधाज्ञाको विषयमा छलफल भएको थियो । छलफलमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा छलफल भएको थियो ।

निषेधाज्ञा परिमार्जनका विषयमा उठेका विषयमा थप स्पष्ट पार्न तथा परिमार्जन गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह सचिव महेश्वर न्यौपानेसँंग मङ्गलबार छलफल गरेका थिए । दशैं, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्व नजिकिँदै गएकाले कोरोनाको महामारी भयावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी भएको छ ।

एक सुरक्षा अधिकारीका अनुसार निषेधाज्ञा परिमार्जन गरिएसँंगै उपत्यकामा कोरोना सङ्क्रमण भयावह हुने सम्भावना छ तर त्यस्तो अवस्था आउन नदिन पीसीआर परीक्षण, क्वारेन्टाइन र सङ्क्रमितका लागि आइसोलेसनको व्यवस्था गर्ने विषयमा गम्भीर छलफल भएको छ ।  

ताजा खबर