झलनाथको सर्प मोहको रहस्य !

२०७७ भदौ २१ आइतबार १२:३६:०० मा प्रकाशित


सर्प दंशका विरामीको उपचारका लागि चाहिने एन्टी भेनम सर्पकै विषबाट बनाइन्छ र त्यसका लागि सर्पको खाँचो पर्छ । सर्पको विष निकाली घोडामा इन्जेक्ट  गरीन्छ र घोडाले भेनमसँग लड्ने एन्टी बडी तयार गरेपछि त्यसलाई एन्टी भेनम सिरमका रुपमा तयार गरीन्छ, जुन सर्पदंशका विरामीलाई सुइमार्फत स्लाइन पानीमा राखेर दिइन्छ । मुलुकका विभिन्न क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापना गरी त्यहाँ एन्टीभेनम उपलब्ध गराउने हो भने वर्षायाममा धेरै मानिस सर्पदंशबाट मर्ने थिएनन् । यो काम नास्ट या कुनै स्वास्थ्य निकायले गर्ने हो । 

झलनाथजीको सर्प पालनको फण्डा यसखालको होजस्तो मलाई लागेन । मासु या छालाको प्रयोजनले सर्प पालन गर्न खोजिएको हो भने त्यो गलत हो । सर्पलाई मार्नु नै गलत हो । सर्पको प्रजनन, विकास र विस्तार प्राकृतिक हुनुपर्छ, अनि मात्र यसले इकोसिस्टममा सघाउँछ । सर्प पाल्ने नै हैन, बरु जंगलमा भएका सर्प समातेर ल्याउने, त्यसको विष निकालेर संग्रह गर्ने र त्यसबाट इन्टीभेनम बनाई सर्पलाई पुनः प्राकृतिक बासस्थानमै छाड्ने हो । कुनै घरमा सर्प भेटियो भने रेस्क्यू टोलीले समाती, विष सँकलन केन्द्रमा ल्याइ विष निकाली फेरी जंगलतिर छाड्ने हो । प्रकृया यही हो । कुखुरा, खसी, बाख्रा, बँगुर झैं सर्प पाल्नु गलत हो । 

झलनाथ खनालजीले आफ्नै इलाममा नेपाली चियाको प्रर्वधनमा के गरे ? इलाम र झापाका चियामा भारतीय माफीयाको हैकम छ र उनीहरु हाम्रो चियालाई दार्जीङिको चिया भन्दै ब्रान्डीङ गरीरहेका छन् । यसैगरी अलैंची, अदुवा, अम्लीसो, अल्लो, अकबरे खुर्सानी, अर्थोडक्स चिया, अन्तु डाँडा र पूर्वका आमजनताको हितमा जेएन कमरेडले हालसम्म के पुरुषार्थ देखाए ? एकाएक उनमा सर्प पालनको सोच कसरी पलायो ? 

कतै सर्पका छाला, विष, दन्त, मासु आदिका लागि सक्रिय अन्तर्राष्ट्रिय गिरोहले यसखालको वैधानिक गिरोह (लिगल माफीया) खडा गर्न लागेको र त्यसमा शिर्ष राजनीतिक नेतृत्वको दुरुपयोग गरेको पो हो की ? यो शंकाको निवारण सम्बन्धित पक्षले गरोस् । 

अँ, सर्पलाई नकारात्मक विम्ब नबनाउँ, सर्प हाम्रा साथी हुन् । नजिस्क्याए तिनले टोक्दैनन्, तर अमृतको प्यालामा विष राखेर खुवाउने आजको भ्रष्ट र जनघाती राजनीतिको सर्पजस्तै टाउकोमा भाला घोच्ने कहिले ?

(पत्रकार कुसुम भट्टराईको समसामयिक टिप्पणी र प्रशिध्द कार्टुनिस्ट रविन सायमीको कार्टुन समेत उनको फेसबूकवालबाट साभार) 

ताजा खबर