ओलीले जेलको गीत गाएर पुगेन

२०७७ भदौ २१ आइतबार १०:०३:०० मा प्रकाशित

सत्ता शक्ति यस्तो सम्मोहनकारी छ कि, एकपटक मात्रै पनि त्यस आसनको स्वाद चाखेपछि अलि ठूलै राजनीतिक प्रलय नआइकन प्रायजसो शासनाधिकारी त्यसवाट विमुख हुन चाहेको देखिदैन । यस्तो राजनीतिक दुष्प्रवृत्तिको प्रभाव संसारका अधिकांश अल्पविकसित र विपन्न मुलकमा देखिन्छ । त्यसको एउटा जाग्दो उदाहरण नेपाल पनि हो ।

जनमत संग्रहताका सूर्यबहादुर थापा नेपालका प्रधानमन्त्री थिए । जनमत संग्रहलाई पञ्चायतको पक्षमा पार्न त्यसबेला थापाको अहम् भूमिका थियो भन्ने कुरा लुकाएर लुक्ने बिषय होइन । तर, त्यसले नेपाली जनमानसमा पञ्चायत विरोधी जनमत सिर्जना गर्न प्रत्यक्ष परोक्षरुपले बल पुग्दै गएको पनि त्यतिकै सत्य थियो । सोझै राजतन्त्र विरोधी जनमत निर्माण हुने अवस्था आइनसकेको स्थितिमा विरोधको तारो बन्ने पालो तत्कालीन प्रधानमन्त्री थापाको थियो ।

नेपाली जनजनमा थापा आलोचनाका पर्याय बनेका थिए । पञ्चायतकै एउटा ठूलो तप्का समेत थापाको विरोधमा थियो । काङ्ग्रेस कम्युनिष्टले त थापाको बुख्याँचा बनाएर तोप हान्ने उद्यम जोडतोडले गरिरहेकै थिए । थापा त्यसअघि पनि प्रम भइसकेका सत्ता शक्तिका खेलाडी नै भए पनि यसपल्ट उनको साख गिर्दो रफ्तारमा थियो । स्कूले बालबालिका समेत उनलाई अनेक भाँतिका आलोचना गर्दै विद्यालय गइरहेका भेटिन्थे । तर, सूर्यबहादुरलाई आफ्नो गिर्दो मर्यादाको हेक्का भए पनि नभए पनि उनी प्रमको आसनबाट टसमस गरिरहेका थिएनन् ।

मानिसको रगत चाखेको बाघ जस्तो सत्ताको असीमित सुखसयल, राष्ट्रिय स्रोत साधनको दोहन, सत्ता अहंकार र आफ्ना आसेपासे एवम् अनुयायीको स्तुतिगानले उनको एकाग्रता निकै पछाडि मात्र भंग भएको थियो । थापा २०४६ सालको जनआन्दोलनपछि बनेको एउटा सरकारमा आश्चर्यजकरुपले फेरि प्रधानमन्त्री बने । तर, जन्मजात पञ्च भएर जीवन बिताउँदै आएका थापा त्यसपछि दोहोर्याउँदै तेहेर्याउँदै प्रमको कुर्सीमा आसन भए पनि उनको ओझ फर्किन सकेन ।

सूर्यबहादुर थापालाई आज पर्यन्त नेपाली जनमानसले सत्तालुब्ध राजनीतिक षड्यन्त्रकारीको रुपमा सम्झिने गर्छ । आफ्नो राजनीतिक जीवनको अधिकांश समय दरवारको सेवकको रुपमा बिताएका थापाले अकुत सम्पत्ति थुपार्ने, आफ्ना नातागोता र अनुचरको निम्ति पदको दुरुपयोग गर्ने तथा दरवारका निम्ति ऐन मौकामा जस्तोसुकै षड्यन्त्र गर्न पनि सक्ने व्यक्तिका रुपमा आफ्नो मुुल पहिचान बनाएर जीवन बिसर्जन गरे । सत्ता र शक्तिको मादकताले आफूलाई एक राजनीतिक बिदुषकमा परिणत गरेको उनले कहिल्यै पत्तो पाएनन् ।

सूर्यबहादुरपछि नेपालको राजनीतिक सत्तामा सर्वाधिक पटक प्रम भएर आसन जमाउने व्यक्ति गिरिजाप्रसाद कोइराला हुन् । कुनै भूमिका नबाँधी भन्दा तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने अवसर कोइरालालाई प्राप्त हुन्थेन भने उनी पनि नेपाली जनताले सम्झिरहनु पर्ने राजनीतिक पात्र हुन्थेनन् । आफ्नो राजनीतिक संस्था पनि माओवादी हिसांत्मक विद्रोहमा लपेटिएर जाने भएकाले हो या हिंसात्मक विद्रोहले मुलुकको अध्यारो भविष्य आँकलन गरेर हो, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने तत्परताले कोइरालाको छविलाई केही हदसम्म सुधारेकै हो ।

तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने अवसर कोइरालालाई प्राप्त हुन्थेन भने उनी पनि नेपाली जनताले सम्झिरहनु पर्ने राजनीतिक पात्र हुन्थेनन् ।

नत्र त कोइरालामा भरिएको असीमित सत्तामोह, विपक्षी बिचारप्रतिको असहिष्णुता, पार्टीभित्रका तर आफ्नो गुट बाहिरका नेता कार्यकर्ताप्रति तीव्र घृणा, राजसी ठाँट, भौतिक सम्पति एवम् बिलाशितामा असिम मोह जस्ता चारित्रिक बिशेषताले उनलाई उच्च मर्यादायुक्त राजनेताको रुपमा कमैले सम्झना गर्दछन । आफ्नै सहयात्री कृष्णप्रसाद भट्टराई र अग्रज गणेशमान सिंहप्रति तिनको जीवनको उत्तरार्धमा कोइरालाले देखाएको व्यवहार कांग्रेसजनले मात्र होइन, सर्वसाधारण नेपालीले समेत बिर्सिहाल्ने बिषय होइन ।

कोइराला जतिखेर सत्तारुढ जीवनको मध्यान्तरतिर थिए, उनको शासकीय कौशल र इमान्दारिता एकसाथ डगमगाएको थियो । यससँगै कोइरालाको शाखको क्षयीकरण पनि तीव्र बनेको थियो । यसै कालखण्डतिर काङ्ग्रेस विभाजित बनेको थियो र निर्वाचनमा नराम्रोसँग पराजित भएको थियो । मानिसले वर्तमान जीवन मर्यादित ढङ्गबाट बिताउन चाहेन भने बिगतका सबै बहादुरी धमिलो बर्तमानमा हेलिदै समाप्त हुन बेर लाग्दैन ।

जीवनको उत्तरार्धतिर कोइरालाले मुलुकलाई शान्तिको मार्गतर्फ डोहोर्याउने अवसर पाउनु उनको शौभाग्य हो, जसको धिपधिपेले मरणोपरान्त पनि उनलाई केही उज्यालो दिएको छ । तर, सबै राजनीतिक मुखियाहरुलाई यस्तो अवसर हात लाग्दैन । हठ या सत्ता अहंकारकै कारण कोइरालाले नेपाली काङ्ग्रेस विभाजनको रमिता टुलुटुलु हेरे । तर, आफुलाई सुधारेर विभाजन रोक्ने प्रयास गरेको सर्वसाधारण नेपालीले अनुभव गर्न सकेनन् । काङ्ग्रेस विभाजनको दीर्घकालिन प्रभाव नेपाली राजनीतिमा सधैँ खड्किरहने बिषय हो ।

थापा या कोइरालामा निहित चारित्रिक अवगुणले नेपालको राजनीतिमा दुष्प्रभाव छोड्ने क्रम रोकिएको छैन । वर्तमान प्रधानमन्त्री केपी ओली यसका ताजा उदाहरण हुन् । केपी शर्मा ओलीमा गिरिजा शैलीका विशेषता शक्तिशाली ढंगबाट प्रवृत्त रहेको नेपाली राजनीतिक जानिफकारहरुको आँकलन रहेको छ ।

आफ्नो हुँदो हुँदैन भने जस्तोसुकै अप्रिय, अलोकप्रिय र स्वेच्छाचारी कदम उठाउन पनि ओली पछि हट्दैनन् भन्ने पछिल्ला उनका कदमले प्रष्ट्याउँदै छन् । घटना विशेषको उल्लेख गर्नुको अर्थ पनि रहेन ।

एकपटक वर्तमान प्रम केपी शर्मा ओली झापा आएको बखत सञ्चारकर्मीहरु सँगको भेटमा कसैले प्रमको औपचारिक शैक्षिक योग्यताका बिषयमा प्रसङ्ग उठाइदियो । ओली त्यसबेला प्रम रहे पनि नरहे पनि पार्टीको शीर्ष नेतृत्वमा थिए नै । स्वभाविक रुपले नेतृत्व तहमा रहेका उच्च व्यक्तित्वका बारेमा यदाकदा यस्ता प्रश्न तेर्सिन्छन नै । त्यो प्रश्न नउठाउँदा पनि हुने नै थियो । त्यसबाट कुनै ठूलो रहस्य उजागर हुने थिएन । र जब प्रश्न उठि नै हाल्यो भने नेताले त्यसलाई स्वभाविक रुपमा लिएर जिज्ञासा मेट्नु पर्दथ्यो । तर, त्यसवेला ओलीले गौैतम बुद्धले कति पढेका थिए भन्ने ओठे जवाफ दिएर आफूभित्रको कुण्ठालाई प्रकट गरे ।

उनले झण्डै झण्डै आफूलाई बुद्धसँग तुलना गर्दै दिएको जवाफ आजका दिनसम्म पनि झापाली सञ्चारकर्मी माझ चर्चित छ । वर्तमान प्रमको प्रेससँगका यस्ता अनुदार प्रसङ्ग अरु पनि कयौँ छन् । तर, आफ्ना र आफनो पार्टीे गुटका लागि ओली जत्तिको उदारता भएको नेता पाउन गाह्रो छ । आफ्ना सामान्य आलोचक र विपक्षी पार्टी प्रतिको असहिष्णुतामा ओलीले समकालिन राजनीतिमा भने सबैलाई उछिनेको घटनाक्रमले प्रस्टयाएकै छन् ।

आलोचक मात्र होइन, स्वस्थ्य आलोचना पनि सहन गर्न नसक्ने तर निरपेक्ष आफ्नो भजन गाउनेहरुको उत्थानमा राज्यका नियम कानुन, प्रक्रिया, पद्धति र परम्परा आदिलाई धोती लगाउने ओली शैलीबाट उनको पार्टी भित्रकै ठूलो पङ्ति आजित भएको छ । बिचौलियाको शक्तिशाली पहुँच, अनियमितता, भष्टाचार नातावाद कृपावाद, दण्डहीनता एवम् कमजोर आन्तरिक सुरक्षा ब्यवस्था यसै पनि ओली नेतृत्व सरकारका विशेषता बन्दै गएका छन् ।

पद सुरक्षित गर्न ओलीको चातुर्य जसलाई उनकै पार्टीका सहकर्मीहरु षड्यन्त्रको संज्ञा दिन्छन, आदिको पनि पनि गजवसँग उजागर भएको छ यसपटक । ओलीलाई एकपटक मात्र रिझाउन सकियो भने थुप्रै बर्ष आरामको जिन्दगी चल्छ भन्छन्, उनका प्रशंसकहरु । प्रम ओली आफू त झण्डै बुद्ध बराबर नै भइहाले आफ्नो विश्वासिलोहरुको झुण्डलाई पनि उनले लगातार शक्तिपूर्वक जीवन जीउने काइदा सिकाउँदै गएको प्रष्ट हुन्छ ।

मुलभूत कुरा सम्मोहनकारी सत्ता शक्तिमा कसरी टिकिरहने भन्ने काइदा नेपालको राजनीतिमा ओलीले भन्दा अरुले राम्ररी सिकाउन सक्ने देखिदैन ।

ओली अहिले राज्यसत्ता र पार्टीको पनि प्रमुख नभए मुलुकमा कत्रो ठूलो रिक्तता आउँछ भन्ने मनोविज्ञान निर्माण गर्नु नेकपाभित्र ओली नेतृत्व गुटको सबैभन्दा ठूलो सफलता हो । यही ओली दर्शनमा टेकेर अहिलेको सरकार र नेकपा सुखी नेपाली सम्वृद्ध नेपालको महान् अभियानमा जुटेको छ ।

प्रम ओलीले बारम्वार १४ बर्ष जेल बसेको तर्कना गर्ने गरेका छन् । कहिले काहिँ त उनको सम्मोहनकारी भाषण सुन्दा यस्तो लाग्छ कि ओली मात्रैले १४ बर्ष जेल जीवन नबिताएको भए आजको नेपाल यो स्थानमा पक्कै आउने थिएन । जे भए पनि ओलीले परिवर्तनका लागि गरेको त्याग बिर्सिने बिषय भने होइन । तर, आज प्रम ओलीको गिर्दो शाख जोगिन जेल जीवनको गीत मात्र पर्याप्त होला ? प्रम ओलीलाई पनि आफ्नो ओज कायम राख्न कोइरालालाई जस्तो कुनै दुर्लभ अवसर जुट्न गयो भने त के जान्नु, नत्र त ओलीको अधोगति न प्रधानमन्त्री नत पार्टीको शक्तिशाली आसनले रोक्न सक्ला । (पत्रकार बरालको यो विश्लेषण झापाको विवेचना दैनिकको अनलाईन संस्करण www.bibechana.com ले प्रकाशन गरेको छ ।)

ताजा खबर