कोरोनाबाट थप ५ को मृत्यु

२०७७ भदौ २० शनिबार ११:४०:०० मा प्रकाशित

काठमाडौं । देशका विभिन्न स्थानमा कोरोना भाइरस संक्रमितको ज्यान गएको खबर छ । बिराटनगर, बुटवल र पर्सामा संक्रमित ५ जनाको ज्यान गएको थाहा भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया  कोरोना संक्रमित महिलाको शनिबार बिहान मृत्यु भएको हो। ज्वरो र श्वासप्रश्वासको समस्या देखिएकी  ती महिलालाई  भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरको सहायतामा आइसीयूमा राखेर उपचार भइरहेको बेला ती महिलाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुष कोरोना संक्रमित पुरूषको गएराति ११ बजे मृत्यु भएको हो। ती पुरूष भदौ १५ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेका बेला शुक्रबार राति उनको मृत्यु भएको हो ।

यसैगरी धरानमा उपचाररत विराटनगरकी एक संक्रमित महिलाको पनि निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत विराटनगर महानगरपालिका ११ की ४३ वर्षीया महिलाको शुक्रबार राति निधन हो ।

उनलाई भदौ १८ गते अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सुरूमा ती महिला  विराटनगरको न्यूरो अस्पतालमा गएकी थिइन् । त्यहाँ स्वाब संकलन गरेर परीक्षण गर्दा भदौ १७ गते संक्रमण पुष्टि भएपछि प्रतिष्ठान रिफर गरेर उपचार थालिएको थियो ।

शुक्रबार निधन भएकी  विराटनगर महानगरपालिका ४ की महिलामा पनि संक्रमण पुष्टि भएको छ । ती महिलाको शुक्रबार कोशी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । शनिबार स्वाबको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यसैगरी पर्साको पकाहामैनपुर गाउँपालिकाका ७५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शुक्रबार राति निधन भएको छ । ती पुरूषको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा शुक्रबार राति  निधन भएको हो ।

भदौ ५ गते संक्रमण पुष्टि भएपछि ती पुरूषलाई अस्पताल भर्ना गरिएको थियो । उनी क्षयरोग र निमोनियाले ग्रस्त थिए ।

ताजा खबर