कृष्णप्रसाद कोइराला भन्सार उठाउन हिँड्ने बाटो र बास बस्ने ठाउँहरुको सम्झना

२०७७ भदौ १६ मंगलबार १५:४५:०० मा प्रकाशित

ऐयाबारीदेखि बाहुनडाँगी एकदिन यात्रा....
 
२०३७ सालको माघ महिना। तराई माघ महिनामा गजब घमाइलो र रमाइलो हुन्छ। त्यतिबेला ऐयाबारीमा भर्खर फडानी भएर जंगल उघारेर त्यहाँका सखुवाका काठपात सूर्यबहादुर थापाले बोर्डर कटाएर ढुकुटी भरिरहेको कुरा त्यहाँका मानिसहरू गरिरहेका थिए, राम जाने!

माथि बाङ्गे स्कुलतिरबाट झर्ने बाटोको छेउको बस्ती भने १९९०को फडानी रे, तसर्थ त्यताका काठका घरहरू सडकमा लाम लागेर बनेकाले पुराना राम्रा थिए। त्यो बाटो चैं पहिला ठेकेदार कृष्णप्रसाद कोइराला भन्सार ठेक्का उठाउन आउने घोडाको सडक भन्थे मानिसहरू त्यही सडकमा टाँगन घोडाबाट नकलबन्दा र बाहुनडाँगी अनि माथि तिरिङतिर जाने सडक भएर गाडागल्ली पूर्वको भन्सार जान्थे रे बिपि कोईरालाका बा भनेर कुरा गर्थे रत्नकुमार कार्कीहरू र जयप्रसाद दाहाल अनि त्यताका गन्यमान्य उतिबेलाका बूढाहरू। सुनेको हो कथा।

बाहुनडाँगी पुगेर बस्ने घर रत्न कुमार कार्कीको । धुलाबारीमा बूढा बास बस्ने घर सिताराम भट्टराईको अनि काँकडभिट्टामा बास बस्ने घर चैँ भैरव आचार्यको र शनिश्चरेमा बास बस्ने घर चैँ धर्मप्रसाद ढकालको थियो अरे भनेर बूढाहरूले कुरा गरेको सुनेको हो तर कति सत्य हो थाहा छैन। बिराटनगरबाट रंगेलीरोड हुँदै पूर्व गएपछि केरौन जाने बाटोबाट पथरी हुँदै दमक, अनि ऐलेको राजमार्ग दक्षिण तोपगाछी, शिवगञ्जबाट झापा बजार शरणामती हुँदै बिर्ताबजार पुगेर बूढा मान्छे बेनुपराज प्रसाईंका बुबाको कामतमा बास बस्न एकै दिनमा पुग्ने रे। चारआली तल दुवागडी भन्ने ठाउँ छ। त्यहाँ शान्तिनगर झापाका गञ्जबहादुर कप्तानको घर र कामतमा पनि लामो बसेर पूर्वका भन्सार पनि हेर्थे रे। यो त मैले स्वयं गञ्जबहादुर कप्तानकै मुखबाट सुनेको हो। वहाँ शान्तिनगर बस्दा म वहाँको ऐनैऐना भएको टिमाई झर्ने बाटोमा सडक उत्तर घर थियोे नामसालिङ ईरौँटार गर्दा मेरा पिताजी वहाँकै घरमा बस्नुहुुन्थ्यो। वहाँका कामतहरूमध्ये एक बहादुर गञ्ज भन्ने बाहुनडाँगीमा पनि थियो। वहाँ र कृष्णप्रसाद कोइराला दौंतरी भएकाले धेरै राम्रो सम्बन्ध थियोे रे। पछिल्लोकालमा बिपि कोइरालालाई पनि ती गञ्जबहादुर कार्कीले धेरै सहयोग पु¥याउने काम गरेको भन्ने सुनेको। निन्दाका महाजन विश्वनाथ घिमिरेलाई पनि कोइरालाहरूले बहुत आदर गर्ने हुँदा कोईराला निन्दा बसी गाडागल्लीतिरको भन्सारको जिम्मा तिनै घिमिरे महाजन विश्वनाथलाई दिन्थे भनेर सुनेको हो।

तसर्थ त्यो ऐयाबारीको बाटो पूर्व एक खोला छ नाम याद भएन। त्यहाँसम्मको बस्ती धेरै पुरानो थियो। उता भने भर्खर फाँडेको। त्यो पुरानो बस्तीमा हाम्रा नातेदार जमिनदार स्व.मेघनाथ दाहालको कामत थियोे। वहाँ मेरी आमा कान्छी, जेठी दिदीका पति भएकोले हाम्रो ठूलो बा हुनुहुन्थ्यो।

प्रसंगवस, मेरा ठूलो बुवा मेघनाथ दाहाल कान्छा मुखियाले पनि त्यही कुरा भन्नु भयो। वहाँहरू पनि मादीका दाहाल कप्तान तेजबहादुर दाहालले पटुवारी वहाँका पिताजीलाई दिई त्यो क्षेत्र हेर्न लगाएको र मालपोत लगायतका आम्दानी उठाई बिराटनगरका बडाहाकिम केशर शम्शेर थापालाई बुझाउन भद्रपुरका ब्यापारी ब्रम्ह बहादुर श्रेष्ठलाई दिई पठाउन ऐयाबारी राख्दा त्यहाँ ४१ रूपयाँ बिघा जग्गा वहाँका पिताले आर्जन गरेको र तेलपानीमा २५० बिघा जग्गा, नकलबन्दा र बाहुनडाँगीमा २०० बिघा जग्गा आर्जेकोमा त्यतिबेला वहाँका भागमा ऐयाबारीमा अठार बिगा, तेलपानीमा असी बिगा र अलिकति बाहुनडाँगीमा रहेको कुरा गर्नु भएको थियोे। त्यो भेगकै धेरै नाम भएकोमा गञ्जबादुर कार्की भएकोले मौजाको नाम महाराज जुद्ध शमशेरले गञ्ज पछि जोडिदिनु भनेकाले बहादुरगञ्ज, निरगञ्ज भएको रहेछ। यस्तो थियोे उ बेला भनेर ठूलोबाले बाटो काट्न गफ गरेको र मैले सोधेको सम्झना भइरहेछ। वहाँले ल हिँड बाहुनडाँगी बाटाको साथी पनि हुने भनेर म त्यो दिन सोधखोज गर्दै त्यता जादाँ यति जानकारी भएको थियो। वहाँका अनुसार मैले एकपटकमात्र कार्की महाजनको घरमा विपिका बुवालाई देखेको हो , घोडाचैँ यहीबाटो कुदाउने भन्नुहुन्थ्यो । कार्की महाजन भनेका रत्न कुमार कार्कीका बुबा रहेछन्।

बाटो तन्कँदै बाँङ्गेको स्कुल पुगेपछि वहाँले यो स्कुल भूपालमान सिँह कार्की कठामालका लप्टन बिर्ताबजार आएपछि खुलेको र बाहुनडाँगीको पनि उनले झापामा धेरै काम गरे भन्नुभयो।

हाम्रा ठूलो बा निकै स्मार्ट गोरा राम्रा बिस्तारै बोल्ने कामको बाहेक फाल्टु गफ पटक्कै नगर्ने हुनुहुन्थ्यो। वहाँले “२०१८ सालमा बिघाको ५५ रुपैंयाँले निरगञ्जामा जग्गा पाइन्थ्यो तिम्रा बासँग २५००भारू रहेछ। मैले जग्गा लिनु भाइ भन्दा मान्नुभएन र रुपैयाँ ब्याजमा लाउनुभयो। ऐले जग्गा लिएको भए तिमीहरूलाई कति राम्रो हुनेथियो। पटक्कै सल्लाह नमान्ने वहाँ भन्नुभयो” । यो कुरा मामाहरूले पनि भन्नुहुन्थ्यो। मैले भने देखेकोले नहुने लेखेको चाहिने होला नि त ठूलो बा भने। वहाँले होइन “पटक्कै सल्लाह नमान्ने हेर त्यो पैसा पनि सिद्धियो” भन्नुभयो। सल्लाह दिँदा नमानेपछि वहाँकहाँ जाँदै नजाने रे। पछिसम्म तिम्रो आमालाई किनाउ पनि भनें। नमानेपछि मैले पनि के गर्नु भन्नू भयो। खासकुरा चैँ त्यता त्यतिबेला औलो लाग्छ भनेर मेरा पिता पन्छिनु भएको चर्चा वहाँले भन्नुभएको थियो।

वहाँ मुखिया साह्रै सज्जन र भलाद्मी मान्छे। दुरदर्शिता वहाँको मान्नै पर्ने। “तिमीसँग कति पैसा छ, जम्मा गरेनौं अलिअलि ऐले पनि सस्तैमा पाइन्छ २–४ हजार म हालिदिउँला १–२ बिगा किन भन्नु भयो। ठूलो बा मसँग शिक्षकको तलव कति हुन्छ र जग्गा किन्नु हैट् कल्पना पनि गर्न सकिन्न भने। वहाँले “बेचिदेउ त्यो पहाड भन्नुभयो।” बेच्ने मेरा पिताजीकै बसमा छैन सगोल सम्भव छैन भने। वहाँले त्यसपछि भन्नु भएन। तर वहाँको सल्लाहले आफ्नो मान्छे हुनेखाने सम्पन्न बनुन् भन्ने प्रस्ट धारण थियोे वहाँमा भन्ने मैले बुझेको थिएँ। थपथाप म गरिदिन्छु समेत वहाँले भन्नु भयो। तसर्थ आफ्नो मान्छेलाई सकेसम्म च्याप्ने वहाँको जस्तो गुण सबैमा हुँदैन। तर मेरो सामथ्र्य नै त्यो बेला भएन।

हँसिलो मिजासको वहाँ। धेरै पुराना बडाहाकिमहरूकाबारेमा, जिमुवाल, काजी यस्तै रणाकाल, औलका बिषयमा वहाँले ऐतिहासिक कुराहरू गर्नु भएको थियो। बिस्तारै हामी वहाँको नरिवल र सुपारीले चिटिक्क सजिएको सडक दक्षिणको हवेलीमा पुग्यौं।

त्यो घरमा वातावरण शान्त थियो। गाई, भैंसी गुवालीमा थिए। तिनको हेरचाह गर्ने कोही कामदार थियो। धानको व्यापार गर्ने टाँगिएको काँटा प्राङ्गणमा झुन्डिएको थियोे। त्यसको काम गर्ने मान्छे पनि अलग्गै थियो। गोदामभरी हजारौँ मन धान थियो। किचनको काम गर्ने भाञ्से अरु कोही थियो। भाँडा वर्तन सफा गर्न अरुनै थिए। यसरी एउटा सुखी जीवन चलेको रमाइलो परिवेस। जेठा छोरा गणेश दाहाल सायद त्यो बेला तेलपानीको खेतीपाती र राइस मिल चलाएर उतै बस्नुहुन्थ्यो। माईला जीवन दाहाल दाइ इलाममा आईए पढेर बिए पढ्ने क्रममा चन्द्रगढीतिर बस्ने। जेठी छोरी शुभद्रा दिदीको भद्रपुरका दिब्यराज भूर्तेलका साथ विवाह भैसकेको थियो। माईली शारदाको विवाह पनि भद्रपुरतिरै सम्पन्न भै सकेको। अब सानी भनिने साँईली छोरी सुष्मा अनि हाँस्दा फिसिक्क अलिकति थोरै बाँङ्गो मीठो हाँसो हाँसिदिने सबैकि कान्छी बहिनीको पनि विवाह गर्ने उमेर नै भईसकेको थिएन। उनी त्यतै कतै पढ्दै थिईन् क्यारे। कान्छो छोरा खर्साँङतिर पढ्दै थिए।

भोलिपल्ट सुपारीका बोटमा बासबसेका चराहरुले सबैको निन्द्रा छुटाए पछि हामी उठ्यौँ। बिहानको मीठो चिया खाए पछि। म बजार निस्कें। परिवर्तन कति पनि नभएको। अगाडि पट्टी ठूलो निलो कम्पाउण्डले घेरेको एकताका निकै धनिमानी मानिने स्वाँखे प्रधानको घर उस्तै थियो। छेउमै भण्डारीको काठे दोकान पनि त्यस्तै। अनि त ककसका काठका घरहरू लहरै बाटाका दक्षिणतर्फबाट पङ्तिबध्द उभिएका थिए। त्यो बोडरको बजार भएकाले अलि तल भन्सार थियो, पुलिस चौकी अनि कट्टेल मिल। म सिधा अगाडि सडकको पश्चिमतिर मिलेको हरियो जस्ताले छापेको रत्न कुमार कार्कीको घरमा पसेँ। वहाँलाई भेटेँ। वहाँलाई मेरा पिताजीले इलाम जेलमा २०३१ सालमा भेट्दा म पनि साथै गएको थिएँ। मैले फलानाको छोरा भन्ने बित्तिकै वहाँले चिनिहाल्नु भयो। बसेर केही पुराना कुराहरू गरिए। त्यो बेला जेल सरकारले नेपाली काङ्ग्रेसको काम गरेको भनेर राजकाजका मुद्दामा राखेको रहेछ। अझ पनि वहाँ काँङ्ग्रेसकै काममा सक्रिय हुनुहुँदो रहेछ। वहाँले पिताजीलाई २००९ सालमै चिन्नु भएको रहेछ। सँगसँगै ब्रदी, केदार चारधाम वहाँका माता पितालाई घुमाइ दिएको, मिलटिरीको जागिर खाएर बिदामा आँउदाजाँदा वहाँहरूको घरमा बसेर मात्र पहाड लाग्ने हामीलाई तिर्थको प्रसाद ल्याइदिने धेरै बिद्वान मान्छे नानीका बुबा। यतै बसौं झर्नुहोस् पनि भने मैले वहाँलाई जागिरे मान्छे खेती लिएर के गर्नु भन्नुभयो। २०१८ सालमा मलाई पाँचहजार दिएर धानको ब्याजमा लाईदिनु भन्नुभयो। मान्छे तिर्दैनन् नगरौं जग्गामा हालि राख्दा जग्गा कहीँ जाँदैन भनेको मान्नु भएन। हिलो नहिँडेको टिलिक्क छालाका जुत्ता टल्काएर लाएर हिँड्ने मान्छे वहाँ खेतको हिलो कुल्चिनु वहाँको बिचार भएन। खै उता के गर्नुभयो। ऐले त्यो पहाडमा के गरेर बस्नु भएको छ। आदि कुराहरू गर्नुभयो। यसपछि म जान्छु भन्दा अलि ओरसम्म आएर खुसुक्क १००रुपैयाँ मलाई दिँदा मैले नाइँ पर्दैन भन्दा कापी कलम किन्न हुन्छ भन्नुभयो र मैले राखेँ। २०३७ सालमा त्यो रूपयाँ धेरै हो । यसरी वहाँसँग पनि भेटघाट गरेर म बिष्णेटार फर्केँ त्यो दिन।

त्यो सय रूपैयाँमा अरू सय थपेर मैले घरमा एकमाउ दुहुनु गाई किनेको थिएँ, भाइले बेचेछ।

यसरी जिमुवालहरू, मुखियाहरू, काठमालका हाकिमहरू, खरिदार, मुखिया, पटुवावारीहरू राणाहरूले तराईमा तोकिदिने अनि बिस्तारै उनीहरू जमिन्दार बन्दै जाने र गाउँहरूमा यिनको हुकुम चल्ने प्रथालाई राजा महेन्द्रले हटाएर सिस्टम बसाउने प्रयत्न गरेका रहेछन्। बिकासका काम, शिक्षाको उन्नति, सडक बनाउने र नेपालला २०१९को संविधान ल्याएर एउटा सिस्टम बिकास गरेकोमा राजा महेन्द्रको देन र दुरदर्शितालाई नकार्न किमार्थ सकिँदैन तर उनले लामो समय शासन गर्नै पाएनन्। यो नै नेपालको दुःखद पक्ष हो। राजा बीरेन्द्रको शासनकालमा फेरि दरबारमा इतिहासमा जस्तो रानीका हातमा र भाइभारदारका हातमा शासन बाँडियो र पुनः दरबारमा षड्यन्त्रहरूको सुरुआत भयो र सकियो दरबार। ऐले ठ्याक्कै नेपालका राजनैतिक पार्टीहरूमा पनि त्यो षड्यन्त्रको सूत्रपात हुनथालेको देखिन्छ।

(लेखक निरौला सिध्दहस्त कवि हुन्, उनी ज्योतिषविद्यामा पनि पारंगत् छन् । बिगतलाई मसिनोगरी सम्झन सक्ने क्षमता उनले यो र यस्तै अनेक संस्मरण लेखेर प्रमाणित गरिरहेका छन् । कतिपय चैं आमपाठकका लागि समेत रोचक लाग्ने ठानेर सरल पत्रिकामा प्रकाशन गर्ने गरिएको छ ।)
 

ताजा खबर