बढ्दो महामारी र अन्तर्वार्ताप्रेमी प्रधानमन्त्री !

२०७७ भदौ १५ सोमबार ०९:४८:०० मा प्रकाशित

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिँदो छ । देशका भौगोलिक सीमा र सामरिक शक्तिका सबै दूर्ग भत्काउँदै यो भाइरसले मानिसको ज्यान लिईरहेको छ । अमेरिका जस्तो वर्तमान विश्वको महाशक्ति होस् कि भौतिक सरसुविधाको वैभवमाथि उभिएको यूरोप नै किन नहोस् यो महामारीका सामु निरीह साबित भैरहेका छन् । चिकित्सा लगायतका सबै शक्तिको उपयोगबाट पनि कोरोना भाईरससँग पराजित पो हुनुपर्ने हो कि भनेर विश्व यतिबेला भयभित छ । 

संसारका चिकित्सा क्षेत्रका एकसेएक हस्ती समेत काँपेको देखिँदा सम्पूर्ण मानव जगत चिन्तित नहुने कुरै छैन । अर्को शक्ति राष्ट्र चीन कोरोनाको महामारीबाट तंग्रिन खोजेजस्तो देखिए पनि उ अझै आफ्नै निष्कर्षमा भर पर्न नसकिरहेको देखिन्छ । यद्यपि उसले आफ्नो घाउमा मल्हम लगाउँदै अरु ज्यादा संक्रमित मित्र राष्ट्रलाई पनि सहयोगको हात बढाईरहेको छ । संकटका बेला पनि चीनको यो सद्भाव सराहनीय छ ।

 भारत संक्रमणको सबै रेकर्ड तोडेर प्रभावित भैरहेको छ । यूरोपमा भारइरस फर्किएको छ र यसले त्यहाँको सरकार तथा जनतालाई फेरि आतंकित पारेको छ ।

विश्वको पश्चिम तर्फको ठूलो भूभागमा कोरोना भाईरसको संक्रमण रातदिन नै भयानक तरिकाले बिस्तार भैरहँदा यता दक्षिण एशियाली देशहरु तर्सिनुपर्ने अवस्था देखिँदै छ । भारत र नेपालले चीनबाट संक्रमण पश्चिमतिर सर्दैगर्दा नै यसबाट बच्ने प्रयाशस्वरुप जेजस्ता उपाय अपनाए, त्यसले तत्काल त ठूलो मानवीय क्षति रोक्न सकेको देखियो । पछिल्ला दिनहरुमा भारतको राजधानी नयाँदिल्ली र फिल्मी नगरी मुम्बई लगायतका शहरी इलाकामा संक्रमित र जीवन गुमाउनेको संख्या अत्यासलाग्दो गरी बढ्दै गएपछि त्यहाँका चिकित्सक र नेताहरु झस्किएका छन् ।  

नेपाल सरकारले केही पनि गरेन भन्ने गुनासो पटक्कै होइन । समयमै लकडाउन घोषणा गर्नु नेपाल सरकारको वुध्दिमानी कदम थियो । निषेधाज्ञाको दोस्रो चरण अहिले पनि जारी छ । यसको निरन्तरताले अहिलेसम्म त ठूलो संख्यामा मानवीय क्षति हुनबाट जोगाएकै मान्न सकिन्छ । तर खुला सीमानाको उपयोग गर्दै भारतबाट स्वदेश फर्किएका नेपाली र कामदारका रुपमा आउने भारतीय मार्फत भाइरस संक्रमण फैलिनेक्रम ह्वात्तै बढेको छ भने मानवीय क्षति हुनमा समेत योगदान गरेको मानिएको छ ।
 
चीनबाट ल्याईएको चिकित्सा सामग्री तत्कालै प्रदेशहरुमा पठाएर परीक्षण सेवा समेत थालिएकाले संक्रमण फैलिन नपाउला भनेर गरिएको आशा निराशामा बदलियो । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको पाईएकाले परीक्षण अभियानलाई तिव्रतासाथ अघि बढाउन नसकिएको देखियो । प्रदेश र स्थानीय तहमा आइसोलेशन केन्द्र र कोरिन्टाईन स्थापनाको अभियान नै चलेको देखिएको छ तर यो काम आवश्यकता अनुसार उचित भए नभएको परीक्षण भएको देखिँदैन । स्थानीय नागरिकले स्वतस्फूर्त गरेको यस्तो सत्प्रयाशलाई चिकित्सा सेवा अनुकूल बनाउन आवश्यक भएको विज्ञहरुका प्रतिक्रियाहरु आएका छन् । जसलाई वेवास्ता गर्न मिल्दैन ।

यस्तो संकटको समयमा चीनबाट चिकित्सा सामग्री झिकाउँदा आर्थिक चलखेल भएको र यसमा राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरु नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको भन्ने समाचार प्रकाशमा आएपछि सबैलाई निकै दुःखयी बनायो । सिंगो देश एकढिक्का भएर कोरोना भाइरसको संक्रमण विरुध्द संघर्ष गर्नुपर्ने समयमा भ्रष्टाचारजन्य बिषयमा सवाल जवाफमा अल्झिनुपर्ने अवस्था आउनु देशकै लागि दूर्भाग्य हो । यसलाई भविष्यमा पनि अनुसन्धान गरेर दोषीलाई दण्डित गर्न सकिन्छ भने सम्बन्धित निकायले काखापाखा नगरी निर्ममतापूर्वक न्याय गर्न हच्किनु हुँदैन । तर सरकारले गरिरहेका हरेक प्रयाशमा नेपाली नागरिकले जो समर्थन र साथ दिईरहेका छन् यो भने निकै उल्लेखनीय बिषय हो । सरकारले यसलाई शक्तिको रुपमा आत्मसात गर्दै संकटको निराकरण गर्न सम्वन्धित बिषय विज्ञहरुको पर्याप्त योगदान लिन सक्नुपर्दछ । यसमा भने निकै कमी देखिएको छ । संकट परेका बेला देशले विज्ञहरुको योगदान लिन पाउनु पर्छ, यसमा सरकारले कन्जुस्याईं गर्नु हुँदैन ।

महामारीको बिस्तारले जनजीवन भयभित छ । यो कुरा कहिँकतै छिपेको छैन, सार्वजनिक जीवन ठप्प छ । यस्तो अवस्थामा नेतृत्व वर्ग निरन्तर नागरिकसँग विभिन्न माध्यमहरुबाट सम्वादमा रहनुपर्ने हो । प्रधानमन्त्री केपी शर्मा ओली राज्य सञ्चालनमा भन्दा आफ्नै दलको आन्तरिक किचलोमा ज्यादा अल्मलिईरहेका देखिन्छन् । सातापिच्छे आउने उनको निरश अन्तर्वार्ताले नागरिकको उत्साह बढाउनुको साटो दिग्दारी थपिरहेको पाईएको छ । 

महामारी बढ्दै गैरहेको यहीबेला सत्तारुढ दलभित्र बदलाको राजनीतिक दाउपेच जारी छ । जुन कुरा सर्वथा दुर्भाग्यपूर्ण हो । सेनालाई चिकित्सा सामग्री खरिदको जिम्मेवारी दिईएको बिषयले सत्तारुढ नेकपाभित्र दाउपेचको राजनीति पन्पिएको बताईँदैछ । यसै बिषयमा विपक्षी नेपाली कांग्रेस समेत बढी संवेदनशील भएको देखिएको छ तर उ पनि प्रभावकारी देखिँदैन । तर प्रधानमन्त्री ओली र उनका निकटस्थ सहयोगीले यसबारेमा प्रष्टतासाथ मुख खोलेका छैनन् । जसले जनमानसमा अन्योल थपेको छ । एकातिर बिस्तार हुँदो महामारी अर्कातिर सत्तारुढ दलभित्रको जुहारी !

निषेधाज्ञाको दोस्रो चरण सकिनै लागेको छ । अबका दुइदिन भाइरस संक्रमणको असर समीक्षा गरेर सरकारले अर्को कदम चाल्ने होला । लकडाउन खुलेपछि ह्वात्तै बढेको गतिविधि पछि संक्रमण फैलिएको मानिएको छ । तर निषेधाज्ञामा संक्रमित र जीवन गुमाउनेको संख्या झन बढेर गएको छ । यस्तै हो भने अबका दिनमा के गर्ने भन्ने प्रश्न उठ्नु स्वभाविक नै देखिन्छ । 

यो निषेधाज्ञा सकिए लगत्तै आन्तरिक उडान सुरु गर्ने तयारी छ । तर देशका मुख्य शहर र बजार क्षेत्रमध्ये कतिपयमा निषेधाज्ञा र लकडाउन हटेका छैनन् । संक्रमण बढ्दै गएको भनेर स्थानीय सरकारले हटाईहाल्न नसकेको कुरा बुझ्न सकिन्छ । यस्तो अवस्थामा विमान उडाउने कुरा व्यवहारिक देखिँदैन । विमानबाट उत्रिएपछि गन्तव्यमा यात्री कसरी पुग्छन्, कहाँ गएर क्वारिन्टाईनमा बस्छन् अनि घर पुग्छन् भन्ने व्यवहारिक चुनौति छँदैछ  ।

निषेधाज्ञा हटाउने हतारो भन्दा पनि संक्रमणको भयावह अवस्था कति बढ्दै जाने हो भन्ने कुरामा विशेषज्ञहरुको परामर्श लिएर दीर्घकालिन निर्णय लिनु नै अहिलेको आवश्यकता हो । सरकारले आगामी दुइदिनमा यसबारे ठोस निर्णय लिन आवश्यक तयारी गरिहाल्न उचित  हुने छ ।

 
 

ताजा खबर