जीवनसाथी मन्त्रः सीधा रुख सबैभन्दा पहिले काटिन्छ, दुष्ट मित्रबाट सावधान !

२०७७ भदौ १३ शनिबार १३:५३:०० मा प्रकाशित

कुनै पनि व्यक्तिले आवश्यकता भन्दा धेरै इमान्दार हुनु आवश्यक छैन । सीधा डाँठ भएको रुखलाई सबैभन्दा पहिला काटिएजस्तै धेरै इमान्दार मान्छेले पनि सबैभन्दा धेरै दुःख कष्ट उठाउनुपर्ने हुन्छ ।

दुष्ट स्वभाव भएको मानिसका मीठा कुरामाथि विश्वास गर्नुहुँदैन किनभने उसले आफ्नो मूल स्वभावलाई कहिल्यै छाड्न सक्दैन, जसरी सिंहले कहिल्यै हिंसा छाड्दैन ।

यदि कुनै सर्प विषालु छैन भने पनि उसले झम्टिन छाड्नु हुँदैन । त्यस्तै गरेर कमजोर व्यक्तिले पनि हरेक समय आफ्नो कमजोरी व्यक्त गर्नुहुँदैन र कहिल्यै हार मान्नु हुँदैन ।

कुनै पनि कमजोर व्यक्तिसँगको दुश्मनी धेरै खतरनाक हुन्छ किनभने उसले आफूले कल्पनै गर्न नसकिने समयमा प्रहार गर्छ ।

हरेक मित्रताका पछाडि कुनै न कुनै स्वार्थ अवश्य लुकेको हुन्छ । संसारमा कुनै पनि यस्तो मित्रता छैन जसमा आफ्नो हित नलुकेको होस् ।

जसरी दूधमा मिसिएर पानी पनि दूध नै बन्छ त्यस्तैगरी गुणी व्यक्तिको आश्रय पाएर गुणहीन व्यक्ति पनि गुणी बन्छ । त्यसैले सधैं गुणी व्यक्तिसँग मित्रता गर्नुपर्छ र गुणहीन व्यक्तिबाट टाढै रहनुपर्छ ।

आफ्नो बच्चालाई पाँच वर्षसम्म माया गरेर हुर्काउनुपर्छ । अर्को पाँच वर्ष गाली गर्दै निगरानीका साथ पाल्नुपर्छ । सोह्र वर्षको पुगेपछि भने उसँग साथीको जस्तो व्यवहार गर्नुपर्छ ।

जे बित्यो सकियो । आफ्नो हातबाट कुनै गलत काम भएको छ भने त्यसको चिन्ता छाडेर वर्तमानमा बाँच्दै भविष्य राम्रो बनाउनुपर्छ । बितेको समयका बारेमा पश्चाताप गर्नुहुँदैन र भविष्यका बारेमा चिन्तित पनि    हुनुहुँदेन । विवेकी र बुध्दिमान मानिसहरु केवल वर्तमानमा बाँच्दछन् । 

कुनै काम गर्ने साहस नजुटाउँदासम्म त्यसलाई गर्न सम्भव छैन ।

काम चाहे सानो होस् या ठूलो, एकपटक हातमा लिएपछि त्यसलाई कहिल्यै छाड्नु हुँदैन । आफ्नो लगन र सामथ्र्यले त्यो काम पूरा गर्नुपर्छ, जसरी सिंहले आफूले समातेको शिकारलाई कहिल्यै पनि छाड्दैन ।

यदि कुनै नयाँ काम गरिँदैछ भने त्यसबारे कसै सामु पनि व्यक्त गर्नुहुँदैन । बुध्दिमानीपूर्वक त्यसलाई रहस्य बनाईराखेर काम गर्नका लागि दृढ रहनुपर्छ ।

बेइमानीपछि आफ्नो धर्म छाडेर र दुश्मनको चाप्लुसी गरेर मिलेको पैसा स्वीकार गर्नुहुँदैन ।

ह्रदयमा प्रेम राख्ने मानिसले दुःख नै झेल्नुपर्छ । ह्रदयमा प्रेमको अनुभव हुन थालेपछि धेरै सुखको अनुभव हुन्छ । तर यस सुखसँगै डर पनि भित्रभित्रै उब्जन थाल्छ– गुमाउने डर, अधिकार कम हुने डर आदि आदि । तर यदि ह्रदयमा प्रेम अनुभव भएन भने यस्तो हुँदैन । त्यसैले यस कुरामा सावधानी राख्नुपर्छ ।

तल्लो स्तरका मानिस अन्य मानिसहरुको ह्रदयमा चोट पुर्याउने, उनीहरुको विश्वासमा धोका दिने कुरा गर्छन् र अरुको नराम्रो गर्न  पाउँदा खुशी हुन्छन् । यस्ता मानिसहरु ठूलाठूला र झुटा कुराले बुनिएको जालमा आफैं  पनि फस्छन् । यस्ता मानिसबाट जोगिनुपर्छ ।

संकटकालका लागि धन बचाउनु पर्छ । परिवारमाथि संकट आयो भने धन खर्च गर्नुपर्छ । आफ्नो आत्माको हिफाजत भने आफ्नो परिवार र धनलाई दाउमा लगाएर भए पनि गर्नुपर्छ ।

भाइबन्धुको परीक्षा संकटको समयमा र आफ्नी पत्नीको परीक्षा धन नष्ट हुँदा हुन्छ । यस्ता मान्छे चिनिरहनुपर्छ ।

 कुनै पनि कामप्रतिको भयलाई नजिकै आउन नदिनुहोस् । यदि नजिक आयो भने त्यसमाथि आक्रमण गरिदिनुहोस् । अर्थात् भयबाट नभाग्नुहोस्, भयको सामना गर्नुहोस् ।

सधैं परोपकारको भावना रहने मानिसको समस्या छिट्टै समाप्त हुन्छ र हरेक पाइलामा यश प्राप्ति हुन्छ ।

सफल हुनका लागि राम्रो साथी आवश्यक पर्छ । अझै धेरै सफल हुनका लागि राम्रो शत्रु आवश्यक पर्छ । बहादुर र बुध्दिमान मान्छेले आफ्नो बाटो आफैं बनाउँछ ।

यदि गल्तीबाट सिक्नु छ भने अरुको गल्तीबाट सिक्नुहोस् । आफैंमाथि प्रयोग गरेर सिक्नका लागि जीवन छोटो हुन्छ । 

समुद्रमा खसेको वस्तु नष्ट भएजस्तै ध्यान दिएर नसुन्ने व्यक्तिलाई भनेका कुरा पनि नष्ट हुन्छ । (स्रोतः चाणक्य नीति) 

 

ताजा खबर