पर्सा क्षेत्रमा कोरोनाले ४९ को ज्यान लिईसक्यो

२०७७ भदौ १३ शनिबार १३:१८:०० मा प्रकाशित

वीरगञ्ज । पर्सा क्षेत्रमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ४९ जनाको ज्यान गैसकेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, १ बेवारिसे युवकसहित पर्साका ३६, बाराका १० र रौतहटका २ को कोरोना संक्रमणबाट ज्यान गएको हो । साउन यतामा मात्रै कोरोना संक्रमणको कारण ४४ जनाको मृत्यु भएको हो ।

हिजो र आज बिहान नै पर्साको महानगरपालिकाका थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना थप उपचारको लागि काठमाण्डौ लैजानेक्रममा एक जना गरी थप तीनको मृत्यु भएको हो । उपचार गराईरहेकामध्ये शुक्रबार राती दुई र शनिबार बिहान एक गरी थप तीनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
मृतक तीनमा एक ६५ वर्षिय महिला र ४३ तथा ४० वर्षिय दुई पुरुष हुन् । उनीहरु सबै वीरगञ्ज महानगरपालिकाका स्थानीय वासिन्दा हुन् ।

  शुक्रबार राती ११ बजेर ५५ मिनटमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का ४३ वर्षिय युवकको कोरोना संक्रमणको कारण वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक युवक हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित रहेकाले स्वास्थ्य अवस्थामा समस्या भएपछि तीन दिन पहिले अस्पतालमा भर्ना गरिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा ल्याईएको थियो ।

त्यस्तैगरी शनिबार महानगरपालिका वडा नम्बर २२ मनियारीका ४० वर्षिय युवकको शनिबार बिहान ४ बजे मृत्यु भएको हो । वीरगञ्जको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालले काठमाण्डौमा गएर थप उपचार गराउनको लागि रेफर गरेको थियो । ती संक्रमितलाई एम्बुलेन्समा राखेर थप उपचारको लागि काठमाडौं लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे मृत्यु भएको हो ।
 

ताजा खबर