नेपालमा कोरोनाले आउँदो चारमहिनामा पचास हजारको ज्यान लिने दावी

२०७७ भदौ १२ शुक्रबार १६:२५:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसले आउँदो चारमहिनामा करीब पचास हजार नेपालीको ज्यान लिने दावी गरिएको छ । नेपालमा कोरोना भाइरस संक्रमण रोकथाम गर्न भैरहेका व्यवस्थापकीय तैनाथी लगायतका पक्ष अध्ययन गरेर यस्तो दावी गरिएको थाहा भएको छ । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अध्ययन अनुसार, यसै वर्षको मध्य पुससम्ममा कोरोना भाइरस संक्रमणले  ४९ हजार २ सय व्यक्तिको ज्यान लिने सम्भावना छ । अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गएको मे महिनामा नेपालमा देखिएका नयाँ संक्रमण र समुदायस्तरमा बिस्तार भैरहेको संक्रमण,   लकडाउनको अवस्था, त्यतिबेलाको संक्रमण वृद्धिदर तथा मृत्युदरका आधारमा तथ्यांकको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेको हो । अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट बेलायत सरकारको डिपार्टमेन्ट अफ फरेन डेभलपमेन्ट (डिएफआइडी) अन्तगर्तको विभाग हो ।

बेलायत सरकारको आधिकारिक वेबसाइट जीओभी  युके (https://www.gov.uk) मा प्रकाशित शोधपत्रमा  शोधकर्ताहरु प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता तथा डा. रशिद जमानले नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई तीन फरक–फरक सुरक्षात्मक उपायको आधारमा वर्गीकरण गरेका छन् । यो अध्ययन गर्दाका समयमा नेपालमा लागू गरिएको लकडाउनको प्रतिबन्ध ८ देखि १० हप्तामा हटाइने, ८ देखि १० हप्ता पूरा भएपछि थप २६ दिनसम्म लम्ब्याइने र २६ हप्तासम्म प्रतिबन्ध लगाइएपछि पनि थप कडाइका नियमहरु लागू गरिने आधारमा तीन किसिमका नतिजाको प्रक्षेपण गरिएको छ ।

अध्ययनमा ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ । न्यून अवरोध रणनीतिमा लकडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको छ । यसो गर्दा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट संक्रमित हुने र ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ । 

 

 
 

ताजा खबर