आफ्नै बारीको घिरौंला बाँडेझैं कांग्रेसको सदस्यता वितरण

२०७७ भदौ १२ शुक्रबार ०९:३३:०० मा प्रकाशित

 “बिना सर्त, बिना स्वार्थ” काङ्ग्रेस प्रवेश ! 
“बिना सर्त, बिना स्वार्थ” को फेसनले हाम्रो गाउँमा पनि असर देखायो !

वरिष्ठ फलानो र वरिष्ठ ढिस्कानो सहित पचासौं बौद्धिक समूह “बिना सर्त, बिना स्वार्थ” काङ्ग्रेस पस्यो ! हाम्रा वरिष्ठ  डफेदारले आफ्नै आँगनमा भेला गरेर “बिना सर्त, बिना स्वार्थ” सदस्यता बाँडनु भो– आफ्नै बारीको घिरौंला बाँडे झैँ ! पार्टी प्रवेशको कार्यक्रम भनिएतापनि आफ्नै बारी हुँदाहुँदै पार्टी अफिसको भूमि प्रयोगको औचित्य भने देखिएन !

वरिष्ठ फलानोले “बिना सर्त, बिना स्वार्थ”  काङ्ग्रेस पसेको बताउनु भो– जसरी निकैअघि गणेशमान सिंह भद्रपुर आउँदा घरको छतमा चारतारे झन्डाको अर्थ सहितको ब्यानर टाँगेर जीत बहादुर पुरीले समेत बुझ्ने गरि बताउनु भएको थियो ! पञ्चायती भवन भत्केपछि “बिना सर्त, बिना स्वार्थ” काङ्ग्रेस झोपडीमा ओत लाग्न आउनु भएका ‘फलानो जी’ राप्रपा नामको नयाँ भवन बनेपछि “बिना सर्त, बिना स्वार्थ” उतै सर्नु भो ! यतिका बर्ष राप्रपा भवनमै बास बसेतापनि गत स्थानीय चुनावमा आफ्नै जातभाइलाई नै भोट हाल्नु भो ! पार्टी राप्रपा भए पनि आफ्नो जातीय धर्म छोड्नु भएन ! अहिले फेरि “बिना सर्त, बिना स्वार्थ” काङ्ग्रेस पसेर रमाइलो खेल “फर्का फर्की” खेल्नु भो !

अर्का वरिष्ठ ढिस्कानोले पनि रटा रटाया डायलग– “बिना सर्त, बिना स्वार्थ” नै दोहोर्याउनु भो ! जसरी निकैअघि भवानी घिमिरेको पछि लागेर राजबिराज पुगेर बर्मा समूहको वरिष्ठ हुँदा “बिना सर्त, बिना स्वार्थ” बाचन गर्नु भएको थियोे ! बिचमा “बिना सर्त, बिना स्वार्थ”  खै कता हराउनु भो कुन्नी ? अहिले “बिना सर्त, बिना स्वार्थ” टुप्लुक्क काङ्ग्रेसको दैलोमा आईपुग्नु भएका उहाँलाई काङ्ग्रेसका वरिष्ठ डफेदारले “बिना सर्त, बिना स्वार्थ” भित्र्याईदिनु भो !

उहाँले साहित्यमा बिपिको चेलो भएको भावुकता पोख्दा राजनीतिमा ‘बनारस काण्ड’ नबुझेका नयाँ पुस्ताले ताली ठोकिरहँदा मैले चैं बनारस र बिपि सम्झेँ !

हाम्रा डफेदारले काङ्ग्रेसमा उहाँहरु जस्ता बौद्धिक ब्यक्तिको खोजी र खाँचो औंल्याउँदै गर्दा मैले चैं झापामा टिक्न नसकेर बुढानिलकण्ठ पलायन विश्व प्रकाश र काङ्ग्रेसमा टिक्न नसकेर राप्रपा पसेका भक्ती सिटौला जस्तो ‘अबौद्धिक ब्यक्ति’ को सम्झना गर्न पुगें ! सँगसँगै निकै अघि पूर्वी पहाडबाट “बिना सर्त, बिना स्वार्थ” झापा झरेर त्यहाँका आदिवासी सतार राजबंशीलाई “बिना सर्त, बिना स्वार्थ” सोत्तर बनाउने छट्टु बाहुन पनि सम्झेँ !

यसरी “बिना सर्त, बिना स्वार्थ” कहिले एमाले, कहिले राप्रपा त कहिले काङ्ग्रेस गर्ने बौद्धिक ब्यक्तिहरु देख्दा “बिना सर्त, बिना स्वार्थ” कहिले रत्नपार्क त कहिले ठमेल कुद्ने समाजसेवी नगरबधुको समेत सम्झना भो ! जो जनताको सेवामा दिनरात खटिरहन्छिन् “बिना सर्त, बिना स्वार्थ” ! बिचरिको कुनै सर्त छैन कुनै स्वार्थ छैन !

ठिकै छ– “बिना सर्त, बिना स्वार्थ” आउनु भएछ ! अब उप्रान्त “बिना सर्त, बिना स्वार्थ” काङ्ग्रेसमै अडिग रहनु होला ! अबको “बिना सर्त, बिना स्वार्थ” अन्तिम शपथ बनोस ! चुनाव आउँदा “बिना सर्त, बिना स्वार्थ” काङ्ग्रेसमै भोट हाल्ने प्रेरणा प्राप्त होस् ! यो त मेरो जातभाई हो, यो त मेरो भूपू पार्टी हो भन्ने कुबिचारको अन्त होस् !

“बिना सर्त, बिना स्वार्थ” स्वागतम्, अनि ! वरिष्ठ डफेदारजी ! पुरानो काङ्ग्रेसमा तपाईंले “बिना सर्त, बिना स्वार्थ” खोजेर भित्र्याएका जस्ता बौद्धिक ब्यक्ति त नभेटिएलान्  तर पार्टी र मुलुकमा संकट आउँदा बिगतमा जेल नेल खटेका र भविष्यमा पनि जेल नेल खप्न र छातीमा गोलि थाप्न तयार अबौद्धिक पिलन्धरेहरुको कमि छैन । उनीहरुलाई पनि काङ्ग्रेसमा टिक्ने वातावरण दिनुहोला ! नेता तपाईं नै हो ! “बिना सर्त, बिना स्वार्थ” सुझाव ग्रहण गर्नु होला ! 

“बिना सर्त, बिना स्वार्थ” जय नेपाल !

(तस्बिरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला झापाका वरिष्ठ पत्रकार नकूल काजीसहित राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई फूलमाल र अबीरले स्वागत गर्दै । तस्बिर जयलोकतन्त्र डट कमबाट )
 

 
 

ताजा खबर