एक रुखो र अहंकारी मन्त्रीको बिषयमा ...

२०७७ भदौ १२ शुक्रबार ०८:०४:०० मा प्रकाशित

"मन्त्रीज्यू ! कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनर्नियुक्ति दिइएको भन्ने समाचार छ्याप्छ्याप्ती भएको छ, कुरा के हो ? "

" उनको पुनर्नियुक्ति सामाजिक सञ्जालहरूले गरेका हुन् । सामाजिक सञ्जालहरूले गरेको नियुक्तिका बारेमा सरकारले केही भन्नु पर्छ जस्तो लाग्दैन । सरकारलाई त यस बारेमा केही पनि थाहा छैन । उनको नियुक्तिका बारेमा क्याबिनेटमा कुनै प्रस्ताव गएको मलाई थाहा छैन । "

यो सम्वाद हालैको एक प्रेस मिट कार्यक्रममा सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार मन्त्री युवराज खतिवडा र एक पत्रकारका बीच भएको हो । त्यस प्रेस मिटलाई श्रव्य-दृश्यमा हेरे, सुनेपछि एउटा दर्शकको नजरमा मन्त्री युवराजको छवि कस्तो बन्ला सहज अनुमानको विषय बनेको छ ।

रुखो स्वभावका, असामाजिक जस्ता लाग्ने, ओली क्याबिनेटका यी शक्तिशाली सदस्य युवराज खतिवडाले विश्वविद्यालयका बोझिला डिग्रीहरू लिएका छन् । वित्त वा अर्थशास्त्रको कुनै विषयमा शोधग्रन्थ लेखेर विद्यावारिधि (पीएचडी) को उपाधि पनि प्राप्त गरेका छन् यिनले । कम उमेरमै त्यहाँको जागिरमा पसेका यी झापाली खतिवडाले नेपाल राष्ट्र ब्याङ्कले आफ्ना कर्मचारीहरूको योग्यता वृद्धिका लागि उपलब्ध गराउने गरेको छात्रवृत्ति खाएर पीएचडी गरेको हुनु पर्दछ । त्यसो हो भने यिनले नामका अगाडि लेख्ने डाक्टर भन्ने भारीभरकम उपाधिमा नेपाली जनताको पनि केही योगदान छ भन्नु पर्ने हुन्छ ।

यी डाक्टरले आफूले लामो अवधिसम्म काम गरेको नेपाल राष्ट्र ब्याङ्कको कार्यकुशलताको स्तरलाई नयाँ नीति र योजनाका माध्यमबाट नयाँ उचाइमा पुर्‍याउन केकस्तो निजी योगदान गरे त्यस बारेमा त कसैलाई केही पनि थाहा छैन । यिनले त्यस्तो कुनै उल्लेख्य काम केही नगरेकाले नै थाहा नभएको हुनसक्छ भन्ने लख कसैले काट्यो भने त्यो अर्घेलो हुँदैन । तर यिनले केन्द्रीय ब्याङ्कको सेवामा काम गरिरहँदा आफ्नो राजनीतिक आस्थाको केन्द्र पहिलेको माले-एमाले र अहिलेको नेकपाका प्रभावशाली नेताहरूलाई भने अचाक्ली नै खुशी पारेका रहेछन् भन्ने कुरा चाहिँ अकाट्य किसिमले सिद्ध भएको छ । देशमा उपलब्ध कैय्यौं बहुपठित व्यक्तिहरू आफ्नो योग्यता र क्षमता प्रमाणित गर्दै देशमै काम देखाउने अवसरको खोजीमा भौंतारिइरहेको बेलामा युवराजलाई भने ठूल्ठूला पदहरू रोजीछाडी चाँदीको किस्तीमा हालेर टक्र्याइने गरेको तथ्यले यस देशको पजनी प्रणालीमा निहित विडम्बनालाई नै उजागर गर्दछ ।

विभिन्न कालखण्डमा यिनी योजना आयोगको उपाध्यक्ष, राष्ट्र ब्याङ्कको गभर्नर, अर्थमन्त्री सबै पदका लागि अरूभन्दा योग्य ठहरिएका छन् ! एक पटक श्रीलंकाका लागि नेपालको राजदूत पद अफर गरिएकोमा यिनले अस्वीकार गरेको कुरा पनि मिडियामा आएको थियो । अहिले पनि भनिंदैछ अर्थमन्त्री पदबाट हटे भने यिनी वाशिङ्टन डीसी जाने छन् त्यहाँको नेपाली नियोग सम्हाल्न ।

खेदको विषय त के छ भने अर्थमन्त्रीको रूपमा यिनले अक्षमताको सबै सरहद पार गरेका छन् । वृहत्तर जनकल्याणका शीर्षकहरूमा रकम निकासा गर्न सरकारी कोशको मुख बन्द गर्नु र सत्ताशीनहरूको सुबिधाको शीर्षकमा भोरजुवा झैं रकम लुटाउँनु यिनको मुख्य काम भएको छ । त्यस बाहेक सर्वसाधारण जनताको आयको स्थिति र उनीहरूको क्षमताको आँकलन नै नगरी हचुवा तालले अनेकौँ किसिमका कर लागू गरेर विपन्न नेपालीको रगतको अन्तिम थोपो सम्म पनि निचोरेर निकाल्ने कसाहीको अवतारमा देखा परेका छन् यी महापण्डित अर्थमन्त्री ।

अर्थमन्त्रीका रूपमा भ्रष्टाचार हुने सम्भावना भएका स्किमहरूमा रकम निकासा हुनबाट रोक्नु पर्ने यिनको मूल जिम्मेवारीबाट यिनी हरदम चुकेका छन् । यिनले चाहेको भए नेपाल वायु निगमको वाइड बडी खरीद काण्ड, एन्सेल कर प्रकरण, भ्याट बिल रकम फिर्ता गर्ने प्रकरण, राष्ट्रपति लगायत सरकारी अधिकारीहरूका लागि महँगा गाडी खरीद गर्ने र अन्य सुबिधा बढाउने प्रकरण, सांसद कोश, प्रम बेरोजगारी कोश, ओम्नी घोटाला, आदि चरम् भ्रष्टाचारका स्किमहरू बन्न र तिनका माध्यमबाट कुल अंक अर्बौं पुग्ने रकम गरीव नेपालीको ढुकुटीबाट लुटिने थिएन । यस्तो लाग्छ: आजको घडीमा भ्रष्टाचारीहरूका ठूला संरक्षक बनेका प्रधानमन्त्री केपी ओलीले युवराज खतिवडा नामक यी सम्वेदनहीन नोकरशाहलाई अर्थमन्त्री बनाएको नै आफ्नाहरूले गर्ने कुकृत्यका लागि बाटो सफा गर्नका लागि नै थियो । (वरिष्ठ पत्रकार हरि अधिकारीको टिप्पणी उनकै फेसबूकबाट साभार)

ताजा खबर