अब दृढ इच्छाशक्ति भएको राजा कि नेता चाहिन्छ

२०७७ भदौ ११ बिहीबार १३:१७:०० मा प्रकाशित

एकसमय नेपालमा राजाको सरकार हुँदा सवारी भन्ने शब्द खुबै सुनिन्थ्यो । राजालाई पञ्चहरू आमन्त्रण गर्थे । राजा आउने कुरा निश्चित भए पछि सरसफाइ गर्थे अनि मुलुक त युरोप नै पो होकि जस्तो राजा घुम्ने जति ठाउँमा बनाएर राजालाई ढाँट्थे ।

अनेक सवारी देखियो । खासगरि सवारीमा हुक्केहरू र मन्त्रालय बिशेषका सचिव, सवारी सचिव हुन्थे । एक सचिवले राजाको सवारी हुने भनेपछि पन्ध्र दिन अघिदेखि कुनै अरु कामै नगरेर सबै कर्मचारीलई हप्किदप्की र खप्किसाथ मन्त्र मुग्ध भएको सँझन्छु म । नेपालको लोकसेवा आयोगको कामै नलाग्ने घोकन्ते बिद्या जस्तै काटिकुटि दुरुस्त त्यस्तै थिए ती सचिव । ताँइ न तुँइको समान्यज्ञान घोकेर आएका कर्मचारीहरूको मनस्थितिलाई त्यस्तै पार्न चैँ अरु बढी मद्दत त्यो बेला दरबारीया हुक्के, बैठके र पुङ् न पुच्छरका सचिव भनाउँदाहरूको काम बढ्तै थियोे । गाउँबाट राम्रो काम गरेर माननीय भएकालाई पनि उनीहरू कसरी राजाका अघि झुठो वर्णन गर्ने र पर्दाले राजाको अनुहार छोपि राख्ने भनेर तालिम दिन्थे राजालाई झुठा विवरण दिएर अन्धकार मै राख्नेहरूले नै राजालाई सिध्याए पनि आखिर । ती सचिव राजाको सवारीमा अघि पछि हुन्थे । उनमा पछि सहसचिव, उनकापछि उपसचिव, तिनकापछि शाखा अधिकृत हुन्थे ।

राजा हात पछाडि लाएर यताउता हेर्दै हिँड्थे । राजा महेन्द्रका पालाको सवारीको कथा एक सहसचिवले सुनाएका थिए जो यस्तो थियो– “एउटा सवारीमा राजाले कार्पेट माथि कुनै पहेंलो सानो थुप्रो देखेछन्, राजा टक्क अडिएर ‘सचिव खुरमान हेर त त्यो पहाडी गाईको आलो घ्यू कताबाट आएछ ?, ल त हेर त, चाख त खुरमान कति स्वादिलो छ’ भनेछन् । सचिव खुरमान ‘हवस् सरकार’ भनेर निहुरिन्छन् र चोरी औंलोले त्यो पदार्थ अलिकति जिब्रोमा राखेर सहसचिवलाई हैन घ्यू नै हो गजव छ, तपाईं पनि चाखिहेर्नुहोस् भनेछन् । आदेश मान्नै परो उनले पनि जिब्रोसम्म पुर्याएर हो सचिवज्यू भनेछन् । अनि सचिवले राजालाई बिन्ति गरेछन् हो रहेछ सरकार पहाडी गाईकै खाँटि घ्यू रहेछ भनेछन् । राजाले हँ भनेर यसो निहुरिएर हेरेछन् अनि सचिवलाई भनेछन् “हैन सचिव खुरमान यो त महिनादिन पुग्दै गरेको सानो नानीको गुहू जस्तो पो छ त ! फेरि चाखेर हेर त” भनेछन् । सामान्यज्ञान रटेका सचिव न हुन् हवस् सरकार भनेर निहुरिएर त्यो पदार्थ फेरि चाखेछन् र भनेछन् “हो सरकार त्यो गुहू नै रहेछ नानीको” । यो राजा महेन्द्रको सवारी भएकोले चलाख राजाले उनको परीक्षा लिए तुरुन्तै सचिव सवारी पछि खारेजीमा परे तर बिचरा सोझा राजा बीरेन्द्र त त्यही रटानका उस्ताद सचिवकै कुरा पत्याउँदा पत्याउँदै सपरिवार बिदा भए ।

कुनै समय एउटा सवारी चल्दा राजा ज्ञानेन्द्र थिए । सवारीमा एक त्यस्तै सचिवले सवारी चलाएको मैले पनि नजिकैबाट हेरेको थिएँ ।

ल यो त राजाको बेलाको कुरा भयो । ऐले जनबादको रटान लगाएका बुर्जुवाको नारा लाएका अनि टाउको काटेका नेताहरूको सवारी पनि ठ्याक्कै दुरुस्तै उस्तै चलाउँछन् सचिवहरू । भाषामा पुरानै दरबारी बक्स्योस् लाग्छ नेता पनि दङ्ग पर्छन् अनि राजाकै शैलीमा आदेश दिन्छन् । सचिवहरू तेसै गर्छन् फरक यति मात्र छ कि “ऐले ओहदावाला नेता, प्रधानमन्त्री वा मन्त्री अघि अघि पछि पछि सचिव नेता जनताको टक्क उभिन्छन् र सचिवलाई हेर्छन् । सचिवले कानमा फुसफसाउँछन् र बिस्तारै सहसचिवले नसुन्ने गरि यति आउँछ भनेर भनिदिने फरक त्यति । राजाले चैँ कति के का कुरा कहिल्यै गरेनन् जहाँ जे थियोे सबै राजाकै थियो । राजा अरुको पनि आफ्नो सोच्थे र त केही त बँचेको थियो । सचिवहरूले सक्न भ्याईहालेका थिएनन्, अब त बाँकी नै केछ र ?

साँच्चिकै मलाई त सवारी भन्ने शब्दसँग अझ बढी एलर्जी चैँ मधुपर्कको सम्पादक भए पछि झनै बढ्यो । पारस सरकारको सवारी भोलि भनेर गोरखापत्र भरी ऐलान गरियो । शाखा प्रमुख भए पनि म त्यो सवारीको दिन अफिस गइन । त्यो नगए बापत र मधुपर्कमा गणेशको फोटो राखे बापत मैले सबै धर्मावलम्बीले पढ्ने पत्रिका फेरि साहित्यकार सबै हिन्दु त हुने कुरा पनि भएन मुश्लिम साहित्यकार छन्, बुद्धिस्ट छन् सबै धर्मका छन् भनेर खासमा अनौपचारिक रुपमा कुरा गरेको थिएँ तर त्यो कुरा दरवारका हुक्के मुख्य सचिवकहाँ पुगेछ । मलाई चिठी त आएन दरवारबाट तर मेरो मोबाइलमा फोन आयो तपाईंलाई सचिव फलानाले खोजेको छ आउनुहोस् यतिबजे । मैले हुन्छ भने तर गइन । म किन गइन भन्ने कुराहरू राजाबाट भएका हुँदैन थिए । तिनै हुक्केहरू सब गर्थे त्यो मलाई राम्ररी गाहा थियो । बेलुकी फोन आयो तपाईं किन नआ ? मैले सचिवलाई भनिदिनु आउँदैन रे भनेर फोन राखिदिएँ र भोलि पनि अफिस गएँ तर म गइन । तिनीहरूले मेरो माखो मार्न सकेनन् हदसेहद गरे मधुपर्कबाट हटाउने त हुन् भनेर म गइन । फेरि मलाई चैँ अरूलाई जस्तो भ्रम के पनि थिएन भने बिचरा राजाकै हातमा पावर थिएन, मूर्तिसँग आस्थाका हिसाबले श्रद्धा हुनु भयराख्नु स्वभाविक हो तर थाहा थियोे मूर्ति आस्थाले चल्छ, त्यस्तै मात्र । तसर्थ पनि म किन डराउने । आखिर मलाई कसैले स्पस्टिकरण पनि सोधेन केही कसैले गर्न पनि सकेन ।

लोकेन्द्र बहादुर चन्दज्यूको सल्लाहकार समूहमा हुँदा दरबारका हुक्केलाई र राजालाई धेरै ढाँटेर चाकरी गर्ने एक मन्त्री थिए । कुरैकुरामा ती मसँग सन्के । एउटा कुरा गर्न भनेका थिए । भनिदिएँ आफ्नो पिएलाई लाउनुहोस् म तपाईंको कर्मचारी होइन । तिनी रिसले फिनिनि घुमे । मैले भनिदिएँ देखाउनुहोस् न त मलाई हटाएर उनले मलाई बेलुकासम्ममा पदबाट हटाउने कुरा गरेका थिए । मलाई थाहा थियोे तिनले माखो मार्न सक्ने होइनन् भन्ने । सचिवलाई थर्काउने स्वाँठमात्र थिए तिनी । पछि दुई चार पटक आम्ने साम्ने पर्दा आफंै निहुरेर हिँडे सिद्धियो । यस्तै ढाँटहरूले राजालाई हिँडाए ।

एकजना व्यापारी आए, उनले मलाई राम्ररी चिन्ने मेरो घर पनि आएका । “ए हजुर त्यो फलानो बैंकको कार्यकारी अध्यक्षलाई त्यो फलानो मानिसको फायल तपाईं कहाँ छ म प्रमको सल्लाहकार फलानो बोल्दै छु त्यो काम गरिदिनु परो भनेर भनिदिनु परो” भने । मैले प्रमलाई नसोधि कसरी भनौ भनें । उनले भने “ए हजुरले पनि सोध्नुपर्छ भनिदिनु भैहाल्छ के जाबो त्यो पन्ध्र करोड ऋणको कुरा मेरो कोल्याटर अर्बको छ” भने । मैले कहाँ नचिनेको मान्छेलाई फोन गर्ने भने । उनले त्यसो भए म आफैं गरेँ हैत भनेर फोन गरे । म फलाना सल्लाहकार कहाँ छु, ऐले वहाँलाई मैले भने वहाँले जाबो त्यति मेरो नामलिएर वहाँलाई भन्नुहोस् भन्नु भयो भने र मलाई फोन दिए । उताबाट ती अध्यक्ष बोले– ‘हैन मैले भैहाल्छ भन्दाभन्दै पुगिहाल्नु भएछ वहाँ । हजुर म आजै गरिदिन्छु ।’ चिन्नु जान्नु काम के हो बुझ्नु केही नपर्ने मान्छेले नाम लिएर ढाँटेर पनि काम गर्ने गराउने यस्तो ढाँट्ने संस्कार हाम्रा मुलुकमा बसाउने हुक्के नै हुन् । अब यो संस्कार हटाउन दरो इच्छाशक्ति भएको राजा वा नेता चाहिन्छ काम बुझेको जानेको नत्र त लोकसेवाको पाठ्यक्रम सुगाकै हो कहिल्यै हुँदैन ।
 

ताजा खबर