किन अल्मलिएका छन् ओली ?

२०७७ भदौ १० बुधबार १२:०५:०० मा प्रकाशित

 एकातिर कोरोना भाइरसको संक्रमणले जनजीवन भयभिय छ भने अर्कातिर सत्तारुढ दलको आन्तरिक विवादले राज्यसन्यन्त्र नै प्रभावित भएको देखिन्छ । व्यक्तिको जीवन रक्षाको समस्यासँग सिंगो देश एकजुट भएर काम गर्नुपर्ने बेलामा त्यसको नेतृत्वको दायित्व बोकेको सरकार नै दलीय खिचातानीमा फसेको छ । टालटुले काम गरेर जनताका आँखामा छारो हाल्दै आफ्नै धन्दामा रमाउने बानीमा पल्किएको देखिन्छ सरकार । 

प्रधानमन्त्री केपी शर्मा ओली देशको नक्शा संविधानमा समावेश गर्ने काम गरेपछि अरु बाँकी दायित्व र जवाफदेहीबाट छुट्कारा मिल्छ, यसपछि कसैले पनि सरकारसँग  प्रश्न गर्न पाईंदैन भनेजसो गरी उदासिन रहेको देखिन्छ । ओलीको यो कार्यशैलीले देश र जनतालाई नराम्ररी सताईरहेको कुरा यतिबेला चारैतर्फ चर्चाको बिषय बनिरहेको पाईन्छ ।

यता कोरोना महामारीको असरले राजधानी काठमाडौं र उपत्यकाका अरु जिल्ला नराम्ररी प्रभावित भैरहेका छन् । सरकारी तथ्यांकलाई नै मान्ने हो भने कोरोनाको केन्द्र बनिसकेको छ उपत्यका । प्रचारवाजी र होहल्ला मात्र हेर्ने हो भने सरकारले दक्षिण एशियामै सबैभन्दा राम्रो बन्दोबस्त गरिरहेको छ । संक्रमित व्यक्तिको उपचार र बसोबासमा कुनैपनि समस्या छैन । तर वास्तविक तस्बीर फरक छ । संक्रमितको परीक्षण आवश्यकता अनुसार भैरहेको छैन । अस्पतालहरु अस्तव्यस्त छन् । सरकारी अस्पतालको अस्तव्यस्ताले चिकित्सक र स्वास्थ्यकर्मी नै आतंकित देखिन्छन् भने प्राईभेट अस्पतालले सरकारलाई टेरपुच्छर लाएका छैनन् । न त सरकारले उनीहरुलाई निर्देशन पालन गर्न वाध्य पार्न नै सकेको छ । यस्तो छ व्यवस्थापनको अवस्था । 

औषधि खरिदमा भएको अनियमिततामा अहिले प्रश्न उठाउने समय होइन भनेर प्रधानमन्त्री ओलीले नै जवाफ दिईसकेका छन् । तर कोरोन महामारीमा करिब १३ अर्ब खर्च भएको सरकारी भनाईमा आम नागकिरले चारैतिर प्रश्नै प्रश्न गरिरहेका छन् । यसले के देखाउँछ भने सरकारका भनाई र दावीहरुमाथि नागरिकलाई रत्तिभर विश्वास छैन । दुइतिहाई बहुमत प्राप्त सरकार नागरिक अविश्वासको घेराबन्दीमा परिसकेको देखिन्छ ।

 साथै, विदेशमा रहेका नागरिक ल्याउन गएको जहाज रित्तै फर्किएको घटनाले मन्त्री परिषदमै समन्वयको गम्भीर समस्या उजागर भैसकेको छ भने संसारसामु नेपालले लज्जित हुनुपरेको छ । यस्ता यस्ता शर्मनाक घटना छताछुल्ल भैसक्दा पनि न प्रधानमन्त्रीमा जवाफदेहीको तत्परता देखिन्छ न त उनका मन्त्रीहरु नै जिम्मेवार बनिरहेका छन् ।

देशको प्रमुख समस्यामा यस्तो छ अवस्था । यता सरकार चलाईरहेको दल भने आन्तरिक शक्ति संघर्ष र विवादमा रुमल्लिरहेको छ । सत्तारुढ नेकपाको एकता, शक्ति सन्तुलन, महाधिवेशन र बैठकहरु आम नागरिकका सरोकारका बिषय होइनन् यतिबेला । सरकारका नियुक्ति, संवैधानिक निकायमा नियुक्तिको भागबण्डा, लाभदायी सरकारी निकायमा नातेदारको पदस्थापन मात्र सरकार चलाउने दल र तिनका नेताको प्राथमिकताको बिषय हुने हो भने किन चाहियो सरकार भनेर नागरिकले प्रश्न उठाउने समय आएको छ । के प्रधानमन्त्री केपी शर्मा ओली यी सबै आमचासोका बिषयसँग जानकार छन् ? 

यता कोरोनाको असर हेर्ने हो भने हिजो मंगलबार मात्रै  ८५५ जना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यतिस संख्यामा संक्रमित देखिएका हुन् । पछिल्लो सरकारी विवरण अनुसार, देशमा कोरोना संक्रमित संख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो समय देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख २१ हजार ९०१ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन आठ हजार ५८१ जना र होम आइसोलेसनमा पाँच हजार ६६९ छन् । मंगलबारसम्म देशभर १० हजार ४५३ जना क्वारेन्टिनमा छन् । यस्तो छ महामारीको ताजा तस्बिर । 

यता उपत्यकाकै तथ्यांक हेर्ने हो भने दिनकै ३ सयको हाराहारीमा संक्रमित थपिएका छन् । अहिलेसम्ममा उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या तीन हजार ७१८ पुगेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका आन्तरिक विवादका बिषयलाई अहिलेको विशेष परिस्थितिमा थाँती राखेर मानवीय समस्या समाधानमा आफू, सरकारी सन्यन्त्र र दलीय शक्तिलाई समेत केन्द्रित गर्न आवश्यक छ । राजनीतिक विवादका बिषय अहिलेलाई तपसिलमा राख्दा आकाशै खस्दैन । जीवन रहे अरु बिषय भोलि पनि त गर्न सकिन्छ नि । आमनागरिकको चासो र सरोकारको यो गम्भीर बिषयमा प्रधानमन्त्री ओलीको ध्यान जाओस् । (फायल तस्बिर)
 

 
 

ताजा खबर