तपाईंलाई एलर्जीको समस्या छ ? यो हो कारण र बच्ने उपाय

२०७७ भदौ ९ मंगलबार १०:२४:०० मा प्रकाशित

काठमाडौं । भागदौडपूर्ण जीवनमा एलर्जीले अधिकांशलाई सताउने गर्छ । जब हाम्रो शरीरले कुनै कारणले अति संवेदनशीलता दर्शाउँछ, त्यसलाई एलर्जी भनिन्छ । यो कुनै पनि वस्तु, मौसम परिवर्तन या बंशाणुगत समस्या पनि हुनसक्छ । धुलो, धुँवा, पराग कण, पाल्तु जनावर वा अन्य जनावर वा सौन्दर्य प्रशाधन आदिका कारणले एलर्जी हुनसक्छ । सामान्यत एलर्जी नाक, आँखा, छाला, खानपान सम्बन्धी हुन्छ । तर कहिलेकाहीं पुरै शरीरमा एकै पटक एलर्जी हुनसक्छ । यो निकै गम्भीर पनि हुन्छ ।

एलर्जीको कारण र लक्षण

नाकको एजर्ली - नाक चिलाउने, हाच्छ्युँ आउने, सिँगान बग्ने, नाक बन्द हुनेु या रुघा लाग्नु ।

आँखाको एजर्ली - आँखा रातो हुने, पानी आउने, पोल्ने र चिलाउने ।

घाँटीको एलर्जी - खोकी लाग्ने, श्वास प्रश्वासमा गाह्रो हुने ।

छालाको एलर्जी - यो विशेष गरी वर्षाको समयमा हुने गर्छ । यस्तो बेला अनुहार चिलाउने, बिबिरा आउने आदि हुन्छ ।

खानपानबाट हुने एलर्जी - अधिकांश मानिसलाई खानपिनका कारण पनि एलर्जी हुन्छ । जस्तै दुध, अण्डा, माछा, चकलेट आदि खानाले यस्तो समस्या हुन्छ ।

सम्पूर्ण शरीरको एलर्जी - कहिलेकाहीं केही मानिसलाई एलर्जीका कारण गम्भीर अवस्था सिर्जना हुन्छ । यसले एकैपटक पुरै शरीरमा गम्भीर लक्षण देखापर्छ । यस्तो अवस्थामा बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्छ ।

औषधीका कारण हुने एलर्जी - पेनिसिलिनको इन्जेक्सन वा दुखाई कम गर्ने औषधी, सल्फा ड्रग्स तथा केही एन्टीबायोटिक औषधीका कारण एजर्ली हुनेगर्छ ।

मौरी वा किराले टोक्नु - मौरीले टोकेमा वा अन्य किरा किरीले टोकेमा पनि कतिपयलाई एलर्जी समस्या हुनसक्छ ।

सुरक्षित हुने उपाय

सबैभन्दा पहिले एलर्जीको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि एलर्जी हुने वस्तुबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय हो । घर आसपास सधै सफा राख्ने, घरमा जतिसक्दो धेरै ताजा हावा आउने वातावरण बनाउने र एलर्जी हुने वस्तु नखाने ।

एक्कासी गर्मीबाट चिसो वा चिसोबाट गर्मी मौसममा नजाने ।

मोटरसाइकल चलाउँदा मुख र नाकमा माक्स वा रुमाल बाँध्ने र आँखामा  घाम छेक्ने चश्माको प्रयोग गर्ने ।

बेडमा प्रयोग हुने सिरक, डसेना तथा सिरानीका खोल तातो पानीले धोइरहने र सिरक डसेना तथा कम्बल बेला बेलामा घाममा सुकाउने । 
पाल्तु जनावरसँग एलर्जी छ भने घरमा नपाल्ने ।

जुन विरुवाको पराग कणबाट एजर्ली हुन्छ त्यसलाई घरमा नराख्ने ।

घरमा माकुराको जालो लाग्न नदिने र समय समयमा सरसफाई गरिरहने ।

सकेसम्म धुलो, धुवाँबाट बच्ने र त्यस्तो वातावरणमा काम गर्दा माक्स प्रयोग गर्ने ।

जसलाई पटक पटक अनुहारमा एलर्जी हुन्छ, त्यस्ता व्यक्तिले मार्च अप्रिल महिनामा नीमको भर्खर आइरहेको मुनामा दुई–तीन वटा मरिच मिसाएर राम्रोसँग चपाएर १५–२० दिनसम्म खानाले फाइदा पुग्छ ।

सबै किसिमका एलर्जीजन्य रोगमा खानपान, र जीवनशैलीको निकै ठूलो भूमिका हुन्छ । त्यसैले दैनिक जीवनशैलीलाई व्यवस्थित गर्न सकेमा यसबाट बच्न सजिलो हुन्छ । (एजेन्सीकाे सहयाेगमा)

ताजा खबर