बहुगुणी मनतातो पानीको यस्ता छन् फाइदा

२०७७ भदौ ९ मंगलबार १०:१६:०० मा प्रकाशित

काठमाडौं । दैनिक पर्याप्त पानी पिउने मानिसको छाला, मांसपेशी र जोर्नी स्वस्थ रहनसक्छ ।  हाम्रो शरीरलाई पोषक तत्व अवशोषित गर्न र रोगसँग लड्न पानीले सहयोग गर्छ ।  साथै दैनिक केही गिलास मनतातो वा तातो पानी पिउने गरेमा थप फाइदा हामीले पाउन सक्छौँ ।  तातो पानी पिउनाले शरीरलाई पुग्ने फाइदाका बारेमा खासै वैज्ञानिक अनुसन्धान नभए पनि वैकल्पिक चिकित्सामा लागेकाले स्वास्थ्य सुधार गर्न तातो पानीलाई सजिलो माध्यम मानेका छन् ।  हजारौँ वर्षदेखि मानिसले तातो पानी पिउने गरेको छ ।  परम्परागत उपचार पद्धतिमा विश्वास गर्नेसँग तातो पानीले स्वास्थ्यमा पुग्ने फाइदाका बारेमा कैयौँ दृष्टान्त छन् तर विज्ञानले मानिसको शरीरमा तातो पानीको फाइदाका बारेमा अनुसन्धान गर्न थालेको धेरै समय भएको छैन ।

स्वस्थ पाचन

मानिसले पर्याप्त मात्रामा पानी नपिएमा उसको सानो आन्द्राले खानाबाट आएको अधिकांश पानी अवशोषित गर्छ ।  यसले गर्दा जलवियोजनको अवस्था आउँछ र पाचन प्रक्रियामा त्यसको दुष्प्रभाव पर्छ ।  नराम्रोसँग जलवियोजन हुँदा कब्जियत पनि त्यस्तै खालको हुन्छ ।  जसको नतिजामा मल त्याग गर्न गाह्रो हुने, दिसामा रगत जाने र पेट ढाढिने गर्छ ।  तातो पानी पिउने गरेमा यो समस्या या त आउँदैन वा कम भएर जान्छ ।

शरीर शुद्धीकरण

प्राकृतिक चिकित्साको वकालत गर्नेले शरीरको सफाइमा तातो पानीको महìव रहेको बताउँछन् ।  जब पानी तातो हुन्छ त्यसले शरीरको तापक्रम वृद्धि गर्छ ।  जस कारणले पसिना आउँछ ।  पसिनाले शरीरबाट विषालु तत्व निकाल्छ र छाला स्वस्थ रहन्छ ।

रक्तसञ्चारमा सुधार 

तातो पानीलाई रक्तसञ्चार सुधारकका रूपमा लिइएको छ ।  अर्थात् यसले रक्त नलीलाई रक्त प्रवाहका लागि सहज बनाउँछ ।  यसबाट मांसपेशीलाई आराम पुग्ने र पीड कम हुने गर्छ ।

तौल घटाउँछ 

धेरै पानी पिउँदा शरीरको तौल कम हुने मान्यतामा धेरै पहिलेदेखि अनुसन्धानकर्मीको चासो छ ।  यसको पछाडिको कारण के हुनसक्छ भने धेरै पानी पिउँदा पेट भरिएको महसुस हुन्छ र कम खाइन्छ ।  साथै पानीले शरीरलाई पोषक तत्व अवशोषित गर्न र फोहोर वस्तु बाहिर निकाल्न पनि सहयोग गर्छ ।  सन् २०१३ मा प्रकाशित गरिएको एउटा अनुसन्धानले चिसो पानी पिउनेले तातो पानी पिउन सुरु गर्दा शरीरको तौल घट्ने निष्कर्ष दिएको थियो ।  खाना खानुअघि आधा लिटर पानी पिउने हो भने शरीरको आन्तरिक पाचन प्रणाली ३० प्रतिशतले वृद्धि हुने समेत सो अनुसन्धान पत्रमा उल्लेख गरियो ।

पीडाहरक 

तातो पानीले रक्तसञ्चार सुमधुर पार्छ र रक्तप्रवाहमा सुधार आउँछ ।  खासगरी चोट लागेको मांसपेशीलाई यसले फाइदा पुग्छ ।  तथापि यसमा वैज्ञानिक आधार पत्ता लगाइएको छैन ।  तैपनि मानिसले तातो पानीले शरीर सेक्ने अभ्यास अद्यापि छँदैछ ।

चिसोबाट बच्न र नाकका स्वास्थ्य सुधार्न 

चिसो र नाकको एलर्जीले नाकमा परेको दबाब कम गर्न तातो पानीले मद्दत पुग्छ ।  पानीको बाफ लिँदासमेत फाइदा हुन्छ ।  तातो पानीले नाकमा जमेको सिँगान पगाल्छ र नाक खुल्छ ।

तनाव कम गर्न 

एक कप तातो पानी चिया पिएसरह पिउने गरेमा तनाव कम गर्न सहयोग पुग्नसक्छ ।  तातो चिया वा कफीले समेत मानसिक स्वास्थ्य सुधार्नमा सहयोग पुग्ने देखिएको छ ।  चिया वा कफीको केफिनले मानसिक स्वास्थ्य सुध्रने दाबी गरिन्छ तर तातोले समेत त्यसमा योगदान गर्ने कुरा  बिर्सनुहुन्न ।

तातो पानीको जोखिम 

तातो पानीको सबैभन्दा पहिलो जोखिम भनेको त तातोले पोल्ने नै हो ।  औँलाको टुप्पो वा औँलामा ठिक्क लाग्ने तातो पानीले जिब्रो वा घाँटी पोल्न सक्छ ।  त्यसैले निकै तातो पानी पिउनुहुँदैन ।  साथै तातो पानी भन्दै चिया र कफी धेरै पिउन थालेमा शरीरमा केफिनको दुष्प्रभाव पर्नसक्छ ।  (एजेन्सी)

ताजा खबर