उपत्यकामा कोरोनाले भयानक रुप लिनसक्ने विज्ञहरुको चिन्ता

२०७७ भदौ ६ शनिबार ०९:१८:०० मा प्रकाशित

काठमाडौं । कोरोना सङ्क्रमणले भयानक रुप लिनसक्ने आँकलन गरिएकै बेला एकैदिन ठूलो संख्यामा मानवीय क्षति समेत भएको छ । स्वास्थ्यविज्ञहरु यो महामारी अझै बढ्ने र यसले ठूलै मानवीय विनाश समेत गर्ने पूर्वानुमान गरिरहेका पाईन्छन् ।

लकडाउन खुला गरिएपछि नै नेपालमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको तथ्यहरुले पुष्टि गरिसकेका छन् । दक्षिणतर्फको खुला सीमा प्रभावकारी तरिकाले अनुगमन नगरिनु संक्रमण बिस्तारको मुख्य कारण मानिएको    छ । सीमावर्ती शहर बजार र बस्तीहरुमा समुदायमै संक्रमण फैलिँदै गएकोबेला त्यसलाई नियन्त्रण गर्न केन्द्र र प्रदेश सरकारहरु कमजोर सावित देखिएका छन् । केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा संक्रमण ह्वात्तै बढ्नुमा प्रवेशद्वारहरुमा परीक्षणमा देखिएको उदासिनता, शक्तिको दवाव, प्रभाव र हस्तक्षेप नै प्रमुख कारण रहेको सुरक्षा सम्बध्द सूत्रहरु बताउँछन् । विज्ञ र सुरक्षाकर्मीको कार्यक्षेत्रमा नाजायज हस्तक्षेप गरी निर्वाचन क्षेत्रका मतदाता ल्याउने लैजाने प्रतिष्पर्धामा जनप्रतिनिधिहरु नै संलग्न भएका घटनाहरुले जिम्मेवार को हो भनेर स्पष्ट पारेको छ । लकडाउन अवधिमा यस्ता गैरजिम्मेवार कार्य भएका थिए । अब त झन् समस्या चिन्ताजनक तरिकाले बढेको छ । यस्तो अवस्थामा पनि जथाभावी सवारी पास वितरण गर्ने र हस्तक्षेपहरु नियन्त्रण नगर्ने हो भने उपत्यकाले ठूलो विनाशको कहालीलाग्दो दृश्य देख्नुपर्ने हुनसक्छ । सरकारले यसतर्फ सचेत भएर निगरानी गरोस् ।

यतिबेला उपत्यका मात्र होइन बाहिरका शहर बजार र गाउँबस्तीमा पनि सङ्क्रमणको दर बढेर गएको छ । यसलाई रोक्न निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रणमा आउन सकिरहेको छैन । हिजो शुक्रबार मात्र देशभर आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भेटिए भने काठमाडौँमै झण्डै दुुई सयको संख्यामा थपिएका छन् । यसबाट नै प्रष्ट हुन्छ कोरोना संक्रमणले भयानक रुप प्रदर्शन गर्न थालिसकेको छ । युध्दस्तरको परीक्षण, व्यक्तिगत सावधानी र निषेधाज्ञाको पूर्णपालना तत्कालको सबैभन्दा प्रमुख उपचार देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा थप ८३८ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको विवरण प्रस्तुत गरेका छन् । योसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार १३२ रहेको छ ।

मन्त्रालयको विवरणले सङ्क्रमितको तुलनामा दैनिक निको हुनेको सङ्ख्या भने कम रहेको देखाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप २५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसहित निको हुनेको सङ्ख्या १८ हजार २१४ पुगेको छ । देशभरका क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् भने होम क्वारेन्टाइनमा मात्रै तीन हजार ५८६ जना छन् । यस्तै पछिल्लो समय काठमाडौँमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । एक महिला र १० पुरुषगरी थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । काठमाडौँ, मोरङ, पर्सा, बारा सप्तरी, चितवन, मकवानपुर, सर्लाही, ललितपुर, दोलखा र प्युठान जिल्लाका सङ्क्रमितको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ ।

यता कोरोना सङ्क्रमण बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार देशभर १४८ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।   १५ जना सङ्क्रमित भेन्टिलेटरमा र १३३ जना सङ्क्रमित आईसीयूमा उपचाररत छन् भने बाग्मती प्रदेशका मात्र ५२ जना आईसीयूमा रहेको थाहा भएको छ । 
 

ताजा खबर