अति नै गर्न थाले बा !

२०७७ भदौ ६ शनिबार ०८:४०:०० मा प्रकाशित

सौन्दर्यता, आतिथ्यता, कौतूहलता, अन्योलता, सामीप्यता, सान्निध्यता, धैर्यता, इमान्दारिता, सदाशयता, गाम्भीर्यता, रौनकता ... अझै कत्ति हो कति !

स्थापित लेखक, साहित्यकारका कृतिरआलेखहरूमै यस्ता शब्द भरमार देखिन थालेपछि म कसरी चुपचाप बसूँ ?

‘ता’ जोडिएका माथिका सबै शब्द अशुद्ध हुन् । कहिलेकाहीँ चिप्लिनु फरक कुरा हो तर आफूलाई लेखक भन्नेहरूले जानाजान ती शब्द लेख्छन्, बोल्छन् भने तिनलाई चड्काउनै पर्छ ।

नेपाली भाषामा कतिपय ‘विशेषण’ लाई ‘नाम’ बनाउनुपर्दा वा केही नामलाई भाववाचक स्वरूप दिनुपर्दा ‘ता’ जोडिन्छ । ‘कोमल’ विशेषण हो, त्यसमा ‘ता’ जोडेर भाववाचक नाम ‘कोमलता’ बनाइन्छ । ‘धीर’ विशेषण हो, ‘ता’ जोडेर ‘धीरता’   बनाइन्छ । ‘सुन्दर’ विशेषण हो, ‘ता’ जोडेर ‘सुन्दरता’ बनाइन्छ । ‘गम्भीर र गम्भीरता’ अर्को उदाहरण हो । यी स्थापित अभ्यासहरू हुन्, हामी सबैले विद्यालय तहमै सिकेका ।

भाववाचक नाम वा एउटा भाववाचक प्रत्यय लागिसकेका शब्दहरूमा फेरि अर्को प्रत्यय नलाग्ने कुरा भाषाविदहरूले पटक(पटक औंल्याएका छन् ।

उदाहरणका लागि, ‘सौन्दर्य’ आफैंमा भाववाचक ‘नाम’ हो । त्यसमा ‘ता’ जोडेर ‘सौन्दर्यता’ बनाउनु गल्ती हो । आतिथ्य, कौतूहल, अन्योल, सामीप्य, सान्निध्य, धैर्य, इमान्दारी, सदाशय, गाम्भीर्य, रौनक, माधुर्य, चातुर्य, वात्सल्य, तादात्म्य, प्राधान्य आफैंमा ‘नाम’ हरू हुन्, धैरैजसो भाववाचक नाम । तिनमा ‘ता’ जोड्नु हामीले विद्यालयमै पढेको व्याकरणलाई पोलेर खानु हो, आफ्नै भाषालाई हेप्नु हो ।

‘आतिथ्यता, कौतूहलता, अन्योलता, सामीप्यता, सान्निध्यता, धैर्यता, इमान्दारिता, सदाशयता, गाम्भीर्यता, रौनकता, माधुर्यता, चातुर्यता, वात्सल्यता, तादात्म्यता, प्राधान्यता...’ सबै गल्ती हुन् । नेपाली भाषामा यी शब्द प्रयोग हुँदैनन् । कसैले यस्ता शब्द प्रयोग गरेको देखियो, सुनियो भने तुरुन्तै खबरदारी गरौं । यस्तो ‘ता’ आतङ्कले हाम्रा शब्द र भाषालाई नै विरूप बनाइरहेको चुपचाप नहेरौं ।

नजानेको सिकौं । 

आफूलाई नेपाली भाषाको अनन्य सेवक भन्नेहरूले यस्ता सामान्य कुरा पनि ख्याल गर्दैनन् भने उनीहरू भाषासेवी हैनन्, व्यभिचारी हुन् ।
(पत्रकार पेशल पोखरेलको चड्कन हो भाषामाथि खेलबाड गर्ने सबैलाई)

ताजा खबर