किन मुलुकबारे आशा गर्ने ठाउँ देखिन्न ?
१. कम्युनिस्टहरूले शुरूदेखिनै नेपाली राष्ट्रियतालाई काङ्ग्रेस, भारत र अमेरिका विरोधी चरित्र प्रदान गरे । आन्तरिकरूपमा भारत, पश्चिमी मुलुकहरू र खास गरेर अमेरिका विरोधी राजनीति गर्नु तर परोक्षरूपमा सत्ता र शक्ति आर्जनकोलागि भारत र अमेरिकाकै शरणपर्ने गर्दा उनीहरूले एउटा जटील र परस्पर विरोधी राजनीतिक द्वन्द्व मुलुकमा उत्पन्न गरे । नेपाली राष्ट्रियताले आफ्नो धरातल निर्माण गर्नै सकेन ।
२. गज्जब बिडम्बना छ नेपाली राजनीतिको– आफ्नो राजनीतिक उत्थानको लागि राजसँस्थाबाट लिनुसम्म लाभ लिए पछि कम्युनिस्टहरूले राजसँस्थालाई मुलुकका समस्त अभाव र विकृतिको जड माने । त्यसैगरी आफ्नो राजनीतिक स्वार्थको लागि सधैँ वीपी भज्ने नेपाली काङ्ग्रेसनै वैचारिक र नीतिगतरूपमा नेपालमा वीपी कोइरालाको सवैभन्दा ठूलो विरोधी शक्ति बन्न पुगेको छ । त्यसैले काङ्ग्रेसले वीपी कोइरालाको नाउँ लिनु र केपी ओलीले राम र अयोध्याको राजनीति गर्नु उस्तै हो ।
३. ७० वर्षको अवधिमा वाह्य शक्तिहरूको सहयोगमा तीन पटक राज्य व्यवस्था परिवर्तन गर्ने र वाह्य शक्तिहरूकै अजेन्डामा राजनीति गर्ने र तिनै अजेन्डाहरूलाई समेटेर संविधान बनाउने मुलुकको स्वतन्त्रता र प्रभुसत्ता जीवन्त रहन सक्दैन ।
किन कि मूलतः मुलुक भनेको एउटा निश्चित भूगोल भित्रका जनताको सँस्था हो । नेपालमा संविधान सँस्था बनेन, सरकार सँस्था बनेन, संवैधानिक अङ्गहरू सँस्था बनेनन्, अदालत सँस्था बनेन ! राज्य नै सँस्था बनेन !
७० वर्षमा सातवटा संविधान बनाउने मुलुकले कसरी सँस्था बनाउन सक्नु ? हिन्दु धर्म, राष्ट्र, समाज र राजा एक हिसावले राष्ट्रको अस्तित्व र परिचयसँग अभिन्नरूपमा जोडिएका, राज्यको जन्मसँगै अस्तित्वमा आएका जन्मजात सँस्था थिए । तर ती सवै भत्काइए ! तिनमा समय अनुकूल सुधार र परिवर्तन आवश्यक थियो, त्यो गर्न सकिन्थ्यो तर तिनलाई ध्वस्त पारियो ।
जावो दल चलाउन, दलको सानो समितिको बैठकलाई नियमितता दिन नसक्ने, दलको विभाग र समितिहरू गठन गर्न नसक्नेहरूले कसरी राष्ट्रकालागि सँस्थाहरू निर्माण गर्नु ?
४. अहिलेका सवै दलका सवैजसो मूख्य राजनीतिक (?) व्यक्तिहरू गएको अढाई तीन दशकदेखि सत्ता र सरकारमा छन् । यो अवधिमा यिनले मुलुकलाई दिएको योगदान के हो ?
आखिरमा यी सवै विधि पद्धति, सँस्था–संरचना भत्काएर, ध्वस्त पारेर, असन्तुष्टि, अराजकता, हिंसा मच्चाएर सत्तामा आएका हुन् । आफ्नो स्वार्थको लागि र सामथ्र्यले भ्याए र सम्भव भए कुनै पनि क्षण यी पुनः त्यही रणनीति अवलम्वन गर्न सक्छन् ।
४७ सालको संविधानलाई काङ्ग्रेस र एमालेले फाले जस्तै अहिलेका राजनीतिक दलहरूले आफ्नो स्वार्थसिद्धिकोलागि परिआए जुनसुकै बेला यो संविधानलाई मिल्काइदिन सक्छन् ! त्यसपछि के हुने थाहा छैन ।
हिजो आफैँले बनाएको संविधानका प्रति, अहिलेकोले भन्दा बढी राष्ट्रिय स्वामित्व रहेको त्यो संविधान फाल्न किञ्चित नमान्नेले यो संविधान ?
५. यिनीहरूसँग नितान्त निजी स्वार्थ बाहेक कुनै पनि मूल्य, मान्यता र विश्वास भन्ने कुरै छैन । एउटा धर्महीन राज्य कर्महीन, कर्तव्यच्यूत र पुरुषार्थहीन र परिचय विहीन बन्न पुग्दछ । आस्था विहीन राज्य बन्न पुग्दछ ।
त्यस्तो राज्य उठ्दैन ! उठाउनका लागि हामीसँग न भरोसायोग्य विकल्प छ न कतै आडलाग्ने र आश गर्ने ठाउँ छ । हाम्रा सवै यिनले खोसिसके । हरण गरिसके । हामी हार्नुसम्म हारिसक्यौं । अव त हार्ने कुरा पनि बाँकी छैन ।
सवै हारिसकेपछिका जुवामा पत्नीसम्म हारेका पाण्डव जस्तै भएका छौँ हामी ! वनवास र गुप्तबासका लक्षहीन र भविष्य हराएका अनाथ यात्रु । स्वयम् भगवान कृष्ण साथमा, भीष्म र द्रोण जस्ता तत्कालिन समयका सवैभन्दा पराक्रमी व्यक्तिहरूको शुभेच्छा र सद्भावना, कुन्ती र गान्धारी जस्ता महाशक्तिशाली नारी शक्तिहरूको आशिर्वाद रहँदा रहँदै पनि राज्य, धन सम्पत्ति, इष्ट मित्र, शुभेच्छुक सवै त्यागेर बन बन भट्कदै हिँड्नु परेको अवस्थाका पाण्डव जस्तै बनेका छौँ हामी ।
ल पछि पाण्डव हस्तिनापुर फर्किए रे ! तर आखिर त्यत्रो युद्धपछि, सवै सन्तान, नाता गोता, कुटुम्ब, इष्ट मित्र, शुभेच्छुक गुमाएर हस्तिनापुर पाएका त हुन् नी पाण्डवले !
६. आखिर यो व्यवस्थामा दुई तिहाई निकट संसदीय स्थान र त्यो भन्दा पनि बढी वर्चस्व प्रदेश र स्थानीय तहमा कम्युनिस्टहरू पुग्दा पनि किन यो राजनीतिक अस्थिरता र अन्यौल ? किन यिनीहरूलाई हटाउन र टिकाउन पनि विदेशीहरू नै उभिनु पर्ने ? किन कि कम्युनिस्टहरू स्थिरताका श्रोत होइनन् । संसारभरी कतै होइनन् ! अस्थिरताको जड नै उनीहरू हुन् । वैचारिक अन्यौल नै उनीहरूको राजनीतिक परिचय हो ।
जनताको बहुदलीय जनवादमा तीन दशक भन्दा लामो आभ्यास गरिसकेको पार्टी त एकाएक चुनावी स्वार्थकोलागि आफ्ना सवै विचार, मान्यता, विश्वास, अभ्यास र परम्परा परित्याग गर्न सक्छ भने अझै हिंसाको राजनीतिको धंगधंगी नमेटिएको पार्टीले कसरी स्वस्थ्य बहुदलीय राजनीतिमा विश्वास गरिरहेको होला ?
७. यो सवैको लेखाजोखा यो मुलुक र यहाँको राजनीति र यहाँको नागरिक र वौद्धिक समाजले गर्न सक्दैन, गर्न सकिरहेको छैन, किन कि यहाँ त्यस्तो समाज नै छैन । विदेशीले लगानी नगर्ने अवस्थामा यहाँको कुनै वौद्धिक (?) ले कलम चलाउन सक्दैन । विदेशीले धाप नमारेसम्म कुनै नागरिक समाज उठ्न सक्दैन यहाँ !
यहाँका वौद्धिकहरूको कलम विदेशीको लागि मात्रै हो । त्यताबाट आउने लाभका लागि मात्रै हो, मुलुकका लागि होइन । उसको कलम राष्ट्रिय प्राथमिकताको विषयमा चल्दैन । चल्न जान्दैन । अरूको प्राथमिकतामा मात्र चल्दछ ।
८. तर वाह्य शक्ति राष्ट्रहरू भनेका त्यस्तै हुन् । सय पाँच सय वा हजार वर्ष अघि पनि ती यस्तै थिए र आज पनि त्यस्तै छन् । देखिने र पढिने नियम, कानुन राम्रो बनाएका छन् तर गर्ने नियम–कानुन त्यस्तै हो । उनीहरूले आफू अनुकूल क्षेत्रीय र विश्व व्यवस्था निर्माण गर्ने हुन् । आफ्नो मुलुकको राष्ट्रिय हित, लक्ष, आफ्ना जनताका आस्था, विश्वास, मूल्य र मान्यताहरूका रक्षाकालागि अन्य मुलुकहरूको सम्वन्धमा उनीहरू ढाँट्छन्, छल्छन्, षड्यन्त्र गर्दछन्, विश्वासघात पनि गर्दछन् ।
आफ्नै मुलुकको कानुन पनि उल्लङ्घन गरेर वाह्य मुलुकमा आफ्नो हित र स्वार्थ अघि बढाउँछन्, व्यवस्था परिवर्तन गरिदिन्छन्, सत्ता पल्टाइदिन्छन् । विद्रोह मच्चाइदिन्छन्, प्रतिविद्रोह पनि गराइदिन्छन् । मुलुक विभाजित गरिदिन्छन् !
यो हिजो पनि गर्थे, आज पनि गरिरहेका छन् र भोली पनि गर्छन् । त्यस्तो गर्ने संरचना पनि हुन्छ उनीहरूसँग !
९. मेरो मुलुक कुनै शक्ति राष्ट्र हुन्थ्यो र म मेरो मुलुकको मूख्य जिम्मेवारीमा हुन्थेँ भने म पनि गर्थेँ । तपाइँ पनि गर्नु हुन्थ्यो होला ! यो कसैले कसैलाई सरापेर रोकिने कुरा होइन, त्यस्ता कुरा विरूद्ध सवल राष्ट्रिय क्षमता निर्माण गर्ने हो, राष्ट्रिय संरचना निर्माण गर्ने हो ।
अर्काकोलागि आफ्ना मुलुकका संरचना र क्षमता निर्माण गर्न भन्दा तिनलाई भत्काउन र ध्वंशगर्न गौरव मान्नेले त्यसो गर्न सम्भव हुने कुरै भएन । त्यसैले त्यहाँ आशा गर्ने ठाउँ नै रहेन !
१०. विदेशीको आड र बलमा मात्रै हालसम्मका सवै राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तन पढेको, देखेको र भोगेको मैले अर्को परिवर्तन आउने हो भने फेरी पनि विदेशी कै भरमा आउने हो । त्यसैले म आशावादी छैन म निराशावादी बनेको छु !
तर तपाइँले आशाको किरण देख्नु भएको छ भने मेरो शुभकामना !