कोरोना कहर: २४ घण्टामा ११ को ज्यान लियो

२०७७ भदौ ५ शुक्रबार २०:४४:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको ज्यान गएको छ ।समुदायस्तरमा फैलिएको भाइरसले अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो । एकमहिला र दश पुरुषको भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा त्यसरी मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

 मृत्यु हुनेमा काठमाडौं, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, मकवानपुर, दोलखा र प्यूठानका एक एकजना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

कहाँ कतिको ज्यान गयो ?

  बलम्बु अस्पतालमा दुई

काठमाडौंमा कोरोनाभाइरस सङ्क्रमित थप दुई बिरामीको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत दुई जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुका निर्देशक डा. प्रवीण नेपालले मृतक काठमाडौँ बालुवाटार र सप्तरी राजविराजका गरी दुई जना पुरुष रहेको बताए ।

“हिजो साँझ होम आइसोलेसनमा अवस्था जटिल भएपछि बालुवाटारबाट अस्पताल ल्याइएका ७६ वर्षीय पुरुषको अस्पताल भर्ना गरिएको एक घण्टाभित्रै मृत्यु भएको हो ।” डा. प्रवीण नेपालले बताए। बालुवाटारका कोभिड–१९ बिरामी करिब छ दिनदेखि ‘होम आइसोलेसन’मा बसेका थिए । उनी ७६ वर्षीय पुरुष हुन्।

सप्तरीका राजविराजका ७७ वर्षीय वृद्धलाई समेत बिहीबार नै बलम्बु अस्पताल पुर्याइएको थियो । सप्तरीबाट ३० गते उपचारका लागि काठमाडौँ ल्याइएका बिरामीको ग्रीनसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

साउन ३२ गते कोभिड–१९ को पुष्टि भएपछि उपचारकै क्रममा अवस्था जटिल भएपछि पाइपसहित भदौ ४ गते बलम्बु अस्पताल ल्याइएको थियो । साँझ नै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएकोमा आज बिहान दश बजे करिब उनको निधन भएको हो ।  दुवै जनाको शव व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएको छ ।

        पाटन अस्पतालमा दुई

ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने एक महिला र एक पुरुष छन् । दुवै जना जटिल अवस्थामा उपचारका लागि बाहिरबाट रेफर भएर आएका बिरामी रहेको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार दुवै जनाको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको छ । दोलखा निवासी ३० वर्षीया महिलाको उपचारको क्रममा बिहान करिब चार बजे मृत्यु भएको डा. गेलालले बताए । उनी भदौ २ गते अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

सर्लाहीको मलङ्गवा निवासी ४६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट शुक्रबार बिहान करिब साढे पाँच बजे निधन भएको हो । उनी साउन ३१ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

    विराटनगरमा होम आइसोलेसनमै मृत्यु

कोरोना सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमै रहेको अवस्थामा एकजना पुरुषको मृत्यु भएको छ । विराटनगर–६ निवासी ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको हो । सुगर र प्रेसरले लामो समयदेखि ग्रसित पुरुषलाई भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिए। सङ्क्रमण पुष्टि भएपछि घरमै सुरक्षित राखिएको अवस्थामा बिहीबार बेलुका एक्कासि मृत्यु भएको उनले बताए।

घरमै मृत्यु भएपछि शव व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ । परिवारले हिजो बेलुकै मृत्यु भए पनि अध्यक्षलाई बिहान मात्रै जानकारी भएको थियो ।

शुक्रबार बिहानै विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई वडा अध्यक्ष आफैँ जानकारी गराएपछि नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने भएको छ ।

योसँगै विराटनगर महानगरपालिकामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । मोरङको बुढीगङ्गा गाउँपालिकामा दुई जना, रङ्गेली र सुनवर्षी नगरपालिकामा एक–एक जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा मोरङका १२ सहित सुनसरी धरानका एकजना गरी १३ जनाको र उपचारका लागि प्रदेश २ बाट आउने चार जनाको मृत्यु भइसकेको छ ।             

प्यूठानका पुरुषको बुटवलमा मृत्यु

 प्यूठानमा कोभिड–१९ का कारण एक व्यक्तिको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी ६५ वर्षीय पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोभिड हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उक्त व्यक्तिको स्वाब साउन २६ गते लिइएको थियो । साउन ३२ गते पोजिटिभ रिपोर्ट आएपछि उपचारका लागि बुटवल रिफर गरिएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो । मृत्यु भएको व्यक्तिलाई दमको समस्या रहेको उहाँले जानकारी दिनुभयो । प्यूठानमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।

भरतपुर अस्पतालमा सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं। १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो ।

मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए। उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । 

पर्सामा उपचाररत थप २ जना संक्रमितको मृत्यु

पर्साको वीरगञ्जमा रहेको बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा २४ घण्टामा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको छ । बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पताल विहीबार साँझ साढे ७ बजे १ जना र शुक्रबार दिउसो १ बजे १ जना गरी २ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

बीरगञ्ज हेल्थ केयरमा अस्थायी कोभिड अस्पताल उपचाररत बीरगञ्ज महानगरपालिका वडा न १५ प्रतिमा चोकका ७१ वर्षीय संक्रमित पुरुषको हिजो बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

यसै गरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय संक्रमित पुरुषको शुक्रबार दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलवार स्वास्थ्यमा समस्या आई नारायणी अस्पतालमा भर्ना गरिएका बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चोकका ७१ वर्षीय पुरुषको स्वाब परिक्षण गर्दा बुधबार कोभिड पोजेटिभ देखिएपछि बुधवार साँझ थप उपचारका लागि बीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

बीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारकै क्रममा बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको डा. दिपक कुशवाहले बताए। मृत्यु भएका क्षयरोग, मधुमेह, थाईराइड र उच्च रक्तचापका रोगी वृद्धमा पछिल्लो समयमा ज्वरो, खोकीका साथै निमोनियाले ग्रसित पारेकाले कोरोना संक्रमणको कारण मृत्यु भएको डा. कुशवाहले बताए ।

त्यस्तैगरी शुक्रबार दिउसो १ बजे उपचारको क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय पुरुष उच्च रक्तचाप र मुटु रोगी रहेको बीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालका उपचारमा संलग्न डा. दिपक कुशवाहले जानकारी दिए। उनका अनुसार साउन ३२ गते कोरोना संक्रमण पुष्टि भएदेखि उनको बीरगञ्ज हेल्थ केयरमा अस्थायी कोभिड अस्पतालमा उपचार भईरहेको थियो ।

ताजा खबर