‘नेपाल कविता फुल्ने देश हो,अर्को पटक यहीँ जन्मन पाउँ’ – राष्ट्रकवि माधवप्रसाद घिमिरे

२०७७ भदौ ३ बुधबार १५:१२:०० मा प्रकाशित

अघिल्लो बर्ष राष्ट्रकविको जन्म दिवसमा प्रकाशित यो वार्तालाप उहाँको सम्झनामा

काठमाडौं । ७ असोज मंगलबार सय पुगेर एकसय एक वर्ष टेक्न लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरेमा बुढ्यौलिको असर नै छैन भन्दा पनि हुन्छ । उनको चिन्तन धारा,समयचेत र साहित्य,कला संस्कृतिप्रतिको चिन्तामा उमेरको कुनै असर पाईँदैन ।

अहिले पनि ‘ऋतम्भरा महाकाव्य’ लेखिरहेका राष्ट्रकवि घिमिरे घरबाहिरका कार्यक्रममा समेत सहभागि हुन छाडेका छैनन् । सोमबार हामी कविकुञ्ज पुग्दा उनी कुनै कार्यक्रममा सहभागि हुन जाने तर्खरमा थिए । तर केहीबेर रोकिएर हामीसँग उनले देशको साहित्य,कला,संस्कृति र राष्ट्रप्रेमका बारेमा खुलेर कुरा गरे ।


‘देश गरीब भएका बेला पनि कविता फुलेको धरति हो नेपाल’ उनले भने–‘नेपालमा कला–साहित्यको पूजा गरिन्छ । यहाँ स्रष्टाहरुलाई कविशिरोमणी, राष्ट्रकवि भन्ने चलन छ ।’

राष्ट्रकविको एउटा इच्छा छ–‘म अर्को जूनिमा पनि यहि मुलुकमा जन्मन पाउँ । यस्तो विराट यस्तो अनुपम मुलुक कहाँ पाईन्छ, फेरि जन्मने अवसर पाएँ भने यही धरतिमा जन्मन पाउँ ।’

नेपाल प्राकृतिक रुपले सम्पन्न भूमि भएर पनि उन्नति हुननसकेकोमा राष्ट्रकविलाई चिन्ता लागेको छ । मरुभूमि भएका देशमा केहि नहुँदा पनि थुप्रै विकास भएको छ तर नेपाल सर्वसम्पन्न भएर पनि धेरै चिज कमि रहेको उनको भनाई छ ।


जनजनमा भिजेको शोककाव्य ‘गौरी’ र प्रशिध्द गीति नाटक ‘मालति मंगले’ जस्ता अमर कृतिका रचनाकार घिमिरेका हिमालपारी हिमालवारी,अस्वस्थामा,राजराजेश्वरी र शकुन्तला जस्ता ओजस्वी सिर्जना नेपाली साहित्यले पाएको छ ।


राष्ट्रकवि घिमिरेले आफ्नो देशलाई साहित्यको माध्यमबाट पुर्याएको योगदान अतुलनिय छ,बन्दनीय पनि छ । एकसय एक वर्ष पदार्पण गरेको सुखद अवसरमा हामी राष्ट्रकविप्रति सादर सुस्वास्थ्यको मंगलमय शुमकामना अर्पण गर्दछौं ।

राष्ट्रकवि घिमिरेको रोचक भिडियो संवाद हेर्न यहाँ क्लिक गरौं–

 

ताजा खबर