कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

२०७७ भदौ २ मंगलबार १२:०३:०० मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणले तीनजनाको ज्यान लिएको छ । नवलपरासी, पोखरा र धुलिखेलमा एकेक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्थानीय अस्पतालहरुले जानकारी दिएका छन् । 

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका अनुसार, पश्चिम नवलपरासीका सो पार्टीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ ।

उपचारको क्रममा गिरीको निधन भएको जानकारी काँग्रेसले दिएको छ । पार्टी समायोजनको क्रममा गिरी असार २९ गतेदेखि जिल्लाको काँग्रेस उपसभापति चुनिएका थिए ।

पोखरा

यसैगरी तनहुँकी एक जना कोरोना सङ्क्रमित महिला महिलाको पोखरामा मृत्यु भएको छ । पोखराको हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु भएको हो ।

अस्पतालका डा पदमबहादुर खड्काका अनुसार प्रयोगशालाले अस्पताललाई यसबारे जानकारी गराएको छ । ती महिलामा निमोनिया, मधुमेहलगायत अन्य रोग पनि थिए । उनको आईसीयूमा उपचार भइरहेको थियो । तनहुँको व्यास नगरपालिका(१ घर भएकी ५० वर्षीया महिलाको मृत्युपछि मङ्गलबार बिहान कोरोना पोजिटिभ रहेको रिपोर्ट आएको छ ।

साउन ३२ गते उपचारका लागि छोरीसहित पोखरा आएकी ती महिलाको गएराति मृत्यु भएको हो । शवलाई नेपाली सेनाले पोखरा ३२ मजुवानजिकै घाटमा व्यवस्थापन गर्नेछ ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । यसअघि मृत्यु हुनेमा स्याङ्जाका दुई, बागलुङ, कास्की र गोरखाका एकएक जना रहेको थाहा भएको छ ।

पोखरामा १५ सहित गण्डकीमा २५ सङ्क्रमित

मङ्गलबार बिहान र सोमबार राति गरेर पोखरा महानगरपालिकामा १५ जनासहित गण्डकी प्रदेशमा २५ जना नयाँ कोरोना भाइरस सक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार बिहान थपिएका चार जनामध्ये दुई जना पोखरा महानगरपालिका वडा नम्बर ६ का २३ र २८ वर्षीय पुरुष छन् भने दुई जना महिलाको ठेगाना खुलेको छैन ।

धुलिखेल

 धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ । उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो ।

वृद्धावस्था रहेकाले रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेपछि अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पर्ने डाक्टरको सुझाव थियो । तर समय मै ‘ए’ प्लस पोजिटिभ रगत नपाएको परिवारले जनाएको छ । प्लाज्मा थेरापीका लागि सङ्क्रमण भएर निको भएका जुन समूहको बिरामी हो, त्यससँगै मिल्ने समूहको रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ । उनमा कोरोना पोजिटिभ देखिएलगत्तै उनीसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । उनीहरू दुवै जना काठमाडौँमा उपचाररत छन्। परिवारका अन्य सदस्यहरूको पनि कोरोना परीक्षण भइरहेको छ ।

उनको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने बताइएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले कोरोनाका कारण काभ्रेका दुई जनाको मृत्यु भएको जानकारी दिए। यसअघि पाँचखाल नगरपालिका वडा नं १ घर भएकी ५० वर्षीया महिलाको कोरोनाकै कारण साउन २६ गते किस्ट अस्पताल काठमाडौँमा निधन भएको थियो । उनका अनुसार काभ्रेमा सङ्क्रमितको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचाररत रहेको झाले बताए ।

ताजा खबर