‘यो लडाईं इमान भर्सेस बेइमानको लडाईं हो’

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंको क्षेत्र नम्बर ४ मा सुबुना बस्नेतलाई अघि सारेको छ । यो क्षेत्रमा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई उम्मेदवार छन् । यो क्षेत्रमा  विवेकशील साझा पार्टीबाट सुबुना चुनावी दौडमा होमिएकी छन् ।
इलाममा जन्मिएकी सुबुना २६ वर्षकी भइन् । उनी राजनीति होमिएको भने चार वर्ष मात्रै भयो । विवेकशील नेपाल मञ्चको सदस्य हुँदै पार्टी केन्द्रीय सदस्य भएकी उनी एमबीए अध्ययनरत छिन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरेको अभियानमा उनले सक्रिय सहभागिता जनाउँदै आएकी थिइन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने निर्णय आफ्नो र पार्टी दुबैको भएको उनको भनाई छ । सुबुनासँग सरल पत्रिकाको लागि सुकृत नेपालले गरेको कुराकानी जस्ताको तस्तै :

म इलाममा जन्मिएकी हुँ 

१२ कक्षासम्म इलाममा पढेर स्नातक तह पढ्नको लागि म बिराटनगर आएँ । बिराटनगरमा पनि स्नातक तह पनि नसकिकन नै मास्टर पढ्नकोे लागि काठमाडौं आएँ । मैले एसएलसी पास गरेदेखि नै काम गर्न थालेकी हुँ । मैले बिभिन्न क्षेत्रमा काम गरें । शिक्षा क्षेत्रमा बिशेष गरेर २ वर्ष जति मन्टेश्वरीमा पढाएँ । मैले जनआन्दोलनताका पहाडतिर ७, ८ कक्षाका बिद्यार्थीहरुलाई पनि पढाएँ । त्यसपछि म बिराटनगर आइसकेपछि एउटा कलेजको लाइबे्ररीमा काम गरें । त्यसपछि काठमाडौं आइसकेपछि चाहिँ जागिर कै हिसाबले मैले इलिट स्कुलहरुका बालबालिकालाई गाउँले जीवनको महशुस गराउने एउटा कार्यक्रम थियो लिडरशिप बिल्डिङ र कम्युनिकेसन अफिस भन्ने थियो त्यसमा मैले बृहस्पती बिद्या सदन र काष्ठमण्डपका बिद्यार्थीहरुलाई बिभिन्न ठाउँमा लैजाने गर्थें । त्यसपछि मलाई अलिकति उद्यमशीलताको क्षेत्रमा रुची बढ्न थाल्यो । उद्यमशीलता बिकासको क्षेत्रमा धेरै कामहरु गरेकी छु । उद्यमशीलतामा काम गरेको  करिब चार वर्ष पुग्यो ।

  राजनीतिमा आउनुको कारण

म राष्ट्रिय राजनीतिमा नौलो थिएँ तर पार्टीको राजनीतिमा भने नौलो थिईन । मेरो सानै देखि नै राजनीतिमा रुची थियो । म सानै देखि राजनीतिक कुराहरुमा जानकारी राख्थें । म बिवेकशिल पार्टी एउटा नयाँ बैकल्पिक शक्तिको कल्पना हुँदै गर्दा राजनीतिमा होमिएकी हुँ । त्यो बेला म सामाजिक सेवा मार्फत उज्जवल थापासँग सम्पर्क भइसकेपछि म सँगसँगै पार्टीमा लागेकी हुँ । बिगत ६ वर्ष देखि पार्टीलाई स्थापित गर्नको निम्ति आन्तिरक रुपले नेतृत्वदायी भूमिका खेलिरहेकी थिएँ । महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निवार्चित भएकी हुँ । पार्टी स्थापना गर्दा हामीले मेची महाकालीसम्म एउटा पदयात्रा पनि गरेर ठाउँ ठाउँमा नेपालमा बुझ्नु पर्छ भन्ने अभियान गरेका थियौं , म राष्ट्रिय संयोजक थिएँ । 

निर्वाचनको एजेण्डा के

मेरो एजेण्डा भन्दा पहिलो कुरा त जनताले हरेक पटक हरेक किसिमका मान्छेलाई मौका दिइसके तर परिवर्तन त आएन नी । किन आएन त भन्ने प्रश्नमा मलाई के लाग्छ भने अब नीति होईन नियत बदल्न जरुरी छ । अब पाटी होइन परिपाटी बदल्न जरुरी छ, जसले गर्दा अब व्यवस्था मात्र नबदलियोस् कि आम जनताको अवस्था पनि बदलियोस् । त्यस्तो खालको एउटा सोचाई जरुरी छ । त्यसको लागि हामीले पटक पटक मौका दिएका मान्छेले नि गरेनन् भने हामी यस्तो सोच लिएर आएका छौं कि अब राजनीतिलाई नै हामीले पुनव्र्याख्या गर्नुपर्छ । राजनीति के का लागि त ? यदी राजनीति जनताको हितको लागि हो भने अहिलेको राजनीतिले त्यसमा काम गरेको छ त भनेर प्रश्न गर्ने बेला भएको छ । त्यसको विकल्पमा मैले एउटा सुसंस्कृत राजनीतिको जगमा राजनीति गरेर आएकी व्यक्ति हुँ । मैले कहिले पनि राजनीतिको नाममा मेरो पुस्तकलाई जलाउने, बिद्यार्थीलाई कर गरेर टायर बाल्न लगाउने, कलेजको परिसरमा जथाभावी फोहोर गर्ने, बिभिन्न पर्चाहरु टालेर फोहोरी राजनीति गर्ने गरिन। मैले पढ्ने बेलामा पढें र काम गर्ने बेलामा गरें।  एउटा वैकल्पिक राजनीतिक शक्तिलाई यहाँसम्म स्थापित गर्न नेतृत्वदायी भूमिका पनि खेलें । मैले नेपाल बुझेको छु र नेपालको माया गरेपछि एउटा सुसंस्कृत  राजनीतिलाई स्थापित गर्छु र भष्ट्राचारको जरो उखेल्छु भनेर म प्रतिबद्ध छु । त्यसकारणले गर्दा एकपटक मलाई मौका दिनुपर्छ ।

ठूला पार्टीका नेतासँग प्रतिस्पर्धा 

मलाई नेता ठूलो सानो भन्दा पनि मतदातासँग चासो छ । नेता त जस्तो भएपनि केही छैन । यो अवस्थामा म अहिले जहाँ उभिएकी छु, मलाई एउटा गहिरो जिम्मेवारी वोध भइरहेको छ । मलाई गगनजीसँग प्रतिस्पर्धा गर्दा कस्तो लागिरहेछ भन्दा पनि म जहाँ छु त्यो ठाउँमा म एक्लै भएको भएपनि कस्तो अनुभव हुन्थ्यो भन्ने वोध चाहिँ बढि छ । मलाई भित्रबाट एउटा जिम्मेवारी बोध पनि छ र ठूलो साहस पनि छ र त्यो अठोट पनि गरेकी छु मैले कि अब परिवर्तन सम्भव छ र म नै विकल्प बन्नुपर्छ ।  यो किनभने अहिलेसम्म नेपाली राजनीतिमा के भयो भने मैले सबैलाई नराम्रो भन्न त मिल्दैन किनभने ती व्यक्तिहरुले म चाहिँ राम्रो मेरो पार्टी चाहिँ खराब भनिराख्नु भएको छ । मलाई के लाग्छ भने यो कुनै पार्टी या व्यक्ति बिरुद्धको लडाईँ नै होइन । यो मेरो बेथिति बिरुद्धको लडार्इँ हो । कुनै व्यक्तिले म राम्रो मेरो पार्टी नराम्रो भनिराख्छ भने उहाँहरुले के सोच्नुपर्छ कि उहाँ व्यक्ति चाहिँ राम्रो हुने तर उहाँले नेतृत्व गरिरहेको पार्टी चाहिँ फोहोरी हुने जुन कहिले पनि हुनसक्दैन । किनभने पार्टी भनेको त्यहि व्यक्ति र व्यक्ति मिलेर बन्ने चिज हो । कि त यसमा त्यस्ता व्यक्तिहरुले बाहिर निस्केर पार्टी भित्रका कुराहरु निकाल्न सक्नुपर्यो । त्यसलाई परित्याग गरेर बाहिर आउन सक्नुपर्यो । होइन भने त्यहाँभित्र बसेर म मात्रै राम्रो भनिराख्नुको कुनै तुक छैन । त्यसैले मलाई के लाग्छ भने यो मेरो व्यक्ति बिरुद्धको पार्टी बिरुद्धको लडाईँ होइन । यो इमान भर्सेस बेइमानको लडाईँ हो । त्यसैले म इमानको राजनीति स्थापित गर्न खोज्दैछु ।

उम्मेदवारी रहर कि वाध्यता ?

यो रहर पनि होइन, वाध्यता पनि होइन । यो चाहिँ कस्तो भने आज भन्दा सात आठ वर्ष अघि म यो बाटोमा हिडिरहँदा देखि नै मलाई थाहा थियो मैले परिवर्तनको सम्भावक बन्नुपर्छ । मैले यो अठोट नै गरिसकेकी थिएँ ।  यो राजनीतिक यात्रा मेरो नैराश्यबाट नै सुरु भएको हो । म पनि वाक्कदिक्क थिएँ । मसँगै पढिरहेका साथीहरु खाडिमा दुःख गरिरहेका छन् कि त म पनि उतै हिँड्नु पर्यो यो देशमा गरिखान सकिएन भनेर । मलाई पछुतो लाग्यो । कि त अब अर्को बुद्ध जन्मेलान् र यो देश भासिएर बिलाउला भनेर म कुरेर बस्नु पर्यो । त्यो पनि हुँदैन । यो भनेपछि अब विकल्प चाहियो भने म विकल्प बन्नुपर्छ भनेर आफूलाई सधैं तयार राखिराखेकी थिएँ । त्यो कारणले गर्दा मैले आज प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिन्छु भन्ने म पहिला नै पक्का थिएँ । तर मेरो पार्टीको संस्कार पनि कस्तो छ भने मैले नचाहिकन मेरो पार्टीले मलाई उठाउन पनि सक्थेन । पार्टीले नचाहिकन म मात्र उठ्छु भनेर रहर गरेर उठ्ने कुरा  थिएन । यो हाम्रो सोचसमझपूर्ण निर्णय हो । 

निर्वाचन खर्चको स्रोत ?

हामीसँग पार्टीमा अहिले पैसा छैन । हाम्रो यो दुईवटा पार्टीको एकिकरणपछि दुईवटासँग मिलाएर भएको भन्या चालिस पैत्तालिस लाख हो । त्यो भनेको कति नै पैसा हो र ? हाम्रो दुईवटा केन्द्रीय कार्यालय छ त्यहाँको घरभाडा नै एक लाख तिर्नुपर्ने हुन्छ । त्यसैले पैसा हामीसँग धेरै छैन । म एउटा केन्द्रीय समितिको सदस्य पनि भएको नाताले भन्दा हामीले अहिले कुनै पनि उम्मेदवारलाई पैसा दिन पनि सकेका छैनौं । हाम्रा हरेक उम्मेदवारहरुले आफ्नो स्रोत आफैं जुटाईराखेका छन् । हामीले आम मतदाताबाट सकिन्छ भने आफ्नो इष्टमित्रहरुसँग सहयोग मागेका छौं ।  मैले त अझै के गरिराखेकी छु भने म जहाँजहाँ भोट माग्न जान्छु त्यहाँ एउटा डोनेशन बक्स पनि घुमाइरहेकी हुन्छु । हाम्रो चुनावी अभियानमा त्यति धेरै खर्च पनि हुनेवाला छैन किनभने मैले मासुभात खुवाएकी छैन चना आलु खुवाएर सहयोगी साथीहरुलाई हिडाईराखेकी छु । कति सहयोगी मानिसहरु सित्तैमा काम गर्छु भनेर पनि आईरहनु भएको छ ।

निर्वाचन परिणाम के होला ?

यसमा के हुन्छ भने तपार्इँले हातमा एउटा चिज बोकिराख्नु भएको छ भने त्यो नछोडेसम्म अर्को चिज बोक्न सक्नुहुन्न नि त । त्यो हात त खाली हुनैपर्छ । कुनै पनि कुरा नयाँ स्थापित हुनलाई पुरानो कुरालाई बिस्थापित त गर्नु नै पर्छ । पुरानो कुरा काम लाग्ने हुने हो भने मान्छेले नयाँ कुरा खोज्दैन पनि किनभने तपाईसँग एउटा राम्रो गाडी छ । त्यो चलिरहेको छ र सबै कुरा ठीक छ भने तपाईँ किन नयाँ किने दुःख गर्नुहुन्छ, गर्नुहुन्न नि । अहिलेको राजनीतिक संरचना अहिलेको राजनीतिक संस्कार जुन नेपालमा छ, जुन भष्ट्राचारको चंगुलमा यसरी फसिसकेको छ कि त्यसले दिनहुँ यस्तो बेथितिलाई संस्थागत गरिराखेको छ । त्यो संस्कारलाई प्रोत्साहन दिइरहेको छ । युवालाई बिदेश पठाईरहेको छ । यस्तो खालको संस्कारलाई तोड्नको लागि कुनै न कुनै नयाँ कुरा त स्थापित हुनैपर्छ । हाम्रो सोच भनेको सुसंस्कत राजनीतिको सोचलाई हामी स्थापित गर्न चाहन्छौं । त्यो क्रममा उहाँहरु बिस्थापित हुनु भनेको स्वभाविक नै हो ।    
 


 

ताजा खबर