सशस्त्रमा ठूलो संख्यामा कोरोना संक्रमित फेला

२०७७ भदौ २ मंगलबार ०८:४८:०० मा प्रकाशित

चितवन । सशस्त्र प्रहरी बलभित्र ठूलो संख्यामा कोरोना संक्रमित फेला परेका छन् । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको थाहा भएको छ । दुई महिला र ४० पुरुष प्रहरीमा संक्रमण देखिएको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

 बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठका अनसार, यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएकोले जानकारी दिनुभयो । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको छ । नौ जनालाई ज्वरो आएकामा निको हँुदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको छ । बाहिनीमा ३०० सशस्त्र प्रहरी छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्छ ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको जानकारी दिएकी छिन् । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने बरालले बताईन् ।

 सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् । 

ताजा खबर