कोरोना कहर: मृत्यु सङ्ख्या १०७ पुग्यो, सोमबार तीनको मृत्यु 

२०७७ भदौ १ सोमबार १६:४२:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सोमबार तीनजनाको मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिलाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ ।

 पछिल्लो विवरण अनुसार कोरोना भाइरसका ५८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएकोमा ५८१  जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नौहजार ६३९ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार  २४१ पुगेको जानकारी दिएका छन्। मन्त्रालयका अनुसार, क्वारेन्टिनमा १५ हजार १५८  रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ७९५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

उपत्यकामा १९७ सङ्क्रमित

काठमाडौँ उपत्यकामा १९७ जना नयाँ थपिएका छन् । काठमाडौँमा १६८, ललितपुरमा १५ र भक्तपुरमा १४ जना थपिएका छन् ।

ताजा खबर