कवि विष्णु नवीनको सालिकसित

२०७७ श्रावण ३२ आइतबार १२:२५:०० मा प्रकाशित

चियाबारीको कुइनेटोमा

ध्यानमग्न चुपचाप कार्ल मार्क्सजस्तो

हुस्सुले उम्रेको तिम्रो गालामा पानीका थोपा

चिया टिप्ने मजदुरको पसिनाजस्तो

देब्रे कान पब्लिकहल गाउँ बस्तीतिर

दाहिने बजार होहल्लातिर

कविज्यू !

मारेर फालिएको साँपको लासजस्तो

भानुपथदेखि धोबीधारा

पिपलबोटेदेखि वालनगाउँ

तिमीले कविता नलेखी

बुख्याँचा भएर बसेको दशकौं भएछ

विकृति र विसङ्गतिमा रमाउने मान्छेले

तिमीलाई बौलाहा बनाएर

तिम्रो हातको कलम खोसिदिएछ

ब्युँझ ! निस्क !

सालिकको सामन्ती कैदबाट

र चुतिया समयविरुद्ध चेतनाले प्रहार गर

प्रहार गर

खानु, हग्नु, सुत्नु र उठ्नुको गोलचक्करलाई

यी जो छन् बजारमा हल्ला बेच्नेहरू

हातमा समाइसमाई हल्ला किन्न तान्नेहरू

र यी सुकिलामुकिला नाफाको जिन्दगी बाँच्नेहरू

यिनीहरूको स्तुतिगानमा कविता लेख्नेहरू देशैभरि छन्

प्रदेशैभरि छन् यिनीहरूको भक्तिभावमा शब्द खिप्नेहरू

तर लेख्नुछ तिमीले असली दुःखको कविता

बर्खायामको भलबाढीले खोलेको मान्छेको करङजस्तै

खियाले खाएको चुहिने टिनको छानोजस्तै

कुम्लो बोकेर नगरपालिका अगाडि

उकालोओरालो गरिरहने बौलाही कान्छीजस्तै

लेख्नुछ तिमीले चिसो भुइँको कविता

बेथिति विरुद्ध उभिनु छ तिमीले

सालिक भएर बसेपछि

कति भो तिमीले प्रश्न गर्नु छोडेको ?

तिम्रो छेउबाट हिँड्ने विद्यार्थीहरूलाई रोकेर सोध

किन उदाउनु छोड्यो क्याम्पसको प्राङ्गणमा उज्यालो घाम

र अँध्यारोको राजनीतिले बेरेको छ फूलबारी ?

तिम्रो छेउबाट भट्भटेमा हुइँकिने प्राध्यापकहरूलाई

घुच्चुकमै समातेर सोध

सिलेबल्सबाट कता बिलायो नैतिकताको नुन

र हस्ताक्षर मात्रै उपस्थित हुन्छ पुस्तकालयमा ?

पेरुङ्गोमा सुँगुरको बुच्चाबुच्ची च्यापेर

बारबस्तीबाट उक्लिहेको माइल्दाइको खुइलिँदै गएको उमेर

र तिम्रो खुइलिएको कुम

बूढो चियाबारीको बीचबीचमा झारपातले गरेको

निजी हस्तक्षेप

र हामी हिँड्ने बाटोमा कुकुर हगाउन निकाल्ने भलाद्मीहरू !

हो, उनीहरू मालिक भएर हेप्छन्

हामी सालिक भएर सहन्छौं

यो इलाम बजारको पुरानो अहंकारमा

सोडाले फुल्लिएको दोनटजस्तो अनुहार बोकेर

काफि छन् गोसखानतिर हिँडिरहेका बङ्गुरहरू

असारे अलकत्रा दलेर

प्रशस्तै छन् तासको अड्डातिर घुमिरहेका राँगाहरू

हामी सालिक भएर सहन्छौं

आँखा झिमिक् ‘माल’ गायब भनेझैँ

यहाँ त दोकान अगाडि झुन्डिएको

नीलो माक्सले पनि कालो सौदा गर्छ

तर पनि

हामी सालिक भएर सहन्छौं,

प्रिय विष्णु नवीन !

निस्केर आऊ सालिकको खोलबाट

तिमी र म केही थान कविता लेखौं,

कि हाम्रो इलाम बजार सिलिगुडी हुन लागेछ ।
 

ताजा खबर