काठमाडौं महानगर कोरोना महामारीको केन्द्र बन्ने खतरा  

२०७७ श्रावण ३२ आइतबार ११:४६:०० मा प्रकाशित

काठमाडौं । देशभर फैलिँदै गएको कोरोना संक्रमणले देशको केन्द्रीय राजधानीलाई नराम्ररी गाँज्दैलगेको तथ्यहरुले पुष्टी गरेका छन् । लकडाउन खुला गरिएपछि देशका विभिन्न भागमा संक्रमण फैलिनथालेसँगै उपत्यका समेत यातायात खुला भएपछि संक्रमण फैलिएको बताईएको छ । राजधानी काठमाडौं लगायत भक्तपुर र ललितपुरका बजार र गल्लीहरुमा स्थानीयले स्वतस्फूर्त सिल्ड गरेर आफ्नो सुरक्षा गर्न थालेका छन् । सरकारले संक्रमण परीक्षणमा ढिलाई गरेकाले महामारी फैलिएको भन्दै जनस्तरमा आक्रोश पनि बढ्दै गएको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, काठमाडौं महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट टे«ेसिङ गरिएको छ ।

हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट टे«सिङ गरिएकामध्ये ५८ जनामा सङ्क्रमण पाइएको छ । महानगरपालिकाले साउन २९ गतेसम्म कोरोना परीक्षणको नतिजा आएको र त्यसपछि गरिएका परीक्षणका लागि पठाइएका व्यक्तिहरूको नतिजा आउनै बाँकी रहेको जनाएको छ ।

जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीका अनुसार, “यो सङ्ख्यामा केही तलमाथि हुन्छ । किनभने ठूला अस्पतालको विवरण महानगरमा आएको छैन, ती अस्पतालले पनि महानगरमा बसोबास गर्नेहरूको परीक्षण र उपचार गर्नुभएको छ ।”

ओलीका अनुसार सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यालयमा परीक्षण गरिएको छ । यसरी गरिएका परीक्षणमध्ये केहीको सङ्ख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको सङ्ख्या प्राप्त हुन सकेको छैन । जसले गर्दा सङ्ख्यामा केही परिवर्तन हुनसक्छ ।

सङ्क्रमण बढ्दो दरमा रहेकाले पनि सङ्ख्या क्षणभरमै तलमाथि हुनसक्ने बताउँदै ओलीले भन्छन्, “अहिले (साउन २९ गते)सम्म महानगरमा भएका सङ्क्रमितको हाराहारी सङ्ख्या मात्र भन्नसक्ने अवस्थामा छौँ, २२० व्यक्ति घरमै आइसोलेसनमा छन्, स्वास्थ्य जटिलता बढ्दै गए उहाँहरू अस्पताल जानुहुन्छ ।” 

प्राप्त विवरण अनुसार सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वडा नं. ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका सङ्क्रमित यही वडामा जोडिएकाले यस वडामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो । वडा नं. २ मा अहिलेसम्म कोही पनि सङ्क्रमित भेटिएका छैनन् ।
 वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, “वडामा प्रचारप्रसार गरेका छौँ, सुक्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खबर गर्नोस् भनेका छौँ, अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आउनुभएको पनि छैन, अन्य व्यक्तिले जँचाएर सङ्क्रमण भएको पनि थाहा छैन ।”


वरिष्ठ कविराज निरीक्षक ओलीका अनुसार महानगरमा वडा नं. १ बाट ३७, वडा नं. ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना सङ्क्रमितको सङ्ख्या दर्ता भएको छ । यस्तै वडा नं. ४ बाट अख्तियारसहित ६१, वडा नं. ५ बाट १७, वडा नं. ६ बाट १५, वडा नं. ७ र ८ बाट क्रमशः १०÷१० जना सङ्क्रमित देखिएका छन् ।

यसैगरी, वडा नं. ९ मा पाँच, वडा नं. १० मा ३८, वडा नं. ११ मा १९, वडा नं. १२ मा १२, वडा नं. १३ मा ३३, वडा नं. १४ मा ५६, वडा नं. १५ मा १३, वडा नं. १६ मा ४६, वडा नं. १७ मा १४ जना सङ्क्रमित देखिएका छन् ।

यस्तै, वडा नं. १८, १९, २० र २१ मा एक÷दुई जना देखिएका छन् भने वडा नं. २२ मा चार जना देखिएका छन् । वडा नं. २३ मा १०, वडा नं. २४ मा २५, वडा नं. २६ मा १७, वडा नं. २७ मा ३४, वडा नं. २८ मा २७, वडा नं. २९ मा ३०, वडा नं. ३० मा १४, वडा नं. ३१ मा २८ र वडा नं. ३२ मा ५३ जना सङ्क्रमित देखिएको जानकारी महानगरपालिकाले दिएको छ ।

सङ्क्रमितको पहिचान, सङ्क्रमितको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्याक्ट टे«ेसिङ कार्यलाई तीव्र बनाएको छ । यसका लागि वडा क्लिनिकका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरू खटिएका छन् । गोरखापत्र दैनिकका अनुसार, सङ्क्रमित देखिएका ठाउँमा वडा कार्यालयहरूले प्रहरीसँग समन्वय गरी आवतजावत बन्द गरेर निगरानी गरिरहेका छन् ।  

ताजा खबर