भरतपुर अस्पतालका तीन चिकित्सक कोरोना संक्रमित

२०७७ श्रावण ३२ आइतबार ११:२७:०० मा प्रकाशित


 चितवन । चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित तीन चिकित्सकमा कोरोना सङ्क्रमण भएको थाहा भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालका मेसु डा. तिवारीलाई सङ्क्रमण पुष्टि भएको बताए । आइबार बिहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको सुनाए ।

डा.अधिकारीले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताए । यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अस्प्तालका अध्यक्ष डा. अधिकारीका अनुसार सङ्क्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए । अस्पतालका मेसु डा. तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा बसेका छन् । डा. तिवारी कोरोना सङ्क्रमित बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिँदै आइरहेका थिए ।

थप २८ जनामा कोरोना सङ्क्रमण

यसै बीच चितवन जिल्लामा एकै दिन २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति १२ बजेसम्म गरिएको गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । एकजना सर्लाही ठेगाना भए पनि उहाँ भरतपुर अस्पतालबाट स्वाब लिएका थिए ।

प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार सङ्क्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब सङ्कलनबाट भरतपुर महानगरपालिका वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका रहेका छन् । यस्तै महिलाहरू २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

यस्तै रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका वडा नं. ५ र १२ का तीन पुरुष र एक महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् ।

त्यसैगरी खैरहनी नगरपालिका वडा नं. ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । उहाँहरू दुवै जना क्वारेन्टिनमा थिए । यस्तै भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गोरखापत्र दैनिकका अनुसार, शनिबार कुल ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ वटा नमूनाको नतिजा नेगेटिभ आएको छ ।

ताजा खबर