प्रथम राष्ट्रपति रामबरण यादव बस्दै आएको निवासका बिषयमा सुरुका  दिनदेखि जेजस्ता विवादहरु आईरहेका छन्,यसले सिंगो देश र सबै नेपालीलाई लज्जित पारेको छ । देशको प्रथम राष्ट्रपति भनेको एउटा संस्था सरह हो,तर सरकारले भूतपूर्व मन्त्रीलाई जत्ति पनि महत्व नदिएर जसरी उनको मानमर्दन हुने व्यवहार गरिरहेको छ। यसले सरकार कतिसम्म कृतघ्न हुनसक्छ भन्ने कुरा पनि छर्लंग पारेको छ ।

प्रथम राष्ट्रपति यादवलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुध्दको मूर्ति उपहार दिएर शीतल निवासबाट विदा गरेका थिए । तर ओली पदमा बहाल रहेकै समयमा पनि घरभाडा,बिजुली पानी लगायतको कुनै व्यवस्था नगरेको भनेर विवाद सुरु भएको थियो । त्यसपछि सरकारका कुनै पनि जिम्मेवार पदाधिकारीले यसको समाधान गर्ने जिम्मेवारी पूरा गरेनन् । बरु राष्ट्रपति बिद्या भण्डारीले भने अनौपचारिक च्यानलबाट प्रथम राष्ट्रपतिसँग सम्पर्क गरी सोधखोज गरेकी थिईन् । त्यसयताका दिनहरुमा त्यो समस्या न्यूँकात्यूँ नै रहेको थियो । अहिले फेरि प्रथम राष्ट्रपतिको अपमान हुनेगरी विवाद उठेको छ । तर सरकार भने कानमा तेल हालेस बसेको छ ।

ईतिहासका विभिन्न कालखण्डमा मुलुकमा अनेक बलिदानीपूर्ण संघर्षहरु भए । जहानियाँ राणाशासनको अन्त्य गर्न होस् वा निर्दलीय पञ्चायती व्यवस्था पन्छाउन, धेरै महत्वपूर्ण आन्दोलन भएका छन् । प्रजातन्त्र, लोकतन्त्र हुँदै पछिल्लो पटक गणतन्त्र प्राप्ति एउटा महत्वपूर्ण उपलब्धि बनेको छ । यसलाई संस्थागत गर्न अझै मेहनत आवश्यक छ । तर यही उपलब्धिबाट स्थापित भएको एउटा संस्थाका ऐतिहासिक व्यक्तित्वप्रति राज्यको उदासिनता भने अचम्मलाग्दो देखिएको छ ।

  गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भोग्नुपरेको यो अपमानजनक व्यवहारको मुख्य कारण सरकार   हो र केवल सरकार मात्रै हो । पदावधि सकिएर बाहिरिनासाथ उनीप्रति राज्यले गर्दै आएको व्यवहार सर्वथा अनुचित छ । पूर्व राष्ट्रप्रमुख बस्नका लागि सरकारले उचित व्यवस्थापन गर्नु उसको कर्तव्य हो । तर, उनी बहालमा बसेको घरका धनीले भाडा नपाएको, बिजुली, पानी इत्यादिको रकम पाउन नसकेको भनेर सार्वजनिक रुपमा सूचना जारी गर्ने अवस्था आउनु साह्रै लाजलाग्दो अवस्था हो ।

एकातिर राजनीतिमा ‘गुण्डा नाइके’, विवादास्पद व्यापारी, ठेकेदार, भ्रष्टाचारमा मुछिएका जस्ता व्यक्तिहरुलाई सम्मानजनक स्थान दिने काम भइरहेको छ भने अर्कातिर राज्यले संरक्षण गर्नुपर्ने संस्था सरहका व्यक्तित्वहरु अपमानित हुने अवस्था आइरहेको छ । यतिमात्र होइन, सरकारका पूर्व कर्मचारी, पूर्वसांसद र अरु पदाधिकारीलाई विशेष सुविधा भनेर दिनसक्ने सरकारले प्रथम पूर्वराष्ट्रपतिका लागि एउटा निवासको व्यवस्था गर्न    सक्दैन ?

सरकारले आफ्नो अकर्यमण्यताका लागि प्रथम राष्ट्रपति र जनतासँग माफ माग्नुपर्छ । यो घटनालाई ख्यालठट्टाको बिषय बनाउनु महाभूल हुनेछ  । सरकारले यसलाई गम्भीर रुपमा लेओस्। 
 

ताजा खबर