बहुगुणी गहुँः तालु खुइलिन रोक्छ, स्वप्न दोष हटाउँछ, चर्किएको हड्डी जोड्छ

२०७७ श्रावण २८ बुधबार ०९:१६:०० मा प्रकाशित

चिकित्सा क्षेत्रमा गहुँको उपयोग अनगिन्ती पक्षमा हुने गरेको पाइन्छ । धानपछिको दोस्रो स्थानमा रहेको गहुँ लोकप्रिय अन्नबाली त हुँदै हो । यसले दैनिक उपभोग हुने अन्न भोजनबाहेक स्वास्थ्यका विविध पक्षमा पनि गुणकारी योगदान गर्ने विज्ञहरुले उल्लेख गरेका छन् । यहाँ तिनैमध्ये चिकित्सा क्षेत्रमा यसको उपयोग कसरी हुन्छ भन्ने बारेमा प्रकाश पारिएको छ:

विषमाः

पारा, तामा, जस्ता, चाँदी, राङ, आयोडिन खाएर लागेको विषमा गहुँको पिठो पानीमा घोलेर पिएमा विषको प्रभाव समाप्त हुन्छ । 

कुकुरले टोकेमाः

यदि कुकुरले टोक्यो भने टोकेको ठाउँमा गहुँको पिठोलाई पानीमा मिलाएर पट्टी बाध्ने र केही समयपछि अर्को कुनै कुकुरलाई खान दिने । त्यो पिठो कुकुरले खाएन भने पागल कुकुरले टोकेछ भनेर बुझ्नुपर्छ ।

विषालु किराले टोकेमाः

विषालु किराले टोकेमा गहुँको पिठोमा सिर्का मिलाएर लगाउनाले फाइदा हुन्छ ।

चोटको दुःखाइमाः

गहुँलाई कराहीमा राखी हल्का आगोमा भुट्ने गाढा खैरो या हल्का कालो बनाई निकालेर कुट्ने र धुलो पार्ने । त्यो धुलोमा समान भाग गुड र केही गाईको घ्यू मिलाई खुब मर्दन गरेर डेढ तोलाको गोली बनाउने । दैनिक त्यो गोली खाने गर्नाले चोट र दुःखाइमा फाइदा हुन्छ । यसलाई शाकाहारी मिमिया पनि भनिन्छ । यसले चौपाया पशुहरुको चोटपटकमा पनि फाइदा गर्दछ ।

यसमा चार तोला घ्यू एक मासा फिट्किरी भुटेर घ्यू निथारी सो घ्यूमा चिनी र गहुँको पिठो हाली हलुवा बनाउने । सो हलुवा खानुका साथै सो घ्यूको तल थेग्रिएको फिट्किरीमा सोही हलुवा अलिकति मिलाई चोट लागेको ठाउँमा लगाउने गरे निको पार्न सकिन्छ भनी चिकित्सा चन्द्रोदयमा हरिदार वैद्यले लेखेका छन् ।

दाद, अनुहारको चाया र सेतो दागमाः

गहुँको पाताल यन्त्रको सहायताले एक प्रकारको तेल निकालिन्छ । यो तेल लगाउनाले दाद, अनुहारको पोतो (चाया), सेतो थोप्ला(दाग) हरु र अन्य कतिपय छालाका रोगलाई ठीक गर्दछ ।

तालु खुइलिनेः

गहुँको तेल लगाउनाले टाउकाका रौं झर्ने रोग निको पार्दछ । रौं चिल्लो, नरम र कालो हुन्छ । रौं झर्ने र असमयमा फुल्ने रोगमा पनि अपूर्व फाइदा पुर्याउँछ । 

पोलेमाः

आगोले पोलेर उठेका फोकाहरुमा र छालाका घाउ, फोका आदिका कारणले भएका घाउमा गहुँको तेलले अपूर्व फाइदा गर्दछ । गहुँको पिठो पानीमा ठण्डा लेप गर्नाले पनि पोलेकोमा फाइदा गर्दछ ।

खोकीमाः

एक तोला गहुँ र दुइ मासा सिधे नुनलाई एक पाउ पानीमा पकाई तीन खण्ड पानी बाँकी हुँदा उतारेर छानी पिउनाले सात दिनमा खोकी ठीक हुन्छ । सुख्खा खोकीमा अनारको रसमा सक्खर, बबुलको चोप, बदामको तेल र गहुँको सत्त्व मिलाएर तातो बनाई पिउनाले सुक्खा खोकी ठीक हुन्छ ।

पत्थरीमाः

गहुँ र चना वा गहुँ र गहतलाई पकाई त्यसको पानी पिउनाले किड्नी र मूत्रालशयको पत्थर गल्दछ ।

मूत्रकृच्छ्रः

दुइ तोला गहुँको सत्त्व साँझ पानीमा भिजाएर सबेरै बिहान पिउनाले मूत्रकृच्छ हराउँछ । 

फोडा(फोका):

 गहुँको पिठोलाई घ्यू र नीमको पातको रसमा पकाएर बनाएको पुल्टिस फोडाको लागि हितकारक हुन्छ ।

छालाको फोकाः

छालाको फोका निस्की चिलाउने, पोल्ने भएमा गहुँको पिठो छर्कनाले फाइदा हुन्छ ।

घाउः

बेलुका सिंगो दाना गहुँ पानीमा भिजाउने र बिहान सो पानीमा मह मिलाई पिउनाले शरीरमा भएका घाउ छिटो निको हुन मद्दत गर्दछ ।

(स्रोत– ‘आरोग्यको मूलबाटो’) 

ताजा खबर