आज श्रीकृष्ण जन्माष्टमी, कोरोना कहरले मन्दिर देवालय सुनसान

२०७७ श्रावण २७ मंगलबार १०:०७:०० मा प्रकाशित

काठमाडौं । भाद्र कृष्ण अष्टमी श्रीकृष्ण जन्माष्टमी पर्वका रुपमा मनाईँदै आएको छ । त्यो दिन आजै हो र भगवान् श्रीकृष्णको पूजा आराधना गरी यो पर्व मनाइँदैछ । कोरोना महामारीले गर्दा मठमन्दिर गएर धुमधामसँग मनाईने यो पर्वलाई यसपटक सुविधाअनुसार सीमित रुपमा मनाउनुपर्ने वाध्यता परेको छ । 
 
श्रीकृष्णका ज्ञानयोग, कर्मयोग र भक्तियोगका कालजयी सन्देशले विश्वका असंख्य मानिस प्रभावित भएको मान्यता रहेको छ । यस सन्देशका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । यसदिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ । 

  यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरिने परम्परा रहेपनि यसपटक कोरोना संक्रमणले यसमा असर परेको छ । आजको दिन विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यसरी व्रत बसेर पूजाआजा गरेर भगवान श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए, जसको प्रभावबाट आज पनि विश्व समुदाय लाभान्वित रहेको पाईन्छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवत गीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । 

यो वर्ष कोरोनाका कारण गत चैत यता सबै नेपाली चाडपर्व ओझेल परेका छन् । भीभाडमा जाँदा कोरोना संक्रमण अझ फैलिन भन्दै सरकारले घरमै बसेर पूजा आराधना गर्नु आग्रह गर्दै आएको  छ ।

कृष्ण अष्टमीका दिन ललितपुर पाटनको मंगबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाले गर्दा स्थगित गरिएको छ । गत वर्ष आजको दिन पाटनको कृष्ण मन्दिरसँगै, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको मन्दिर र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना गरिन्थ्यो ।

पर्वका अवसरमा  रथयात्रा र शोभायात्रा गर्ने प्रलन पनि छ । तर यो वर्ष यी सबै ठाउँमा भीड नगर्न अपिल गरिएको छ । काठमाडौंमा अझ धेरै जोखिम रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीड नगर्न, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हरेक दिन अपिल गर्दै आएको छ ।

ताजा खबर