नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि

२०७४ कार्तिक २० सोमबार ०८:०२:०० मा प्रकाशित

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग निर्माणका लागि आगामी जनवरीभित्रै टेन्डर आह्वान गरिनेछ । ठेकेदार कम्पनी छनोट जेठ महिनासम्म सकिने र त्यसपछि निर्माणको काम सुरु हुनेछ । महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले डिपिआर तयारी अन्तिम चरणमा पुगेकाले सुरुङमार्ग निर्माणको काम चाँडै हुने बताए । 

४.५१ किमि सडकमध्ये सुरुङमार्ग २.४५ किमि

सडक विभागका अनुसार नागढुंगास्थित नेपाल आयल निगमको डिपोबाट सुरु भई सिस्नेखोलासम्मको सडकखण्ड ४.५१ किलोमिटर हुनेछ । त्यसमध्ये सुरुङको भाग २.४५ किमि हुनेछ । सुरुङमार्ग निर्माणको सम्पूर्ण काम ४२ महिनामा सकिने विभागले जनाएको छ । सुरुङमार्गको कुल बजेट २२.५६ अर्ब अनुमान गरिएको छ । त्यसमध्ये १६.५६ अर्ब दातृ निकाय जापान इन्टरनेसनल कर्पोरेसन एजेन्सी (जाइका)को हुनेछ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको रहनेछ । जाइकाले दिने आर्थिक सहयोग सहुलियत ऋण हो । त्यसबापत नेपाल सरकारले जापानलाई १० वर्षपछि ०.०१ प्रतिशतका दरले ब्याज भुक्तान गर्नुपर्छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरका अनुसार जापानको सहुलियत ऋणबाट बन्न लागेको यो नेपालकै पहिलो परियोजना हो । ‘सुरुङमार्ग निर्माणका लागि जापानले सहुलियत ऋण दिएको छ । यसले महत्वपूर्ण अर्थ राख्छ । नेपालको पूर्वाधार निर्माणमा यसलाई कोसेढुंगाका रूपमा लिनुपर्छ,’ मन्त्री बलायरले भने ।

यस्तो हुनेछ सुरुङमार्ग

महाशाखाका अनुसार सुरुङमार्ग तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट गुड्नेछन् । बाहिरिने सवारीसाधान एक लेनबाट जानेछन् । ‘सुरुङमार्ग तीन लेनको हुनेछ । दुईवटा लेनबाट सवारीसाधन भित्रिने र एक लेनबाट बाहिरिनेछन् । उपत्यका भित्रिने सवारीसाधन लामो दूरी तय गरेर आउँछन् । बिग्रने डर हुन्छ । यसका लागि दुई लेन छुट्याइएको हो । तर, बाहिरिनेमा त्यस्तो समस्या हुन्न,’ महाशाखा प्रमुख श्रेष्ठले भने ।

उनका अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कम्तीमा २५ र बढीमा ५० रुपैयाँ ‘टोल ट्याक्स’ तिर्नुपर्ने हुन्छ । यात्राको समय छोटिने मात्र नभई सुविधासम्पन्नसमेत हुने भएकाले ‘टोल ट्याक्स’ प्रणाली राखिने उनले बताए । ‘पेइङ रोडका रूपमा विकास गर्न लागिएको हो यो सुरुङमार्ग । विदेशमा यस्ता धेरै सडक छन्,’ उनले भने ।

ट्राफिक समस्या शतप्रतिशत नियन्त्रण हुने दाबी

सुरुङमार्ग निर्माणपछि उपत्यकाबाट बाहिरिने सवारीसाधनले भोग्ने गरेका ट्राफिक समस्या शतप्रतिशत नियन्त्रण हुने विभागको दाबी छ । विभाग नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई नमुना प्रोजेक्टका रूपमा विकास गर्र्ने योजनामा छ । यो सुरुङमार्ग निर्माण सम्पन्न भएलगत्तै अन्य ६ स्थानमा यस्तै खालको सुरुङमार्ग निर्माण गरिने विभागको तयारी छ ।

‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सक्नासाथ सम्भावनाका अन्य ढोका खुल्नेछन् । त्यसपछि उपत्यकाको ५–६ स्थानमा यही मोडेलअनुसार सुरुङमार्ग निर्माण गरिनेछ । त्यसैले यो हाम्रा लागि आँखा खोल्ने प्रोजेक्ट हो,’ महाशाखा प्रमुख श्रेष्ठले भने । यो प्रोजेक्ट सफल भए सुरुङमार्गबाटै उपत्यकालाई नुवाकोट हुँदै रसुवाको केरुङ नाकासम्म जोड्न सकिने महत्वाकांक्षी योजना अघि बढाइने उनले बताए । नयाँ पत्रिकाबाट ।

ताजा खबर